"

वादी समुदायकी एक्लो सांसद बनिन् उमादेवी

आइतबार, ३० पुष २०७४, ०९ : १५ योगेश रावल


टीकापुर – जीवनभर वादी समुदायको हकहितका लागि संघर्षत उमादेवी वादीको अहिले परिचय फेरिएको छ। आजीवन संघर्षमा बिताएकी उमा अहिले प्रदेशसभा सदस्यका रूपमा नेपाली कांग्रेसबाट समानुपातिकमा चुनिएकी छन्। अहिले स्थानीयले माननीय भनेर सम्बोधनसमेत गर्न थालिसकेका छन्।  

संघर्षको पर्याय बनेकी उमादेवी सल्यानको थापागाउँमा २०२१ सालमा जन्मिएकी हुन् । प्रदेश नं. ७ मा कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यमा विजयी भएकी उनी वादी समुदायको अधिकार स्थापनाका गाउँदेखि सिंहदरबारसम्म थालेको ४८ दिन लामो आन्दोलनकी कमाण्डर हुन। 

‘आम मान्छेदेखि सरकारका मन्त्रीसम्मले हामीलाई बाढीपीडित सम्झेका रहेछन् । कतिले त हामी धर्नामा बसेको ठाउँमा पैसा फालेर हिंड्थे । हामी अधिकारका लागि लडिरहेका छौं भन्ने कुरा धेरैसमयसम्म बुझाउन सकेनौं ।’

उनकै नेतृत्वमा २०६४ सालमा २३ जिल्लाका करिव ५ सय वादी अगुवाले २६ बुँदे माग लिएर गाउँदेखि सिंहदरबारको यात्रा थालेका थिए । उनीहरूलाई तत्कालीन सरकारले सिंहदरवार प्रवेशमा रोक लगाएपछि सिंहदरवार बाहिर धर्ना दिए। उनीहरूले नाराजुलुस गरे । शान्तिपूर्ण विरोधका सबै उपाय अपनाए । तै पनि सरकारले सुनेन।

जतिसुकै आन्दोलन गर्दा पनि सरकारले कुरा नसुनेपछि वादी अगुवाले जबरजस्ती सिंहदरबार प्रवेश गर्ने योजना बनाए । सोही योजना बमोजिम २०६४ भदौ ५ गते छुट्टाछुट्टै र्यालीको आयोजना गरियो । माइतीघरबाट सिंहदरबार जाने ¥यालीको नेतृत्व उमादेवीले नै गरेकी थिइन्। 

उनका पछाडि करिव २०/२५ जना महिला मात्रै थिए। उनीहरू सोझै सिंहदरवारको गेटमा पुगे । सुरक्षाकर्मीले गेट बन्द गरिदिए । आक्रोशित उमादेवी अर्धनग्न अवस्थामै सिंहदरबार गेटमा चढिन् । उनले सरकारविरुद्ध नाराबाजी गरिन् । धेरै वादी महिलाहरुले अर्धनग्न अवस्थामै सरकारविरुद्ध नाराबाजी गरेर उनलाई साथ दिए। 

यो दृश्यले सबैको ध्यान खिच्यो । सञ्चार माध्यम र मानव अधिकारकर्मीले वादी समुदायको आन्दोलनलाई साथ दिए । दिनानुदिन आन्दोलनमा ऐक्यवद्धता जनाउने संघसंस्थाको संख्या बढ्दै गयो । त्यसअघि वादी समुदायको आन्दोलनलाई बाढीपीडितको आन्दोलन भनेर प्रचार गर्ने गरिएको उमादेवी अनुभव सुनाउँछिन्।

‘आम मान्छेदेखि सरकारका मन्त्रीसम्मले हामीलाई बाढीपीडित सम्झेका रहेछन्,’ उनले हाँस्दै भनिन्, ‘कतिले त हामी धर्नामा बसेको ठाउँमा पैसा फालेर हिड्थे । हामी अधिकारका लागि लडिरहेका छौं भन्ने कुरा बुझाउन सकेनौं ।’

आन्दोलनले बिस्तारै गति लियो । सञ्चारमाध्यमले आन्दोलनका बारेमा लेख्न थाले । तब मात्रै आन्दोलनबारे सरकारले चासो दियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उमादेवीलगायतलाई बालुवाटार बोलाए । कोइरालाले आन्दोलन रोक्न आग्रह गर्दै नेपालगञ्जमा गासबासको व्यवस्था गर्ने आश्वासन दिए । उनले बादी समुदायको समस्या नेपालगञ्जमा मात्रै नभएर देशैभर रहेको कुरा कोइरालालाई अवगत गराइन। 

‘सायद गिरिजाबाबुलाई बादीहरू नेपालगञ्जमा मात्रै बस्छन् भन्ने थियो कि ?,’ उनले भनिन्, ‘हाम्रो कुराप्रति त्यति वास्ता गर्नुभएन ।’

