"

पाठेघरको मुखको क्यान्सरबाट यसरी बचौँ

शनिबार, ०६ माघ २०७४, ०८ : ३५ नागरिक


डा. गणेश दंगाल

पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हुन् । ह्युमन प्यापिलोमा भाइरसले पाठेघरको मुखको क्यान्सर हुने गरेको छ। 

धेरै पुरुषसँग यौन सम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुन सक्छ । महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तनको क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सर पछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ । जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ। 

डिम्बासयको क्यान्सर र पाठेघरको मुखको क्यान्सर पछि पाठेघरको भित्रपट्टिको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको कारक तत्त्व हुन् । पाठेघरको भित्रपट्टिको क्यान्सरबाहेक योनीको क्यान्सर, योनीद्वारको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र डिम्बाशयको क्यान्सर पनि छन् । त्यस्तै, स्तनको क्यान्सर पनि अत्यन्तै ठूलो मात्रामा पाइने क्यान्सर हो।

पाठेघरको मुखको क्यान्सर एउटा प्राणघातक रोग हो । तथ्यांकअनुसार, यो रोग विकासोन्मुख देशका झन्डै ८६ प्रतिशत र विकसित देशका १४ प्रतिशत महिलामा देखिएको छ । 

विकसित देशहरूमा यो क्यान्सरले महिलाहरूमा हुने क्यान्सरको करिब ६ प्रतिशत भाग ओगटेको छ । विकासोन्मुख देशहरूमा भने यो अझै बढी छ । स्तन क्यान्सरपछि यो क्यान्सर दोस्रो नम्बरमा आउँछ । यो रोग जुनसुकै उमेरका महिलालाई पनि लाग्न सक्छ । कम उमेरमा लागेमा यो अझ बढी खतरायुक्त हुन्छ ।  

नेपालका महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिने रोग हो । यो क्यान्सर ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) को संक्रमणले हुन्छ । यो संक्रमणलाई प्रि क्यान्सर भनिन्छ । यो भाइरस पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्छ । समयमै संक्रमण पत्ता लगाउन नसके ८ र १० वर्षपछि यो क्यान्सरमा परिणत हुन्छ । संक्रमण भए÷नभएको प्यापस्मेयर टेस्ट (गर्भाशय श्राव परीक्षण) गरेर पत्ता लगाउन सकिन्छ । यो पाठेघरका कोषिका सामान्य अवस्थामा रहे/नरहेको पत्ता लगाउने सरल र छरितो विधि पनि हो । यो परीक्षण सस्तो पनि छ र यो जाँच गर्दा महिलालाई दुख्दैन।

विश्वमा पाठेघरको मुखको क्यान्सर मुख्य स्वास्थ्य समस्या र चासोका रूपमा छ । नेपालजस्तो  विकासोन्मुख राष्ट्रमा त यो मृत्युको एक मुख्य कारण नै बनेको छ । यसको मुख्य कारण अशिक्षा, गरिबीसँगै उपचार कार्यक्रम अभाव र उपचारमा ढिलाइ गर्ने बिरामीको व्यवहार छन्। 

यो रोकथाम गर्न सकिने रोग हो । किनकि यसलाई क्यान्सर हुनु अगावैको अवस्थामा पत्ता लगाउन र उपचार गर्न सकिन्छ । व्यवस्थित बृहत पूर्व परीक्षण कार्यक्रम (वेल अरगानाइज मास स्क्रिनिङ प्रोग्राम)ले गर्दा अति विकसित देशहरूमा यस रोगका रोकथामका उपायहरू प्रभावकारी भई रोग घट्दो क्रममा छ । दूर्भाग्यवश नेपाललगायत अन्य विकासोन्मुख  देशहरूमा रोगी ढिलो फैलिएको अवस्थामा मात्र उपचारका लागि अस्पताल आउने गर्छन् । हामीकहाँ व्यवस्थित पूर्व परीक्षण कार्यक्रम नभएको तथा कहिलेकाहीँ ठूला अस्पतालहरूमा एवं क्लिनिकहरूमा मात्र स्क्रिनिङ गरिने हुँदा यसको रोकथाम हुन सकेको छैन। 

नेपालका विभिन्न अस्पतालहरूमा यो स्क्रिनिङ सेवा उपलब्ध छ । समुदायमा आधारित रोकथाम सेवाको लागि पनि नेपाल सरकार प्रयासरत छ । स्क्रिनिङलाई स्त्रीरोग परीक्षणको एक भागका रूपमा स्थापित गराइनुले पनि यो रोगबाट हुने मृत्युदरमा कमी आएको छ। 

