१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकार निर्माण र पार्टी एकता सँगै हुन्छ  : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई ३० किलोको माला लगाएर सम्मान गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यलगायत । तस्बिर : हरिकृष्ण

म्याग्दी – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा  शान्ति र स्थायित्वका लागि वाम गठबन्धनको सरकार बन्ने बताएका छन् । दाहालले एमाले–माओवादी पार्टी एकता र सरकार गठन सँगसँगै हुने बताए। 

छैटौं म्याग्दी महोत्सव माघेसंक्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापार मेलाको शुक्रबार बेनीमा उद्घाटन गदैं पूर्वप्रधानमन्त्री दाहालले माओवादी र एमाले पार्टी एकता सहमतिबाट पछाडि हट्ने सम्भावना नभएको बताए । ‘वाम गठबन्धन कसैप्रति लक्षित छैन् । सधैं राजनीतिक मुद्दामा केन्द्रित हुँदा देशमा विकासले गति लिएन । अब राजनीति र आर्थिक विकास अजेन्डा एकसाथ अघि बढ्नेछ’, दाहालले भने । उनले स्थिर सरकार बनेपछि जनताको सपना पूरा हुने पनि बताए।

उनले वाम गठबन्धनको पाँच वर्षभित्र नेपालीको आर्थिक जीवनमा परिवर्तन ल्याउने बताए । ‘मेरो अर्जुनदृष्टि विकासमै छ । दुवै छिमेकी देशसँग नयाँ नाकाहरू खोल्ने प्रयास भइरहेको छ’, उनले भने । उनले वाम गठबन्धनको सरकारले नेपाललाई नयाँ युगतर्फ लैजाने दाबी गरे।

वाम गठबन्धन नेपाली कांग्रेस वा कुनै दलप्रति लक्षित नभएको प्रष्ट पारे । ‘सबै राजनीतिक दलबीच विकासलाई गति दिन सहकार्य हुन्छ । अपार सम्भावना भएका क्षेत्रमा लगानी केन्द्रित गरिन्छ’, दाहालले भने। 

राजनीतिसँगै आर्थिक मुद्दामा केन्द्रित भएका दाहालले वाम गठबन्धनको सरकारले जनताका अतिआवश्यक र पूर्वाधार निर्माण विषयलाई गति दिन नसके ठूलो दुर्घटना हुने बताए । ‘अब ५ वर्षभित्र जनताको चाहना पूरा गर्ने गरी सरकार गठन हुन्छ’, उनले भने।  

उनले निजी र सार्वजनिक क्षेत्रको सहकार्यमा कृषि, पर्यटन, जलविद्युत्लगायत क्षेत्रमा लगानी गरिने बताए । दाहालले आफ्नो नेतृत्वको सकारले सुरू गरेका योजनालाई वाम गठबन्धन सरकारले प्राथमिकताका आधारमा कार्यान्वयन गर्ने पनि बताए। 

महोत्सवको अवसरमा आयोजकले दाहाललाई ३० केजीको माला लगाइदिएर सम्मान गरेका थिए ।  
सोही अवसरमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले तिब्वतसँग जोडिएको कोरला नाका खोल्न पहल भइरहेको बताए । उनले कोरला नाका र कालिगण्डकी करिडोरले भारत र चीनसँगको व्यापारलाई थप अघि बढाउने विश्वास व्यक्त गरे।  

उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रतिनिधिसभामा निर्वाचित देवेन्द्र पौडेल, प्रदेशसभा सदस्य नरदेवी पुन, विनोद केसीलगायतले महोत्सवले जिल्लाको आर्थिक विकासमा सघाउ पुग्ने बताए। ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजित महोत्सवमा जिल्लाको ग्रामीण भेगमा उत्पादन हुने कृषिजन्य उपज बिक्री, वितरण तथा प्रदर्शनी हुने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष एव महोत्सव मूल संयोजक उत्तमकुमार कर्माचार्यले बताए । महोत्सवस्थलभित्र १८० वटा विभिन्न व्यापारिक स्टल रहने छन्। 

यसैबीच माओवादी केन्द्रका अध्यक्ष दाहालले जिल्लामा रहेका पार्टीका नेता कार्यकर्तासँगको भेटघाटमा पार्टी एकताको विकल्प नभएको जानकारी गराउँदै नयाँ पार्टीमा सक्रिय हुनेको भविष्य सुन्दर हुने बताएका छन्।  

प्रकाशित: २९ पुस २०७४ ०२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App