१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

स्थानीय तहले ल्याएकोे खुशी

रोल्पाको पोवाङ बजार । तस्बिर: दिनेश/नागरिक

रोल्पा– हिजोसम्म सुनसान रहने गाउँहरु अहिले चहल पहलमय भएका छन्। स्थानीय तहका केन्द्र रहेका स–साना बजारका पसल अहिले भ्याई नभ्याईमा छन् । दर्ता विना स–सानो ब्यवसाय गर्नेहरु आफ्नो कारोबारलाई आन्तरिक राजस्वको दर्ता प्रकृयामा लाने तरखरमा छन् । सामान्य घर खर्चका लागि ब्यवसाय गरेकाहरु अब व्यापारलाई व्यवसायिक निरन्तरतामा लैजाने सोचमा छन् । स्थानीय टाठा बाठाहरु गाउँपालिका केन्द्र छेउछाउमा व्यवसाय सञ्चालनका लागि कोठा खोज्दै छन् भने वरपर जग्गा कारोवारीले पनि आँखा लाउन थालेका छन् । त्यसो त गाउँपालिकाको केन्द्र भए पछि सबैको पहलमा वरपर फोन सेवा सुरु भएको छ भने ईन्टरनेट सुविधा पनि थपिएको छ । 

‘पहिले भन्दा व्यापार राम्रो छ । अरु भन्दा होटेलहरुलाई पो भ्याई नभ्याई छ । उहिले बाटो हिड्नेहरु मात्र आउथे । अब अब त भिडभाड पो सुरु भएको छ । नयाँ नयाँ मान्छेहरु आईरहन्छन । गाउँ गाँउबाट पनि विभिन्न कामले आउनेको भिड रहन्छ ।’ पोवाङ बजारमा होटल तथा किराना पसल गरेका स्थानीय टेकेन्द्र खत्रीले भने । हिजो खच्चडमा सामान बोकाउनेहरुले अहिले गाडी भरेर सामान झार्दछन् । सुलीचौर हुँदै दैनिक दर्जन बढि सवारी साधन ओहोर दोहोर गर्ने यहाँको रौनक नै फेरीएको हो ।  

लामो समय देखि होटेल संचालन गरेकि स्थानीय पेमा पुन व्यवसाय छोडौ कि गरौ भन्नेमा थिईन तर आफुले कल्पना नै नगरेको चहल पहलले अहिले सन्तुष्ट छिन । ‘खै के हो सबै थाहा छैन तर भिडभाड बढेको छ । केन्द्र आयो भन्छन् । खान बस्न आउनेहरु भईरहन्छन । नास्ता पानी पनि राम्रै कट्छ । होटलबाट राम्रो नभए पछि छोडौ कि भन्नेमा थिए अब भने गजब भयो ।’ चुलोमा दाउरा ठोस्दै पेमाले थपिन ‘कहिले काहि त खुवाउन भ्याई नभ्याई पो हुन्छ । कोठा थोरै भएर कहिले त पाहुना सुताउनलाई टेन्सन हुन्छ ।’ होटल ब्यबसाय गर्ने लक्ष्मी खत्रि पनि हौसिएकी छिन् ‘पैसा त जति भए पनि पुग्दैन तर राम्रो भएको छ । होटलको नामै छैन । अब त दर्ता गर्नुपर्ला।’

कम्प्युटरको अनुहार नदेखेको पोवाङमा सोलारबाट भए पनि नेट चल्ने भएको छ । उहिले अलि राम्रो कापी कलम किन्नु पर्यो भने सुलिचौर पुग्नुको विकल्प नहुने यहाँ अहिले स्टेसनरी पसल पनि खोलिएको छ । ‘ब्यापार राम्रो छ । बढ्ला भन्ने अपेक्षा छ । सोलारबाट फोटोकपी, प्रिन्ट गर्छौ । सुविसुको नेट जोडेका छौ अलि अलि चल्छ । नसोचेको चहल पहल बढेको छ । अहिले त फोनले पनि अलि अलि काम गर्छ ।’ सुबास एन्ड स्टेसनरीका बिरबहादुर बिष्टले सुनाए । सबै ठाउँमा नभए पनि बाहिर अग्लो र खुला ठाउँमा फोनले पनि काम गर्ने भए पछि स्थानीयहरु झनै खुशी भएका हुन् । 

तर पनि गाउँपालिकाको केन्द्रमै विभिन्न असुविधाले स्थानीयहरुको पनि मन खाएको छ । कर्मचारीलाई आवासका लागि अपर्याप्त कोठा, खानेपानीको अभाव, आवस्यकीय सामान बजारमा पुर्याउन नसक्नुले आफैलाई असहज भएको पोवाङवासी बताउछन् । ‘खानाको पैसा लिन्छौ । सुतेको लिदैनौ । सुत्ने ठाउँ पनि त्यस्तै छ । घर नै गतिला छैनन् । बिस्तारै सुधार होला ।’ होटल ब्यबसायी पेमा पुन भन्छिन् ।

रोल्पाको सबैभन्दा दुर्गम र विकट क्षेत्र रहेको सुनछहरी गाउँपालिकाको केन्द्र रहेको पोवाङ बजारसम्म सुलिचौर हुदै दैनिक दर्जनौ साना गाडिहरु चल्छन् । पहाडको घेराभित्र सानो खोंचमा रहेको यहाँ दुई चारवटा बाहेक अरु सबै घरहरु कच्ची छन् । कृषि, पशु कार्यालयका सेवा केन्द्र र एउटा स्वास्थ्य चौकी रहेको यहाँ ईलाका प्रहरी कार्यालय पनि  छ । गाम, जेल्वाङ, स्युरी, सेरम, फगाम र जैमाकशला गाविसलाई समेटेर बनाईएको सुनछहरी गाउँपालिकाको रमझमले पोवाङमा साँच्चिकै खुशी ल्याएको छ । 

प्रकाशित: २० फाल्गुन २०७४ ०८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App