१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

महिला हुनुको मोल

गएको महिना ‘महिला हिंसाविरुद्ध १६ दिने अभियान’ सकियो । नोभेम्बर १६ देखि डिसेम्बर १ सम्म चलेको सो अभियानले लिङ्गका आधारमा हुने विविध किसिमका हिंसाविरुद्ध चेतना अभियानलाई होस्टेमा हैंसे गर्यो । यस अभियानका क्रममा कार्यक्रमहरु आयोजन गरिए, चेतना बढाउन भूमिका खेलिए र लैंगिक आधारमा हुने हिंसाको अन्त्यका लागि आवाज बुलन्द पारिए । हुन त यस्ता अभियान चलाइन्छन्, प्रचार–प्रसार पनि हुन्छ तर त्यसको परिणाम भने समाजमा निकै कम देखिन्छ ।

संसारमा जहाँ सुकै जानुस्, त्यहाँ महिलाले उनीहरु लैंगिक रुपमा फरक भएकै कारणले हिंसा बेहोरिरहेका हुन्छन् । संसारका जुनसुकै ठाउँमा पुगे पनि त्यहाँ पनि महिलाले भोग्ने समस्या र पीडा उस्तै र उही हुन्छन् । चाहे हलिउडमा हालैका दिनमा उजागर भएको यौन शोषणको कुरा होस् या संसारका विभिन्न कुनामा भइरहेका युद्ध होऊन्, पीडा त महिलाकै पोल्टामा परिरहेको छ । यस्तो लाग्छ, जहाँ गए पनि महिला नै चेपुवामा पर्छन्, जहाँ पनि महिलाले नै अप्ठेरो भोग्छन् ।

बाधा, अड्चन र पीडा संसारभरिकै महिलाहरुको साझा भोगाइ हुने गरेको छ । आखिर जहाँ गए÷बसे पनि समाजका समस्या प्रायः उस्तैउस्तै हुँदारहेछन् भन्ने अनुभूति हुने गरेको छ । अफिस, समाज, घर जता पनि महिला नै प्रताडित र पीडित भएको देखिन्छ । सायद महिलाहरुमा सहन सक्ने शक्ति, संघर्ष गर्ने जुझारुपना र धैर्य तथा क्षमाशीलता आदिका कारण पनि पुरुषप्रधान समाजले महिलाहरुलाई हेप्ने, कम आँक्ने गरेको छ । त्यसैको प्रतिफल नै पुरुषप्रधान समाजले नारीहरुको सहनशीलता, धैर्य र क्षमाशीलताको नराम्ररी फाइदा उठाइरहेको देखिन्छ ।

हालै मैले एउटा जोडीलाई भेटेँ । त्यो जोडी कलेज पढ्दा राजनीति गथ्र्यो । राजनीति गर्दा महिला बढी सफल देखिएकी थिइन् । उनी चनाखो थिइन् । त्यही चनाखोपन देखेर पुरुषले उनीसित बिहेको प्रस्ताव राखे । बिहेपछि यो जोडी झनै राजनीतिमा जम्ने र देशले एउटा जुझारु नेतृ पाउने कुरामा म मात्र होइन, उनलाई चिन्ने आँकलन गथ्र्यौं । बाहिरबाट हेर्दा ती महिलाको भविष्य निकै सुन्दर देखिन्थ्यो । समय बित्दै जाँदा विवाहपछि ती महिला राजनीतिको पर्दाबाट विलिन भइन् भने उनका पतिको उचाइ बढ्दै जान थाल्यो ।
ती महिला किन पछि परिन् ? यसको आँकलन गर्नु अप्ठेरो छैन । सिधासिधा भन्ने हो भने महिला भएकै कारण उनीबाट बढी त्यागको अपेक्षा गरियो । उनको सम्पर्क, उनको भविष्यलाई संकुचित पारियो । घरव्यवहार, सन्तानको जिम्मेवारीजस्ता विषयले उनको राजनीतिक यात्रालाई पूर्ण विराम लगाइदियो । अनि उनका पतिले उनलाई जतिसुकै स्वतन्त्र छाडेको, उनको इच्छालाई ध्यान दिएको बताए पनि उनी पछाडि परिरहिन् र अघि बढ्न सकिनन् ।

