१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

लेकाली कहरमा पनि रमाएका दम्पति

हिमाली क्षेत्रमा पर्ने ताप्लेजुङ्को कालीखोला अन्तर्गतको याङ्मा खोलामा मोहन गौतम र पासाङ् डोमाको चौरी गोठ छ । दुवै जना तन्नेरी उमेरका छन् । उनीहरुको काखमा एक वर्षको छोरा छ ।  खोलाको छेउमा अग्लो पहाडको काखमुनि गोठ छ । उनीहरु केही वर्ष प्रेममा परे र लगत्तै बिहे पनि गरे । विवाह भएको पनि दुई वर्ष पुग्न लाग्यो । पासाङ छिमेकी मुलुक भारतकी हुन् । उनीहरुको गोठ सिक्खिममा थियो । प्रेमिल सम्बन्धमा उनीहरुलाई न देशको सिमानाले छेक्यो, न जातले नै । डोमा र मोहनको भेट चौरीले गरायो ।
निकै उचाइको ठाउँ भएकाले यहाँ अत्यन्त चिसो छ । काठ र ढुंगाले बनाइएको गोठको एकातिर आफूहरु बस्छन्, अर्कोतिर चौरी । हावापानी दैनिक फरक–फरक हुन्छ । सानो नानी लिएर चौरीको हेरचाह, दुध दुहुने, घिउ, छुर्पी बनाउने काममा उनीहरु व्यस्त छन् । स्वास्थ्य संस्थाको पहुँच छैन । यहाँबाट तीन दिन हिँडेपछि मात्र पाँचथर जिल्ला अस्पताल आइपुग्छ । त्यसैले यहाँ हत्तपत्त बिरामी हुने अनुमति शरीरलाई छैन । शरीरले बेसञ्चो महसुस गर्यो भने पनि थामथाम थुमथुममै जिन्दगी चलाउनुपर्छ ।
‘यहाँको स्वच्छ हावापानीले गर्दा होला लरतर बिरामी परिँदैन,’ पासाङले भनिन् । बिरामी भइहाले जरिबुटी छँदैछ । स्वास्थ्य, शिक्षा, सञ्चार, प्रविधि, यातायात लगायत धेरै कुराको अभाव छ । यसका बाबजुद पनि यो जोडी खुसी छ ।
मोहन र पासाङजस्ता जोडी लेकाली पहाडमा प्रशस्त छन् । पूर्वका हिमाली र उच्च पहाडी क्षेत्र हेर्दा जति आकर्षक छन्, जीवन उत्तिकै असहज छ । अभाव त मानौँ यहाँको स्थायी बासिन्दा हो । चामल, नुन, तेल, चिनी लगायतका न्यूनतम आवश्कताको व्यवस्थापन गर्न केही दिन हिँड्नुपर्छ । सामग्री महँगो छन् । तरकारी पाइँदैन । चिसो मौसममा पाइने दुःख यहाँ बेहिसाब छ । यस्तोमा पासाङलाई नानी पढाउने चिन्ता हुन्छ ।
याङ्गामा खोलाबाट एक घण्टा माथि रहेको चौरी घ्याङ भन्ने ठाउँमा डि गोठ छ । खड्कबहादुर भण्डारी र हर्किमाया भण्डारी यहाँ दुःखजिलो गरी बसेका छन् । बडो हित्तचित्त मिलेर बसेको जोडीको सन्तान छैनन् । पकाउनेदेखि चौरीका कामसमेत यो जोडीले मिलेरै गर्छन । खड्कबहादुर भन्छन्, ‘अब त लोग्नेस्वास्नीकै बानी परिएछ । दुःखहरुलाई त पचाउन सक्नु पर्दोरहेछ । काम गर्यो, पकायो, खायो ।’