प्रधानमन्त्रीले नै समस्या नबुझेपछि उमादेवीलगायतलाई पीडा थपियो । अब के गर्ने, कसो गर्ने उनीहरू अलमलमा परे । यही बेलामा कञ्चनपुरका वादी अगुवाले उमादेवीलाई शेरबहादुर देउवालाई भेट्ने सल्लाह दिए । उनीहरू देउवाको बूढानीलकण्ठस्थित निवास पुगे । देउवाले समेत सुरुमै रुखो व्यवहार देखाए । यही मौकामा कञ्चनपुरकी एक वादी महिलाले डोटेली भाषामा कुरा राखिन् । देउवाले उनीलगायतलाई घरभित्र बोलाए। 

‘उनले के भनेकी थिइन । मैले कुरा बुझिन । हामीले उसलाई किन त्यसरी बोलेकी, के भनेकी भनेर निकै हप्कायौं,’ उनले भनिन्, ‘देउवाले बल्ल हाम्रो समस्या बुझेर राम्रोसँग कुरा गर्न बोलाएका रहेछन् ।’

देउवाले सबै कुरा सुने । शान्तिमन्त्री रामचन्द्र पौडेललाई फोनमार्फत सबै कुरा सुनाए । एकैछिनपछि पौडेलका पिएले उमादेवीलाई फोन गरेर वार्ताका लागि बोलाए । २०६४ भदौ २८ गते पौडेलकै कार्यकक्षमा वार्ता भयो । कांग्रेस नेता एनपी साउद, रामजनम चौधरी, फकिरसिंह कडायतले वादी समुदायको पक्षबाट कुरा राखे । सरकारले वादी समुदायको समस्यालाई सम्बोधन गर्ने गरी कार्य अघि बढायो । 

वादी समुदायले आमाको नाममा जन्मदर्ता र नागरिकता, स्थायी बसोबास, यौन पेशाको अन्त्य, निःशुल्क शिक्षा, एचआइभी÷एड्स परीक्षण, छुवाछुतको अन्त्यलगायत माग अघि सारेको थियो । त्योमध्ये आमाको नाममा जन्मदर्ता र नागरिकताले व्यापक चर्चा पायो । उमादेवीको आफ्नो कोखबाट सन्तान छैन । तर पनि उनले आफ्ना सन्तानले जन्मदर्ता र नागरिकता नहुँदा भोगेको समग्र वादी महिलाको पीडा महसुस गरिन् र अधिकार प्राप्तीका लागि आन्दोलनको मोर्चा सम्हालिन्। 

उमादेवीले थालेको आन्दोलनले सफलता प्राप्त गर्याे । राज्यले आमाको नामबाट सन्तानले जन्मदर्ता र नागरिकता पाउने कुरा संवैधानिक ग्यारेन्टी ग¥यो । उनले थालेको यो आन्दोलनले केवल वादी महिला मात्रै हैन सबै महिलाले अधिकार प्राप्त गरे। 

‘त्यतिबेला आफ्नै वादी बावुबाट जन्मिएका सन्तानको समेत जन्मदर्ता गर्न अस्वीकार गर्थे’ उमादेवीले भनिन्, ‘आज आमाको नामबाट सबै काम भएको देख्दा खुशी लाग्छ।’

सरकारले पाँच वर्षअघि वादी समुदायका लागि घर जनता आवास कार्यक्रम ल्यायो । कतिपय जग्गा हुनेले धमाधम घर बनाएका छन् । महिलाका लागि विभिन्न सीपमूलक कार्यक्रम लागु भएका छन्। तर सरकारका कार्यक्रम प्रभावकारी नभएको उमादेवीको बुझाइ छ । सरकारले ल्याएका सीपमूलक कार्यक्रमले वादी महिलाले पुस्तौदेखि अंगाल्दै आएको यौन पेशा भने प्रतिस्थापन गर्न सकेको छैन । उनीहरू मध्ये कतिपयले अहिले पनि यौन पेशा गर्दै आएका छन् । कतिपयले नेपालमै त कतिपयले भारतमा गएर यौन पेशा गरिरहेका छन। 

‘सरकारको कार्यक्रम जति प्रभावकारी हुनु पथ्र्यो त्योअनुसार हुनसकेको छैन,’ उनले भनिन्, ‘अझै पनि महिलाहरूले कुलतको बाटो छोड्ने माहोल बन्न सकेको छैन ।’ यौन पेशामा लागेका वादी महिलालाई त्यो पेशाबाट अलग गरेर समाजमा आत्मसम्मानका साथ पुनस्र्थापना गर्ने उमादेवीको धोको छ । मन्त्रिपरिषद्ले २०६५ पुस २३ गते यौन पेशामा लागेका वादी महिलालाई आत्मसम्मानका साथ पुनस्र्थापना गर्ने निर्णय गरेको छ। तर आयआर्जनको विकल्पको बाटो नभएका कारण महिलाले यो पेशा छोड्न सकेका छैनन्। 