कहिलेकाहीँ लाग्छ, किन हाम्रो समाजमा एउटा श्रीमान्ले उसकी श्रीमतीलाई हातेमालो, हौसला र अघि बढाउन सक्तैन ? किन श्रीमान्को सफलतामा मात्र उसकी श्रीमतीले सन्तुष्ट हुनुपर्छ ? श्रीमतीले सबै थोक चटक्क बिर्सेर अघि बढ्नुपर्छ भन्ने मान्यता म राख्दिनँ । मेरो भन्नुको तात्पर्य यति मात्रै हो– हामी एकअर्कालाई सहयोग गर्न सक्दैनौँ भने किन श्रीमतीले मात्र श्रीमान्का लागि सहयोग गरिरहनुपर्ने ? यसो भन्दा म अराजक देखिउँली तर त्याग गर्ने भाग महिलाको मात्र हो ?

मैले यस्ता कैयौँ कामकाजी महिला देखेकी छु जसले राम्रो काम पाए पनि, काममा राम्रो गरेको भए पनि, वर्षैपिच्छे उनको पदोन्नति भइरहे पनि घर सम्हाल्न, सासु–ससुराको सेवा गर्न, पारिवारिक र सामाजिक उपस्थिति देखाउन दुलहीले नै अफिस त्याग्नु परिरहेको छ । किन दुलाहा वा पतिले अफिस त्यागेर ती सबैमा उपस्थिति जनाउन र सामाजिक हुने काम गर्दैन ? यही प्रश्नमा नै लैंगिक समानता अड्किएको छ ।
सन्तान हुर्किसकेपछि पनि अफिसमा पुनः काम गर्नु महिलाका लागि कठिन छ । जागिर खान वा कुनै व्यापार–व्यवसाय गर्न उमेर घर्किसकेको भन्दै महिलाहरुलाई हतोत्साही गर्नेहरुको यहाँ कुनै कमी त छैन नै समाजले पनि अब यो उमेरमा किन बाहिर निस्कनु प¥यो भन्दै आलोचनासमेत गर्ने गरेको छ । सन्तान साना छँदा तिनलाई हुर्काउने बढाउने कुरामा नारी यति मग्न हुन्छन् कि कुन बेला सन्तान हुर्किएर बेग्लै अस्तित्व खोज्न थाले भन्ने नै थाहा हुन्न । त्यसपछि उनीहरु समाजका सबैभन्दा एक्ला प्राणी हुन्छन् । त्यो बेला नयाँ काम सुरु गर्न न त युवावस्थाको जस्तो ऊर्जा बाँकी रहन्छ न त हौसला नै पाउँछन् ।

मध्य उमेरका महिला जसको सन्तान हुर्किसकेका छन् र दिनभरि खाली समय हुन्छ, तिनीहरुका लागि ‘मिड लाइफ क्राइसिस’ सबैभन्दा ठूलो समस्या हो । त्यो उमेरमा बाहिर निस्कन पनि उही समाजले प्रश्न तेर्स्याउने गर्छ । मानौँ महिलामा सोच्ने ल्याकत छैन, मानौँ लाभ र हानिका कुरा उनीहरु जान्दैनन्, मानौँ समाजमा दबिएरै बस्नु उनीहरुको नियति हो । उसमाथि निरन्तर प्रश्न उठिरहन्छ, सीताले जस्तो अग्निपरीक्षा बेलाबेलामा दिइरहनु पर्छ । आखिर कहिलेसम्म यो परीक्षा दिइरहनुपर्ने ? कतिञ्जेल नारीमाथि प्रश्नमाथि प्रश्न तेर्स्याइरहने ? कतिञ्जेल यो समाजले महिलालाई प्रश्नमाथि प्रश्न खापेर प्रश्नैप्रश्नको पर्खाल उभ्याइरहने ?

झट्ट सुन्दा र्याडिकल विचारजस्तो लागे पनि महिलाको तर्फबाट विचार गर्ने हो भने यी प्रश्न नयाँ चेतनाका संवाहक हुन् । महिलामा अहिले जुन कुरा मनमा उठिरहेका छन्, तिनको सम्बोधन समयमै भएन भने, महिलाले गरेको परिश्रम, त्याग, धैर्यको मोल नबुझ्ने हो भने धैर्यको बाँध फुट्न सक्छ । बाँध यसरी फुट्नेछ, जसको मोल पुरुषप्रधान समाजले तिर्न बाध्य हुनुपर्नेछ ।

प्रकाशित: १७ पुस २०७४ ११:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App