खड्क चार वर्षभन्दा बढी विदेश बसी फर्केका हुन् । तीन दाजुभाइ मिलेर डि गोठसमेत विस्तार गरिरहेका छन् । ‘विदेशको भन्दा राम्रो कमाइ यहीँ हुँदोरहेछ,’ उनले भने ‘दुःख पनि गर्नु पर्छ तर कमाइ पनि हुन्छ । परिवार पाल्ने, शिक्षादीक्षा लगायतका खर्च कटाएर पनि मनग्गे आम्दानी हुन्छ ।’
यी गोठका बासिन्दाको सबैभन्दा मोहक पक्ष भने लालच र स्वार्थीपन छैन । यस्तोमा लोभलाग्दो गरी मौलिक जीवन कटाइरहेका दम्पति भेटिन्छन् यहाँ । निराशाको भाव खासै देखिदैन । खुसी मज्जाले मौलाएको छ । ‘दुःख नभएको हैन तर दुःखभित्रै खुसी हुन सकेका छौँ,’ निकास भन्ने ठाउँमा गोठ चलाउने युवा भीम भण्डारीले भने, ‘दुःखलाई पचाएका छौँ । असुविधाकै बीचमा सुविधा खोजेका छौँ । चर्को भाडदौड छैन ।’
भीमले जडिबुडी, तालतलैया संरक्षणजस्ता कुरामा पनि अभियान चलाएका छन्, स्थानीय तवरमा ।
जनसम्पर्क कम हुने यो ठाउँमा पातला गाउँहरु देखिन्छन् र यी गाउँमा आपसी मिलेमतो लोभलाग्दो देखिन्छ । मन मिलेको छ सबैको । सरकारी उपस्थिति देख्न कठिन पर्छ । एकातिर पशु बस्ने ठाउँ, अर्कोतिर मान्छे । अँगेनोमा धुँवा पत्पताउने आगो, अँगेनोकै छेउमा सुत्ने ओच्छ्यान, सुकाइएका छुर्पी, टिनका टिन घिउ, काठको बार र छाना भएको घरजस्तो स्वरुप, यो गोठको परिचय हो । पहिला गोठ पाल्नेको संख्या उल्लेख्य थियो । अहिले कम हुँदै जान थालेको छ । घरपरिवार, श्रीमतीसँग वर्षमा एकदुई पटक मात्र भेट हुन्थ्यो । अहिले श्रीमती, नानीहरु गोठमा बस्छन् । नानीहरु हुर्किएपछि सहरमा वा गाउँमा पढाउन लैजान्छन् ।
छवि गुरुङको उमेरले ६६ टेक्यो । उनी लेकको गोठमा बस्न थालेकै ५४ वर्ष पुग्यो । १२ वर्षको छँदा बुबासँग लेक चढेका उनी, त्यसयता गोठमै रमाएका छन् । मेमेङ फालोटमा उनको भेडी गोठ छ । दैनिक भेडा चराउने, हुर्काउने काममा उनी व्यस्त छन् । लेकमा गोठ पाल्न सहज छैन । दुःख छ, झण्झट छ तर कमाइ भने राम्रो छ । ‘यही पहाड, यही हरियाली, यही दुःख हामीलाई मीठो लाग्छ,’ गुरुङ भन्छन्, ‘बजारमा त म निस्सासिएजस्तो लाग्छ ।’
यस्ता गोठमा प्रौढ पुस्ता मात्र होइन, प्लस टु पढिसिध्याएका युवा पनि यसमा आकर्षित छन् । विखेको गोठमा भेटिएका युवा टार्जन खुदाङ तीमध्ये एक हुन् । टार्जन भन्छन्, ‘चर्को तनाव लिएर काम गर्नु पर्दैन । सहरमा जस्तो हतारो र तनावको वातावरण यहाँ नहुनाले आफूलाई यो ठाउँ मन परेको उनको भनाइ छ । यस्ता गोठमा काम गर्न सिक्किमबाट आउनेको पनि कमी छैन । राम्रो पैसा दिएर राखिने ग्वालाको सहयोगले काम गर्न सहज भएको टार्जन बताउँछन् ।

प्रकाशित: २० कार्तिक २०७४ ०८:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App