"
रंगमञ्च

बुहारीको प्रस्ताव

शनिबार, १९ फागुन २०७४, ०९ : ३७ ध्रुवसत्य परियार


बुहारीले ससुरालाई प्रस्ताव राख्छिन्, ‘हजुरले आफ्नो पुत्रलाई शुक्रविहीन पार्नुभयो, अब उनीसँग सम्बन्धित सबै कर्म हजुर नै स्वीकार गर्नुस् ।’काठमाडौं, शिल्पी थियटरमा मञ्चन भइरहेको नाटक ययातिको संवाद हो यो । नाटकका प्रधानपात्र ययातिले दानवगुरु शुक्राचार्यबाट श्राप पाउँछन्, घाम नडुब्दै वृद्ध हुनुपर्ने।

श्राप निवारणको एउटा उपाय हुन्छ, कसैले उनको बुढ्यौली स्वीकार गर्नुपर्ने ।तर यसो गर्न पूरै राज्यमा कुनै जवान पुरुष तयार छैन । अन्ततः उनकै पुत्र पुरुले बुढ्यौली स्वीकार गर्छन् । पुरुको भर्खरै विवाह भएको छ । उनकी पत्नी चित्रलेखा मधुमासको प्रतीक्षामा छिन् । यहीबेला आफ्नो जवान पति बूढो भइदिन्छ । पतिसँग मधुमासका लागि प्रतीक्षारत एक स्त्रीलाई योभन्दा ठूलो पीडा अरु के हुन सक्छ ?

उनले ससुरा ययातिलाई प्रस्ताव गरेको संवाद झट्ट हेर्दा सरल छ । तर सिंगो नाटकको नकाब यही संवादले उतारेको छ । छोराको जवानीसँग आफ्नो बुढ्यौली साट्न हुन्छ भने, बुहारीको जवानी स्विकार्न किन हुँदैन ? प्रश्न सही हो । तर, धेरै कुरा छन् हामीसँग, जसले हाम्रा सरल प्रश्नलाई पनि जटिल बनाएका छन् ।
भारतीय नाटककार गिरीश कर्नाडको बहुचर्चित नाटक ययातिलाई टंक चौलागाईंले अनुवाद, परिकल्पना तथा निर्देशन गरेका हुन् । ययाति पौराणिक महाकाव्य महाभारतको एक प्रसंगमा आधारित नाटक हो । कर्नाडले यसमा पौराणिक पुरुषवादी कथाभूमिबाट स्त्री संवेदना, अस्तित्व र अधिकारलाई उद्भासित गरेका छन्।

महाभारत कथाअनुसार दानवहरूका गुरु शुक्राचार्यसँग सञ्जीवनी विद्या छ । दानवहरूले सञ्जीवनी विद्या पाए भने आफूहरूलाई संकट पर्न सक्ने देउताहरूमा चिन्ता बढ्छ । यसैले छल गरी शुक्राचार्यसँग सञ्जीवनी विद्या सिक्न जान्छन्, देवताका गुरु बृहस्पतिका पुत्र कच । कचसँग शुक्राचार्यपुत्री देवयानीले विवाह–प्रस्ताव गर्छिन्, तर गुरुपुत्री भनेर कचले स्विकार्दैनन् । देवयानीले रिसाएर कचलाई श्राप दिन्छिन्, तिमीले मेरो पिताबाट पाएको विद्या नष्ट होस् । कचले पनि श्राप दिन्छन्, स्वजातिसँग तिम्रो विवाह नहोस्।

राक्षसकुलकी राजकुमारी शर्मिष्ठा देवयानीकी साथी हुन्छिन् । उनीहरू तलाउमा पौडी खेल्न गएका बेला शर्मिष्ठाले झुक्किएर देवयानीको वस्त्र लगाउन पुग्छिन् । यत्तिकैमा रिसाएर एकातिर हिँडेकी देवयानी कुनै कुवामा खस्छिन् । राजा ययातिले दाहिने हात समाएर उनलाई बचाउँछन् र उनैसँग विवाह गर्छन् । शर्मिष्ठालाई दासी बनाएर लैजान देवयानीले पिता शुक्राचार्यसँग माग राख्छिन् । असुरकुलकी राजकुमारी शर्मिष्ठा आफ्नै संगीकी दासी बन्छिन्।

नाटक भने शर्मिष्ठा र देवयानीबीचको वैमनस्य र ययातिपुत्र पुरुले पत्नी चित्रलेखालाई दरबार भिœयाउने प्रसंगबाट सुरु हुन्छ । कर्नाडले नाटकमा वर्ण–व्यवस्था वा कुल–वंशवादी विचारले जन्माएका विषमताप्रति पनि संकेत गरेका छन्।