उनको अगुवाइमा २०५५ सालमा सामुदायिक सहयोग समिति नामक गैरसरकारी संस्था स्थापना भयो । उनी त्यसको संस्थापक उपाध्यक्ष हुन् । हाल उनी अध्यक्ष रहेको यस संस्थाको पाँच जिल्लामा सम्पर्क कार्यालय छ । संस्थाले वादी समुदायका हकहितमा काम गर्दै आएकोछ । देशका ७२ जिल्लामा वादी समुदायको बसोबास छ । झण्डै ६० हजारको हाराहारीमा वादी समुदायको जनसंख्या रहेको संस्थाको दावी छ। 

उमालेवीको संघर्ष यात्रा निकै मार्किक छ। उनका पाँच भाइबहिनी हुन् । चार बहिनीमध्ये माइली उनी २ वर्षको उमेरमा अभिभावकसँगै कैलाली पुगेकी थिइन्। कैलालीमा स्थायी बसोबास कतै थिएन । तत्कालीन अवस्थामा वादी समुदायको पेशा नाँच्दै गाउँदै हिंड्ने थियो । उनका अभिभावक पनि त्यसरी नै हिड्थे । ‘बस्ने ठाउँ कतै थिएन,’ उनले भनिन्, ‘माग्दै हिड्ने भएपछि स्थायी बसोबास हुने कुरै भएन ।’

त्यतिबेला बाक्लो बस्ती थिएन । बिस्तारै मान्छेहरू पहाडबाट झर्दै थिए । बस्ती बिस्तार हुँदै गए । उनको परिवारले पनि साविक नारायणपुर गाविसमा बस्ने निधो ग¥यो । उनको परिवारसँगै अन्य वादी परिवार पनि त्यहीँ आएर बसे। विष्णुकान्तिपुरमा वादी समुदायको गाउँ नै छ । धेरैअघि बसोबास थालेका वादी परिवारसँग प्रशस्त जग्गा जमिन पनि छ। तिनैमध्ये उमादेवीको परिवार पनि हो । उनको परिवारमा खानलाउनको समस्या छैन । टीकापुर नगरपालिका–१ मा पनि घर बनाएकी छन् । उनले २१ वर्षको उमेरमा अन्तरजातीय बिहे गरिन् । उनका श्रीमान् प्रेम भट्ट हुन् । उनका श्रीमान् र उनलाई छुटाउन निकै प्रयत्न भए । तै पनि उनीहरू लामो समयसँगै बसे । बहिनीका छोरा पढाइन । एउटा छोरो राकेश दोलखास्थित क्याम्पसमा प्राध्यापक छन । अर्को छोरा गौरव काठमाण्डौंमा जागिरे छन्। 

उनलाई कांग्रेसले २०६४ को संविधानसभामा समानुपातिकतर्फ राख्ने निकै चर्चा भए पनि अन्तिममा राखेन । २०७० मा भने उनको नाम लिस्टमा अटेपनि छनोट हुन सकिनन् । यसपटक पनि उनलाई लिस्टमा नाम भए पनि छनौट पर्छु कि पर्दैन भन्ने शंका नै थियो । महिला र दलित समुदायलाई अनिवार्य समेट्नु पर्ने वाध्यकारी व्यवस्थाका कारण उनको नाम काट्नै नमिल्ने गरी प्रदेशसभा सदस्यमा छनौटमा पर्याे । 

अहिले तिनै एक वादी महिलाको परिचय फेरिएको छ । उनलाई सबैले माननीय भन्न थालेका छन् । टोलवासीले पनि सम्मान गर्न थालेका छन् । विगत सम्झिँदै उमादेवी भक्कानिएर रोइन् । उनले बाँकी जीवन महिला अधिकारमा समर्पित रहने घोषणा गरेकी छिन् । 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

सेलोमा भोट युद्ध र कविता

सेलोमा भोट युद्ध र कविता

शनिबारबाट राजधानीको शिल्पी थिएटरमा सुरु भएको ‘सेलो नाट्य महोत्सव–२०७५’को दोस्रो दिन दुई नाटक मञ्चन गरियो। ...

ख्वप सांस्कृतिक साँझ सम्पन्न

ख्वप सांस्कृतिक साँझ सम्पन्न

ख्वप मिडिया सर्कलको आयोजनामा ख्वप सांस्कृतिक साँझ २०७५ सम्पन्न भएको छ । चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितिमा भएको कार्यक्रममा...

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडौं ’

हाइकिङविज्ञ रामदेवी महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौं’ राजधानीमा बिमोचन गरिएको छ । पुस्तकमा काठमाडौं उपत्यकाका ६४ हाइकिङ रुट, एक दर्जन होमस्टे...

बिहारी चाप्लिनको नेपाल यात्रा

बिहारी चाप्लिनको नेपाल यात्रा

भारतीय कलाकार राजन कुमार आफ्नो फिल्म प्रमोसनका लागि नेपाल आएका छन् । जुलाईको अन्तिम साता प्रदर्शन लक्ष्य राखिएको फिल्म ‘नमस्ते...