१५ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

गगनजी र कांग्रेस

एउटा अनलाइन पोर्टलमा एकजना पत्रकारले कांग्रेस नेता गगन थापाको विचार समेटेर एउटा लेख लेख्नुभएको छ । बडो सान्दर्भिक छ, लेख । गगनजीको विचार यसरी उद्धृत गरिएको छ, “नेपालमा करिब ७० प्रतिशत स्थान प्रजातान्त्रिक मूल्यलाई स्वीकार्नेहरूको हो । नेपालका कम्युनिस्टहरूको स्थान भनेको ३० प्रतिशत मात्र हो । एमालेले ७० प्रतिशत प्रजातान्त्रिक ‘स्पेस’मा प्रतिस्पर्धा गरिरहेको हो । त्यो स्पेसमा आफू मात्र रहेको दाबी कांग्रेसले गथ्र्याे, जनताले एमालेलाई त्यही स्पेसमा छिराएका थिए ।”

चिन्ता गर्छन्, प्रदिप गिरी र गगनहरू । र, कहिलेकाहीँ बिपीको समाजवादको कुरा पनि उठाउने गर्छन् । अन्यथा कांग्रेसमा वैचारिक बहस शून्यप्रायः छ । मुद्दा र रोडम्याप कम्युनिस्टसँग छ । जनताको ठूलो हिस्सा कम्युनिस्ट समर्थक नै छन् ।

यसो भनिरहँदा गगनजीले बहत् वाममोर्चाको अवधारणालाई नै लल्कार्ने गरी वामपन्थीहरूको स्पेस खुम्चिएको तर्क यसरी गर्नुभयो, “अब बन्ने भनेको नेपाल कम्युनिस्ट पार्टीको स्पेस ३० प्रतिशत हो । अर्थात् एमाले ७० प्रतिशत छोडेर ३० प्रतिशतमा खुम्चियो । अब कांग्रेसका लागि मैदान खाली भयो । माओवादी ७० प्रतिशतमा आएको होइन, एमाले ३० प्रतिशतमा गएको हो । त्यसैले ७० प्रतिशतमा अब कांग्रेस मात्र छ ।”

गगनले कांग्रेसलाई प्रजातान्त्रिक मूल्य मान्ने ७० प्रतिशत स्पेसलाई आफ्नो पोल्टामा फिराउने बाटो पनि सुझाएका छन्, यसरी, “तथापि, ७० प्रतिशत जनता प्रजातान्त्रिक मूल्यलाई मान्ने जनता हुन्, कांग्रेसलाई मान्ने जनता होइनन् । अब कांग्रेसले त्यो प्रजातान्त्रिक मूल्य मान्ने जनताको मत आफूसँग सुरक्षित गर्नुपर्छ । तत्कालै हामीले के के कुरामा परिवर्तन ग¥यौँ भने ७० प्रतिशत जनता साथमा रहन्छन् भन्ने मूल्यांकन गर्न ढिलाइ गर्नु हुँदैन । भविष्यको कांग्रेस राजनीति पनि यसैको सेरोफेरोमा घुम्नुपर्छ ।”

निकै चोटिलो ढंगको विश्लेषण हो यो । नेपाली कांग्रेस मात्र होइन, एमाले र माओवादीका नेताहरूका लागि पनि यो निकै घतलाग्दो विश्लेषण हुन सक्छ । कांग्रेस र एमाले क्रमशः प्रजातान्त्रिक र वामपन्थी धारको पर्याय बन्दै गएको अहिलेको नेपालमा माओवादी जनयुद्धपछि अथवा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि माओवादी र मधेस केन्द्रित दलहरूको पनि नेपाली राजनीतिक क्षितिजमा बलियो उपस्थिति देखाप¥यो । प्रजातान्त्रिक, उदार प्रजातान्त्रिक, कम्युनिस्ट र मधेसवादको नाममा राजनीति गर्ने दलहरूबीच छोटो समयको प्रतिस्पर्धात्मक राजनीति चल्यो । संक्रमणकालीन अवस्थाको राजनीतिमै देश रुमल्लिरहेको अवस्था पनि छ । २०७२ सालमा संविधानसभाबाट संविधान निर्माण भएपछि एउटा राजनीतिक कोर्स पूरा भयो । जनता अब स्थायित्व, शान्ति, सुशासन र समृद्धि चाहन्छन् । अब, उनीहरू धेरै राजनीतिक झमेला बेहोर्ने पक्षमा छैनन् ।