देवयानीलाई एउटै चिन्ता बढ्छ, कतै महाराज ययाति शर्मिष्ठाको मायामा त पर्दैनन् ? अर्कोतिर, आफ्नै संगीको दासी बन्नुपरेको आत्मपीडामा शर्मिष्ठा छिन् । उनले देवयानीलाई यस्तै भन्छिन्, ‘तिमी ब्राह्मणीलाई क्षेत्रीय महाराजले सञ्जीवनीको लोभमा परेर मात्रै विवाह गरेका हुन् । मसँग रूप, विद्या, धन सबै थियो । आर्यकुल, अनि तिम्रो बुबाको सञ्जीवनी विद्याबाहेक तिम्रो सम्पत्ति के थियो ? आश्रममा पालेका गाईको हेरचाह गरेर हुर्किएकी केटी हौ तिमी । देख्नेबित्तिकै कामुक बनाउने रूप छ तिम्रो ?

यस्तै प्रकारले दरबारमा कलह छ, शर्मिष्ठा र देवयानीबीच । ययाति यो कलहबाट आजित छन् । उनले शर्मिष्ठाको मनमा विष भरिएको देख्छन् र हप्काएर उनलाई उनकै घर पठाउने विचार गर्छन् । त्यहीबेला शर्मिष्ठाले भन्छिन्, ‘मभित्र विष होइन, मानवता भरियो । देवयानी भरिएर आई । ...असुरपुत्री भनेर दुःख दिइन । ममाथि प्रेमको सागर बगाई।’

असुरकुलकी शर्मिष्ठाभित्र इष्र्या र आत्मपीडा मात्रै छैन, आत्मबोध र मानवता पनि छ । शर्मिष्ठाका शब्द, तर्क र व्यवहारसँग ययाति हार्छन् । अन्ततः यौवनलिप्सा ययातिले शर्मिष्ठालाई पनि रानी बनाउने निर्णय गर्छन् । तर, शर्मिष्ठाले मान्दिनन् । उनले आफ्नो राजकन्याको पहिचान मात्रै खोज्छिन् र देवयानीकी सुसारे नै रहिरहने बताउँछिन् । उनलाई आभास थियो, आफूले ययातिसँग विवाह गरे शुक्राचार्य रिसाएर श्राप दिन पनि सक्छन्, अन्ततः यही हुन्छ । देवयानी रिसाएर पिता शुक्राचार्यलाई ययातिको निर्णय सुनाउँछिन् । शुक्राचार्य क्रोधित भएर ययातिलाई श्राप दिन्छन्— आजको घाम नडुब्दै तिमीले वृद्ध हुनुपर्नेछ।

नाटक पौराणिक प्रसंग, पात्र, अलौकिक शक्ति, श्रापजस्ता मिथकीय विम्बमा छ । वंश, कुल वा पुर्खाको प्रशस्तिले भरिएका हाम्रा पौराणिक कथामा धेरै कमजोरी छन् ।  कर्नाडले ती कमजोरीलाई नयाँ चेतनाले पुर्ने प्रयास गरेको देखिन्छ।

सिंगो नाटकको नकाब एउटा संवादले उतारेको छ । छोराको जवानीसँग आफ्नो बुढ्यौली साट्न हुन्छ त, बुहारीको जवानी स्विकार्न किन हुँदैन ? प्रश्न सही हो । तर, धेरै कुरा छन् हामीसँग, जसले हाम्रा सरल प्रश्नलाई पनि जटिल बनाएका छन् ।

आश्रमबाट शिक्षा लिएर फर्केका ययातिपुत्र पुरु आफ्ना पुर्खाको महिमागान मात्रै सुन्नुपरेकामा निराश छन् । उनी पुर्खाको साधारण कर्महरूलाई व्यर्थै बढाइचढाइ गरेको मन पराउँदैनन् । यद्यपि उनको व्यग्रता वैराग्यतिर छ । हाम्रा पुराण या धर्मशास्त्रले जीवनको प्रयोजन, युद्ध, नैतिकता र वैराग्यता पनि बुझाउने चेष्टा गरेका छन् । यसका आफ्नै अर्थ र उपयोगिता छन् । यसमा पुर्खाको धेरै लामो चिन्तन, मनन र अभ्यास छ । तर, पुराणमा उल्लिखित धर्म, आदर्श, नैतिकता, सिद्धि र साधनाका कारण स्त्रीहरू शोषणमा पनि परेका छन् । आफ्ना इच्छा, आकांक्षालाई बन्धन बनाउन विवश छन्।

पुरुलाई वैराग्यता मनपर्‍यो, ठीक छ । उनी उसै पनि पुर्खाको बिँडो थाम्न एक सन्तान जन्माएर वैराग्य जीवन रोज्ने सुरमा थिए । उनको यो विचार नै चित्रलेखाको जीवन–ऊर्जा र भविष्यमाथि कुठाराघात थियो । परिस्थिति त्यस्तै आयो, उनले वृद्ध हुने बाटो रोजे । विम्बमा बुझ्दा उनले पुर्खाका लागि आफ्नो जीवन त्याग गरे।