प्यापस्मियर सन् १९५० मा सुरु गरिएको थियो र यो एक गुणस्तरयुक्त सेवाका रूपमा विकसित देशहरूमा स्थापित भएको छ । यसले गर्दा क्यान्सर हुनु पूर्वको अवस्था सुरुमै पत्ता लगाउन सकिने हुँदा उपचार पनि सुरु अवस्थामै गर्न सकिन्छ । ९० प्रतिशत रोगीलाई प्यापस्मियर वा अन्य स्क्रिनिङ जस्तै ‘भिज्युअल इन्स्पेक्सन विथ एसिटिक एसिड (भिआइए) परीक्षण गरेमा सुरु अवस्थामै रोग पत्ता लगाउन सकिन्छ।

यो क्यान्सरविरुद्ध खोपको पनि आविस्कार भइसकेको छ । यो खोप ९ देखि १३ वर्षका बालिकालाई लगाइन्छ । यो खोप महँगो पर्ने भएकाले नेपालमा खासै प्रयोगमा आउन सकेको छैन । अज्ञानता, शिक्षाको कमी तथा गरिबीका कारण समयमै उपचार गर्न नसक्दा पाठेघरको क्यान्सरबाट बर्सेनि थुप्रै महिलाहरूको मृत्यु हुने गरेको छ । यो रोग सुरुकै अवस्थामा पत्ता लगाई आवश्यक उपचार गरेमा पूर्णतया निको पार्न सकिन्छ।

पाठेघरको मुखको क्यान्सरका कारणहरू निम्न बमोजिम हुन सक्छन् । 

१. यौन व्यवहारजन्य कारण 

कम उमेरमै पहिलो यौन सम्पर्क राख्ने महिलाहरू र धेरै जनासँग यौन सम्पर्क गर्ने महिलामा यो रोग बढ्ता पाइएको छ । धेरै बच्चा जन्माउने आमाहरू, वेश्यावृत्तिमा लागेकाहरू, महिला बन्दीहरू, बहुविवाह गर्नेहरू र बालविवाह गर्नेहरूमा पनि यो रोग बढी मात्रामा पाइएको छ ।    

२. धूम्रपान

ज्यादा धुम्रपान गर्ने महिलाहरूमा पनि यो रोग अक्सर पाइएको छ । 

३. संक्रमण 

विभिन्न खाले संक्रमण, जस्तै : ह्युमन पापिलोमा भाइरस वा अन्य यौन संक्रमण भएकाहरूमा पनि यो रोग ज्यादा पाइएको छ । यी बाहेक कम आय भएका वा अशिक्षित एवं आफ्नो शारीरिक सरसफाइ नगर्नेहरूमा पनि बढी पाइएको छ ।   

रोगको निदान र निदानजन्य जाँचहरू 

रोगका लक्षणहरू 

 

१. यौन सम्पर्कको लगत्तै हुने रक्तस्राव (कन्ट्याक्ट ब्लिडिङ) । 

२. महिनावारी अघिपछि योनीबाट हुने रक्तस्राव वा महिनावारी बन्द भइसकेका महिलाहरूको योनीबाट रगत (पोस्ट मेनोपोसल ब्लिडिङ) आउनु । 

३. रक्त अल्पता (ज्यादा रक्तस्रावको कारणले हुने) वा गुप्तांगबाट असामान्य तथा अस्वाभाविक तरल पदार्थ बग्नु ।

४. ज्यादै फैलिएको अवस्थामा तल्लो पेटमा पीडा हुने, खुट्टाहरू सुन्निने, दिसापिसाबमा रगत देखा पर्ने आदि । 

उपरोक्त कुनै पनि लक्षणहरू देखा परे तुरुन्त नजिकको स्वास्थ्य संस्था वा सम्बन्धित अस्पतालमा सम्पर्क राख्नुपर्छ । 

निदान 

पाठेघरको मुखको परीक्षण गरी शंका लागेको स्थानबाट मासुको टुक्रा निकाली बायोप्सी गराई क्यान्सर लागेको टुंगो लाग्छ । कोन बायोप्सी तथा कल्पोस्कपिक बायोप्सी आदि अन्य निदानका तरिकाहरू पनि उपलब्ध छन् ।  

उपचार 
प्रारम्भिक अवस्थामा भएको पाठेघरको मुखको क्यान्सरका लागि शल्यक्रियाहरू, जस्तै ः कोनाइजेसन साधारण पाठेघर निकाल्ने अप्रेसन तथा र्‍याडिकल हिस्टेरेक्टोमी गरिन्छ ।  