हिजोको सामन्ती एकात्मक हिन्दू राजतन्त्रात्मक व्यवस्थाको अन्त भयो । संविधानले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशिता, सामाजिक न्यायसहितको समाजवादउन्मुख अर्थतन्त्रको रोडम्याप तयार ग¥यो । कसैलाई कुनै कुरा मन प¥यो, कसैलाई मन परेन । तर, संविधानले यी विषय समेटेर नेपालको भविष्य कोर्ने एउटा खाका भने सहमतिमै बन्न पुगेकै हो । समग्रमा यी एजेन्डा माओवादी आन्दोलनको उचाइकै परिणाम हो भन्ने कुरा आमजनताले बुझेका छन् । मालेमावादमा विश्वास गर्ने एउटा सानो झुण्डको विद्रोह र जनयुद्धले देशमा ठूलो राजनीतिक कोर्स पूरा गरायो । प्रजातान्त्रिक मूल्यको कांग्रेस र वामपन्थी धारको नेतृत्व गर्ने एमाले पनि यिनै एजेन्डाहरूको सेरोफेरोमा वैचारिक बहसमा जुटे । लामो चरणको बहस भएकै हो । बहुलवाद र समाजवादको सन्दर्भमा पनि ठूलो संघर्ष चल्यो । अभ्यासको आधारमा जनताको बहुदलीय जनवादमार्फत संसदीय व्यवस्थालाई एमालेले पहिलेबाटै स्वीकार गरिसकेको थियो भने माओवादी त्यसको विरुद्धमा थियो । तर, राष्ट्रिय आवश्यकता हेरी दुईतिहाइ बहुमतको अभावमा तत्काललाई माओवादी पनि संसदीय प्रणालीमै हाम फाल्न पुगेकै हो । जनताको मतबाट कार्यकारी राष्ट्रप्रमुखको विषयमा ठूलो बहस चल्यो । पूरा हुन सक्ने अवस्था कायम भएन । माओवादीले फरक मत जनाएर संविधानमा दस्तखत ग¥यो । राजावादी शक्तिहरूले हिन्दू राजतन्त्रात्मक प्रजातन्त्रको मार्गचित्रमाथि पनि बहस गरे । केही सानासाना शक्तिदेखि ठूला पार्टीहरूले संघीयताकै पनि विरोध गरे । अन्ततः संविधानले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशिता, सामाजिक न्यायसहितको समाजवादउन्मुख अर्थतन्त्रको रोडम्याप नै तयार ग¥यो ।

गगनले कांग्रेसको भविष्यको चिन्ता गरेका छन् । उनले कांग्रेसलाई बडो सांकेतिक ढंगले सुझाएका छन्, “अब के के कुरामा परिवर्तन ग¥यौँ भने ७० प्रतिशत जनता साथमा रहन्छन् भन्ने मूल्यांकन गर्न ढिलाइ गर्नु हुँदैन ।” गगनजीले उठाउनुभएको यो बडो गहन र गम्भीर विषय पनि हो ।

मुख्य कुरा गगन प्रजातान्त्रिक मान्यतामा विश्वास गर्ने विद्वान् नेता हुन् । बिपीले प्रजातान्त्रिक समाजवादको आधारमा नेपाली राजनीतिलाई दिशानिर्देश गर्ने काम गर्नुभयो । तर, बिपीको नेपाली कांगे्रससँग आज प्रजातन्त्र त छ तर समाजवादलाई उहिले नै विसर्जन गरिसकेको छ । कांग्रेससँग समृद्धिको लक्ष्य त छ तर कार्यक्रम र रोडम्याप छैन । कम्युनिस्टहरूसँग समाजवादी अर्थतन्त्र र विभिन्न समसामयिक मुद्दा छन् । वैज्ञानिक भूमिसुधार, सुकुमवासीको मुद्दा, रोजगार, उत्पादन, मजदुर किसानको अधिकारलगायतका वर्गीय मुद्दा छन् । बिपीसँग विचार थियो । आजको कांग्रेससँग के छ ? गगनले भन्न खोजेको विषय यही हो । बरू राप्रपाले हिन्दू राजतन्त्रको एउटा कार्यक्रम र रोडम्याप बनायो । हिन्दूवाद र राजतन्त्रलाई मान्ने एउटा तप्का ऊसित जोडिने अवस्था छ । मधेस केन्द्रित दलहरूले मधेसप्रतिको विभेदलाई राजनीतिक मुद्दा बनाएर केही अवधि राजनीति गर्ने आधार छ । कांग्रेससँग के छ ? यही हो गगनको आशय । परम्परागत पुस्ताको अन्त भई पुस्तान्तरण हुँदासम्म कांग्रेस कहाँ रहने हो ? अर्काे पिँढीको युवा पुस्ताले कांग्रेसलाई कसरी हेर्ला, यसको जवाफ कांग्रेससँग छैन ।

चिन्ता गर्छन्, प्रदिप गिरी र गगनहरू । र, कहिलेकाहीँ बिपीको समाजवादको कुरा पनि उठाउने गर्छन् । अन्यथा कांग्रेसमा वैचारिक बहस शून्यप्रायः छ । मुद्दा र रोडम्याप कम्युनिस्टसँग छ । जनताको ठूलो हिस्सा कम्युनिस्ट समर्थक नै छन् ।