शुक्राचार्यसँग सञ्जीवनी विद्या हुनु, बृहस्पतिपुत्र कचलाई दानवहरू शक्तिशाली हुने भए भन्ने इष्र्या हुनु, देवयानी र कचले एकअर्कालाई श्राप दिनु, देवयानीले बाबुको शक्तिका आडमा आफ्नै संगीलाई दासी बनाउनु— यस्ता पौराणिक प्रभाव र प्रसंगको नियति के होला ? अवश्य नै दुःखान्त हुन्छ । कर्नाडले नाटकलाई चित्रलेखाको भयानक मृत्युमा लगेर टुंग्याएका छन् । यता चित्रलेखा विष पिएर आत्महत्या गर्छिन्, उता पुरुले पिताबाट यौवन फिर्ता पाउँछन् । ययाति वृद्ध भएर शर्मिष्ठासँग वानप्रस्थमा जान्छन् । पुरु अझै पनि बुवाका लागि कुनै पनि त्याग गर्न तयार हुन्छन् । पुरुलाई शर्मिष्ठाले भन्छिन्, ‘त्यागको चाहना पनि एउटा मोह हो । त्यो किन सुकेन पुरु ?’यस्ता गम्भीर संवाद राखेर कर्नाडले पौराणिक आदर्शलाई प्रश्न गरेका छन् ।  

नाटकमा संवाद छ, चित्रलेखालाई ययातिले भन्छन्, ‘५–६ वर्ष पर्याप्त छ । म नन्दन–वन (स्वर्गको बगैँचा) को निर्माण गरिसक्छु ।’  चित्रलेखाको जवाफ हुन्छ, ‘मानिसको जीवन पञ्चाङ्गको भरमा चल्दैन । नाडीमा स्पन्दन रहुन्जेल चल्छ । हजुरको नन्दन–वन मलाई चाहिँदैन ।’ययातिलाई यौवनभोग र नन्दन–वनको मोह, पुरुलाई त्यागको मोह, देवयानीमा पिताको शक्तिको आडम्बर, यी सबैको सिकार भएका छन्– नवविवाहिता अर्थात् नयाँ पुस्ता चित्रलेखा र असुरकुलकी राजकुमारी शर्मिष्ठा । शर्मिष्ठा असुरकुल वा वर्ण व्यवस्थाको विम्ब पनि हुन्।

नाटकका प्रधानपात्र ययातिलाई समान न्याय, सर्वहित, सर्वसुखभन्दा पनि यौवनमोह र आफ्ना महान् पुर्खाको चिन्ता छ । नन्दन–वन बनाएर उनी आफैँ पनि सन्ततिका लागि महान् पुर्खा बन्न चाहन्छन् । पुरु त्याग वा वैराग्यमा आत्मसन्तुष्टि लिन चाहन्छन् । नाटकले पुरुषको भोग, आत्मसन्तुष्टि र सफलता सिद्धिमा कसरी स्त्रीहरू साधन बन्न पुगेका छन् भन्ने देखाएको छ । नाटक ययातिमा देवयानीले पतिबाट प्रेमाकांक्षा राख्नु, आफ्ना पतिले अर्की बिहे गर्छन् कि भन्ने चिन्ता बोक्नु, शर्मिष्ठाले पहिचान गुमाउनु, चित्रलेखा विष पिउन बाध्य हुनु— यी सबै खेलमा पुरुषवादी सोच र सत्ता हाबी छ ।  

ययाति नाटक एक गम्भीर साहित्यिक कृति हो । यसका सबै पात्रले जीवनदर्शन  बुझाउने संवाद बोल्छन् । चौलागाईं निर्देशित नाटकमा प्रधानपात्र ययातिको भूमिकामा छन्, घिमिरे युवराज । बुलन्द आवाज, संवाद र अभिनयमार्फत उनले ययातिको चरित्रलाई न्याय गरेका छन् । देवयानीको भूमिकामा सरस्वती अधिकारी छन् । ययातिबाट प्रेम चाहने र आफैँले दासी बनाएकी शर्मिष्ठा कतै महारानी बन्छे कि भन्ने चिन्ता लिने चरित्रलाई न्याय गर्न उनले कोसिस गरेकी छन् । शर्मिष्ठाको चरित्र पवित्रा खड्काले निभाएकी छन् । आत्मपीडा र मानवता झल्काउने उनको अभिनय प्रशंसनीय छ । पुरुको चरित्रमा छन्, प्रकेश सिन्धुलीय । भावभंगीपूर्ण वा आंगिक अभिनय क्षमताका कारण प्रकेश नाट्यलयमा छन्।

