१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘प्रदेश राजधानी काठमाडौंबाहिर हुनुपर्छ’

सुरेन्द्रराज गोसाइ, प्रदेशसभा सदस्य
भक्तपुर क्षेत्र– १ (ख)

प्रदेशसभामा चुनिनुभयो, कस्तो महसुस भएको छ ?
जिम्मेवारी र दायित्व थपिएको महसुस भएको छ । अब म आफ्ना निम्ति होइन, जनताका निम्ति बाँच्नुपर्छ । मैले चुनावका बेला देखाएका सपना पूरा गर्नुपर्छ । समाजका नकारात्मक पक्ष रूपान्तरण गर्ने मेरो मुख्य लक्ष्य हो । जनताले जुन आकांक्षा राखेर मत दिनुभयो, त्यसलाई पूरा गर्नेछु ।

विजयी पछिका दिन कसरी बित्दै छन् ?
विजयी भएपछि म मतदाताको घर–घरमा पुग्ने गरेको छु । बिहानैदेखि साँझसम्म जनताकै रायसुझाव संकलनमा व्यस्त हुन्छु । चुनाव जित्नुपहिले भोट माग्न जनताको घरदैलो पुगेको थिएँ, अहिले पनि उहाँहरूका पीरमर्का बुझेको छु । मतदाताले आफ्ना धेरै पीरमर्का साटेका छन् । ती सबै सम्बोधन गर्नेछु । रायसुझाव लिने सिलसिला सकिएपछि मात्रै काममा लाग्छु । 

जनता कस्तो पीरमर्कामा रहेछन् त ?
नेपालको राजनीतिक अवस्था देखेर जनता दिक्क छन् । धेरैले त राजनीतिलाई विश्वास नै गर्न छाडेका छन् । म घरदैलोमा पुग्दा पनि अधिकांश मतदाताले विगतमा नेतृत्व गर्नेले पनि सपना मात्रै देखाए, तपाईंले पनि त्यही त गर्ने होला भनेका छन् । युवाले रोजगार सिर्जना गर्न र विदेशी हस्तक्षेप रोक्न सुझाव दिएका छन् । पाका पुस्ताले संस्कृति जोगाउन अपिल गरेका छन् । यी कुरा हामीले जसरी पनि सम्बोधन गर्नुपर्छ । विगतमा सत्तामा पुग्नेले काम नगरेका कारण अहिले धेरै जनता निराश भएका हुन् । अझै पनि सबैतिर भ्रष्टाचार मौलाएको छ । जबसम्म भ्रष्टाचार रोकिन्न, तबसम्म देशको विकास सम्भव छैन । अब छुट्टै नीति बनाएर भ्रष्टाचारीलाई नङ्ग्याउन जरुरी छ । 

कस्ता कार्य गरेकाले विजय भएजस्तो लाग्छ ?
विगतमा पार्टीको आचारसंहिताअनुसार इमानदार राजनीति गरेकाले म विजयी भएको हुँ । मैले स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउन पनि विगतमा धेरै काम गरेको छु । मसँग १७ वर्ष शिक्षण पेसा अँगालेको अनुभव छ । पञ्चायतकालदेखि नै देशको आर्थिक विकासमा टेवा पुग्ने काम गर्दै आएको छु । यहाँका सांस्कृतिक सम्पदा संरक्षण क्षेत्रमा पनि विगतदेखि नै काम गरेको छु । यो कुरा यहाँका जनतालाई राम्ररी थाहा छ । नेपाल क्रान्तिकारी संस्कृति संघको अध्यक्ष भएर सम्पदा क्षेत्रमा काम गरेको अनुभव पनि छ । त्यसैले मैले उठाएका अजेन्डा सहजै पूरा गर्न सक्छु । 

तपाईंले तत्काल आफ्नो क्षेत्रमा गर्न सक्ने काम के के हुन् ?
मैले शिक्षा र सांस्कृतिक क्षेत्रलाई प्राथमिकतामा राखेको छु । यो क्षेत्रमा मेरो लामो अनुभव पनि छ, त्यसैले भक्तपुरको शिक्षा र सांस्कृतिक क्षेत्रलाई अन्य जिल्लाको भन्दा फरक बनाउँछु । पारदर्शी बनाउँछु । मौलिकता नमेटिने गरी सम्पदा संरक्षणलाई अघि बढाउँछु । महिलाका लागि रोजगार सिर्जना गर्ने कामलाई पनि मैले मुख्य स्थानमा राखेको छु । अर्को कुरा मलाई जुन काम गर्नु भनेर जनताले जिताउनुभयो, मैले अब त्यही काम गर्नुपर्छ । 