के कांग्रेसले कमल थापाहरूसँग हिन्दू राष्ट्र र राजतन्त्रको मुद्दा पैँचो लिने त होइन ? वा मधेस केन्द्रित दलहरूसँग मधेसको मुद्दा सापटी लिने त होइन ? कम्युनिस्टहरू एकत्रित हुन थालेपछि उसलाई उछिन्न कांग्रेसले केही त गर्नुप¥यो । एमाले, माओवादी र नयाँ शक्तिको गठबन्धन र एकीकरण देखेपछि कांग्रेस झस्किनु स्वाभाविक नै हो । तर, कांग्रेसको झस्काइ अलिक गम्भीर प्रकृतिको देखिन्छ । कि त कांग्रेसले बिपीको प्रजातान्त्रिक समाजवादलाई ब्युँताउनु प¥यो कि त राजावादी पार्टीहरूको लाइनमा जानुप¥यो । अनि, राजाको वरिपरि रहेका कमल थापा, पशुपति शम्शेर र प्रकाशचन्द लोहनीहरूलाई जोडेर नयाँ पार्टी निर्माण गर्नुप¥यो । कांग्रेसभित्र पछिल्लो समयमा खुमबहादुरदेखि बिपी पुत्र शशांक कोइराला र शेखर कोइरालाले हिन्दू राष्ट्रको विषयमा चासो देखाएकै छन् । यो लाइनमा बाहिर नबोले पनि थुप्रै नेताहरू छन् । कांग्रेसको गत महाधिवेशनको समयमा पनि यस विषयले तुल पक्रेको थियो । गगनजीको संकेत यसैतर्फ त होइन ? डेमोक्र्याट्सहरूलाई एक ठाउँमा ल्याउने कांग्रेसको प्रयास अस्वाभाविक पक्कै पनि होइन । तर, अप्रत्यासित चाहिँ भयो । माओवादीले त कम्युनिस्टहरूलाई एउटै बास्केटमा ल्याउने कुरा शान्ति प्रक्रियापछि देखि नै गर्दै आएको हो । तर, एमाले–माओवादी–नयाँ शक्तिको एकता अभियानले झस्किएको कांग्रेस रातारात भिन्न भिन्न पृष्ठभूमिका डेमोक्र्याट्सहरूलाई एउटै हाँडीमा राखेर खिचडी पकाउनुलाई चाहिँ अर्थपूर्ण मान्नैपर्छ । अझ मधेसवादी दलहरूलाई पनि जोड्ने प्रयास भएको छ । माओवादीको कांग्रेस र राप्रपासँग एकीकरण हुन सक्दैन तर सिपी मैनालीको माले र बिजुक्छेको मजदुर किसान पार्टीसँग एकीकरण हुनसक्छ । माओवोदी–एमाले–नयाँ शक्तिले त्यो गरेको हो । राप्रपाको पृष्ठभूमि, कांग्रेसको पृष्ठभूमि र मधेसी दलहरूको पृष्ठभूमि मुद्दागत हिसाबले निकै पृथक् छ । कि त गगनजीले सुझाएजस्तै ती सबै पार्टीका मुद्दाहरूलाई कांग्रेसले आफ्नो दस्तावेजमा ग्रहण गर्नुप¥यो, त्यसपछि कार्यगत एकताभन्दा पनि एकीककरणकै अभियान चलाउनु प¥यो । अन्यथा त्यो कार्यगत एकताको जीवन स्वस्थ्य रहन्न । यसले झन् धरापमै लैजानेछ । आज साना पार्टीहरू अस्तित्व रक्षाका लागि ओत खोज्दै गरेको अवस्थामा हुने भिन्न पृष्ठभूमिहरूको आधारहीन गठबन्धनले कांग्रेसलाई कहाँ पु¥याउला भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । किनभने, माओवोदी–एमाले–नयाँ शक्तिको गठबन्धनले साना पार्टीहरूको बार्गेनिङ पावर बढाइदिएको छ । ठूलो पार्टी खुम्चिएर सहमति गर्नुको विकल्प रहँदैन । के कांग्रेस खुम्चन्छ त ? खुम्चँदैन भने फेरि विकल्प के त ?

यसले के देखाउँछ भने अबको दिनमा राजनीतिक ध्रुवीकरण झन् झन् फस्टाउँदै जान्छ र कम्युनिस्टहरूको संगठन अझ सुदृढ हुँदै जान्छ । किनकि कांग्रेसको अबको रोडम्याप हिन्दू राष्ट्र र राजतन्त्रबाहेक अरू केही होइन ।
(लेखक महिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री तथा माओवादी केन्द्रका नेता हन् ।)

प्रकाशित: २६ आश्विन २०७४ ०५:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App