चित्रलेखाको भूमिकामा अर्चना पन्थी छन् । विद्रोह गर्दागर्दै आत्महत्या गर्न पुग्ने चरित्रलाई निभाएर उनले प्रशस्त सम्भावना देखाएकी छन् । राजपरिवारका पात्र र संवादप्रधान नाटक भएकाले होला, कतिपय अवस्थामा पात्रहरू केवल संवादका लागि उभिएझैँ लाग्छ । यसो हुनुमा निर्देशकीय कमजोरी लाग्छ । स्वर्णलता अर्थात् दासीको चरित्र निभाएकी आकांक्षा जिसीले केही न केही काम वा क्रिया गर्नुपर्ने हुन्छ, त्यसैले उनको अभिनय नाट्यलयमा बसेको देखिन्छ।

नाटकमा राजदरबार वा यसकै अंश आउनुपर्ने हुन्छ । केही कलात्मक शैलीको मञ्च निर्माण गरिए पनि राजदरबारको दृश्य नाटकमा त्यति खुलेर आएझैँ लाग्दैन । वेशभूषा र साजसज्जामा पनि केही कमजोरी देखिन्छ । हाम्रो मानसिकता नै पौराणिक राजाको शिरमा शिरपेच हुनुपर्छ भन्ने छ । तर, ययातिको चरित्रलाई त्यस रुपमा देखाइएको छैन । नाटकमा नाट्यलय ल्याउन वा कथानक संसार झल्काउन साउन्ड, प्रकाश र मञ्चमा थप प्रयास गर्न सकिने देखिन्छ । जस्तो ः पात्र आऊजाऊ गर्दा र मञ्च परिसरदेखि बाहिरी परिवेश झल्काउन साउन्ड वा संगीतमा मेहनत गर्न सकिने देखिन्छ।

राजा ययाति वानप्रस्थ गर्दा पत्नीको शव बोकेर उभिएका हुन्छन् । शवबाट एउटा ध्वजा निस्केर ययातिको यात्रालाई अल्झाएझैँ लाग्छ, यो भने विम्ब र कलाका दृष्टिले निकै सुन्दर छ । ययातिजस्तो गम्भीर कथानक भएको नाटकलाई निर्देशन गर्न, त्यसमा अभिनय गर्न सानो प्रयास र साधनाले पुग्दैन । यसमा निर्देशक र कलाकारले जुन प्रयास गरेका छन्, त्यो सराहनीय छ।

धर्मशास्त्र, पौराणिक कथा र कानुनबाटै समाज निर्देशित हुन्छ । हिजो धर्मशास्त्र वा नीतिले समाज हाँक्थ्यो । आजका कानुनका आधार पनि नीतिशास्त्र नै हुन् । नाटक ययातिमा पौराणिक कथा, वंशवादी विचारलाई नयाँ चेतनाले हेर्न खोजेको देखिन्छ । शीर्षक नै पुरुष पात्रप्रधान भए पनि यो नाटक स्त्रीप्रधान हो । यसले पुरुषवादी धर्मशास्त्र, सोचका कारण शोषणमा परेका स्त्रीको आवाज बोल्छ । हाम्रोमा अझै पनि विधवा, छाउपडीजस्ता महिलालाई शोषण र अन्याय गर्ने अनेक प्रथा वा त्यसका अवशेष छन् । त्यो शोषणको जगमा धर्म र पौराणिक कथा पनि लुकेका छन् । त्यसैले ययातिजस्तो नाटक हामीकहाँ मञ्चन हुनुपर्छ र हेरिनुपर्छ ।






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

कोइरालालाई नोबेल सम्मान

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘नोबेल साकोस साहित्य प्रतिष्ठान’द्वारा स्थापित विभिन्न सम्मान तथा पुरस्कारहरू शनिबार स्रष्टाहरुलाई प्रदान गर्नुभयो । ...

‘अब थोरै फिल्ममा काम गर्छु’

‘अब थोरै फिल्ममा काम गर्छु’

कुनै समय अभिनेता दयाहाङ राई अभिनित फिल्म एक महिनामा झण्डै आधा दर्जनको हाराहारीमा रिलिज हुन्थे। ...

यल : फिल्म फेस्टिभल हुने

यल : फिल्म फेस्टिभल हुने

फिल्म तथा वृत्तचित्र निर्माणमा स्वतन्त्र रुपले काम गरिरहेका निर्देशकहरुलाई प्रोत्साहित गर्न ‘यल इन्टरनेसनल इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल(यिफ)’ हुने भएको छ ।...

‘अक्षरदेखि अक्षरसम्म’माथि विमर्श

डा. बद्री पोख्रेलको जीवनदर्शन समेटिएको पुस्तक ‘अक्षरदेखि अक्षरसम्म’ नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति श्रीगंगाप्रसाद उप्रेतीले सार्वजनिक गरेका छन् । ...