तपाईंले शिक्षा र संस्कृतिको मात्रै कुरा गर्नुभयो, भक्तपुर जोड्ने मुख्य सडकको अवस्था बिजोग छ, यसको जिम्मा कसले लिने ? 
हामी सबैले गर्ने हो । सबैले आ–आफ्नो भूमिका निभाउने हो भने हरेक कुरा समाधान हुन्छ । भक्तपुर सहर अहिले भीडभाड हुन थालेको छ । १० वर्षपहिले यहाँ सुनसान थियो, अहिले जनसंख्या चापले गर्दा सहर अस्तव्यस्त हुन थालेको छ । अब यहाँका सडक फराकिला बनाउन जरुरी छ । त्यसका निम्ति नयाँ योजना बनाउँछौँ । स्थानीय तहसँग मिलेर काम गर्छौं । मैले आफ्नो घोषणापत्रमा सडक निर्माण कार्यलाई पनि मुख्य स्थानमा राखेको छु ।

एक वर्षदेखि कमलविनायक नगरकोट मूल सडक लथालिंग छ, आजसम्म तपाईंको ध्यान त्यहाँ किन पुगेन ?
हामीले यो सडक मर्मतका लागि कैयौँपल्ट सम्बन्धित निकायसँग झगडा गरेका छौँ । सडकको अवस्था नाजुक भएपछि यहाँका जनप्रतिनिधिसँग पटक–पटक बैठक पनि बसेका छौँ । अहिले काम अघि बढेको छ । भत्केको पार्टी साइटमा कालोपत्र पनि सुरु भएको छ । त्यस्तै, अब यो सडकखण्डलाई काठमाडौं जोड्ने वैकल्पिक मार्ग बनाउने कुरा पनि मैले पटक–पटक उठाएको छु । तर, सबै पक्षले नमानेकाले काम शून्य छ । 

तपाईंले कृषि उत्पादनलाई मुख्य चुनावी अजेन्डा बनाउनुभएको थियो, तपाईंको क्षेत्रमा खेतीयोग्य जमिन धमाधम मासिएर क्रंकिट बन्दै गएको छ नि ?
यो कुरा साँचो हो । यहाँका जग्गा अति नै खेतीयोग्य मानिन्छ । तर, अहिले प्लटिङ गर्ने र घर बनाउने कार्यले गर्दा खाली जग्गा सकिन लागेको छ । यसमा खास कमजोरी सरकारकै देखिन्छ । सरकारको कमजोर नीतिका कारण यस्तो अवस्था आएको हो । जग्गाको खण्डीकरणले कृषियोग्य जमिनलाई मासिरहेको छ । यो विषयमा कडा नीति ल्याएर जग्गाका दलाललाई कस्न आवश्यक छ । 

प्रदेशसभा र सरकारसँग खासै अधिकार रहँदैन, आफ्ना सपना कसरी पूरा गर्नुहुन्छ ?
प्रदेश सरकारको आफ्नै क्षेत्राधिकार छन् । हामीले आफ्नो अधिकारभित्र पर्ने काम गर्ने हो । अन्य सरकारी निकायसँग पनि सहकार्य गरी अघि बढ्ने हो । अरु देशमा प्रदेश सरकारले धेरै काम गरेका उदाहरण पनि छन् । आफ्नो प्रदेशलाई कस्तो बनाउने भन्ने विषय प्रदेश सरकारमै निर्भर हुन्छ । सरकारको नियमअनुसार विकासका काम अघि बढाउँछौँ ।

प्रदेश ३ को राजधानी कहाँ हुनुपर्छ ?
म त भन्छु ३ नम्बर प्रदेशको राजधानी काठमाडौंभन्दा बाहिर हुनुपर्छ । काठमाडौंलाई राजधानी बनाइयो भने काठमाडौं झनै अस्तव्यस्त हुन्छ । यसको भूगोलले थाम्न सक्दैन । अरु जिल्लाका मानिस पनि यहीँ भरिन्छन् । बरु उपत्यका बाहिर बनाइयो भने काठमाडौं खुकुलो पनि हुन्छ । अर्को कुरा राजधानी भनेको सबैको सहज पहुँच हुने ठाउँमा हुनुपर्छ । सबैले सजिलै सेवा पाउनुपर्छ । 
 प्रस्तुति : शिवहरि घिमिरे 

प्रकाशित: १७ पुस २०७४ १०:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App