  • फैलिएको अवस्थाको क्यान्सर उपचारका लागि ज्यादातर विकिरणले सेकाउने प्रविधि (रेडियो थेरापी) को प्रयोग गरिन्छ । 
  • पाका उमेरका र कम तन्दुरुस्त बिरामीलाई प्रारम्भिक अवस्थाकै भए पनि प्रायःजसो रेडियोथेरापीद्वारा नै उपचार गरिन्छ । ठुल्ठूला शल्यक्रिया कम उमेरका तन्दुरुस्त बिरामीहरूमा मात्र गरिन्छ । कतिपय अवस्थामा शल्यक्रिया तथा रेडियो थेरापी दुवैको प्रयोग गरिन्छ । 
  • केमोथेरापी (सुईद्वारा नसामा लगाइने औषधि) को प्रयोगले यो रोग नियन्त्रण मात्र हुन्छ । निको हुँदैन । प्रायःजसो पुनः रोग दोहोरिएका बिरामीहरू एवं सर्जरी रेडियोथेरापीले निको नभएका बिरामीलाई केमोथेरापी  दिइन्छ । 

उपचारपछि पुनः परीक्षण

  •  शल्यक्रिया वा रेडियोथेरापीपछि बिरामीलाई हरेक तीन–तीन महिनामा पहिलो तीन वर्षसम्म त्यसपछि हरेक ६–६ महिनामा थप दुई वर्षसम्म र त्यसपछि बाँचुन्जेलसम्म बार्षिक रूपमा अस्पतालमा सम्बन्धित बिशेषज्ञसँग जचाउनु जरुरी हुन्छ । 
  •  कम उमेरका बिरामीमा हर्मोन प्रतिस्थापना थेरापी गर्नुपर्ने हुनसक्छ । 
  •  रेडियोथेरापी पाएका बिरामीहरूले उपचारको केही महिनाभित्रमै यौनसम्पर्क गर्नुपर्छ । अन्यथा योनी साँघुरिने वा खुम्चने डर हुन्छ । 
  •  यो सरुवा रोग होइन, त्यसैले संभोगबाट लोग्नेलाई सर्देैन । 

पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सम्भव भएकाले निम्नलिखित कुराहरू गर्नु आवश्यक छ ।

  • सानो उमेरमा विवाह गर्नु हुँदैन ।
  • महिलाहरूले नियमित स्त्रीरोग परीक्षण र हरेक वर्ष (प्यापस्मेयर) परीक्षण गराउनु पर्छ । 
  •  धेरै जनासँग यौन सम्पर्क गर्नु क्यान्सरको एक कारक तŒव भएकाले सोबाट जोगिनु पर्छ । गुप्तांग सम्बन्धी रोगहरूको समयमै उपचार गराउनु पर्छ । 
  •  गुप्तांग सधै सफा राख्नु पर्छ । 
  •  धेरै बच्चा जन्माउनु हुँदैन ।
  •  चुरोट, बिँडी, खैनी, तमाखु जस्ता सूर्तीजन्य पदार्थहरूको सेवन गर्नु हुँदैन ।
  • पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक अवस्थामा उपचार गर्नु पर्छ । 

अन्त्यमा, 

कुनै लक्षण नै नभएका स्वस्थ महिलाले पनि आफ्नो पाठेघर तथा प्रजनन अंगको जाँच सकभर विशेषज्ञबाट गराई प्यापस्मियर  (गर्भासय श्राव परीक्षण) वा भिआइएमार्फत स्क्रिनिङ गराउनु जरुरी छ ।

( लेखक स्त्रीरोग विशेषज्ञ हुन् ।)







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

रोमियो र मुनासँग बादी बदिनी

रोमियो र मुनासँग बादी बदिनी

साउनको पहिलो साता र दोस्रो साता रिलिज हुने दुई फिल्म ‘रोमियो एन्ड मुना’ र ‘पण्डित बाजेको लौरी’को ट्रेलर सार्वजनिक भएको...

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

अर्पण र आर्या मिष्टर एन्ड मिस एसइई

राजधानीमा आयोजना गरिएको ‘मिष्टर एण्ड मिस एसइई अफ द इयर २०१८’ को उपाधि अर्पण राई र आर्या पुडासैनीले जितेका छन्।

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रायमाझीको ‘हेर यी आँखामा’ सार्वजनिक

रेडियो नेपालका अंग्रेजी समाचार बाचक तथा प्रसिद्ध गायक महेन्द्र रायमाझीको आवाजमा रहेको ‘हेर यी आँखामा’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक...