१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अन्ततः अर्जेन्टिना विश्वकपमा

मोन्टेभिडियो- अनिश्चयका बावजुद अर्जेन्टिनाको विश्वकप यात्रा अन्तिम खेलबाट तय भएको छ । लियोनल मेसीको ह्याट्रिकप्रेरित अर्जेन्टिनाले बुधबार इक्वेडरलाई पराजित गर्दै रूस विश्वकप २०१८ मा स्थान सुरक्षित गर्दा दक्षिण अमेरिकी च्याम्पियन चिली छनोट चरणबाटै बाहिरिएको छ ।
दक्षिण अमेरिकी छनोटको अन्तिम खेलमा इक्वेडरलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिनाले विश्वकपको टिकट काटेको हो ।
खेल सुरु भएको ३८औं सेकेन्डमा रोमारियो इबाराले गरेको गोलमा इक्वेडरले अग्रता लिएको थियो । ११औं मिनेट मेसीले गरेको गोलमा अर्जेन्टिना खेलमा फर्किएको थियो । उनले एन्जेल डी मारियाको पासलाई पोस्टको दिशा दिएका थिए । १८औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ६२औं मिनेटमा मेसीले ह्याट्रिक पूरा गर्दा अर्जेन्टिनाले विश्वकप यात्रा पक्का गरेको थियो ।
विश्वकप छनोट चरणमा अर्जेन्टिनी टोली सम्हाल्ने तेस्रो प्रशिक्षक बनेका जर्ज साम्पोलीले समग्र टोलीको मिहिनेत र आत्मविश्वासले विश्वकप यात्रा सम्भव भएको बताए ।
‘अर्जेन्टिनालाई विश्वकपमा छनोट गराउनैपर्ने कर मेसीलाई छैन तर फुटबलका लागि मेसीले विश्वकप खेल्नुपर्ने कर छ,’ साम्पोलीले भने, ‘उनी इतिहासका उत्कृष्ट खेलाडी हुन् । यो समग्र टोलीको जित हो । उनीहरूले उत्कृष्ट प्रदर्शन गरे ।’
दक्षिण अमेरिकी छनोटको शीर्ष चारमा रहने टोली स्वतः विश्वकपमा छनोट हुनेछ  भने पाँचौं स्थानको टोलीले प्लेअफको अवसर पाउने छ ।
दक्षिण अमेरिकाबाट ब्राजिल यसअघि नै शीर्ष स्थानमा बस्दै विश्वकपमा छनोट भैसकेको थियो भने दोस्रो स्थानको उरुग्वेको छनोट लगभग निश्चित थियो । छनोट चरणको समाप्तिमा ब्राजिलले ४१ र उरुग्वेले ३१ अंक जोडे । उरुग्वेले अन्तिम खेलमा बोलिभियामाथि ४–२ को जित हात पार्दै विश्वकपमा स्थान सुरक्षित गरेको थियो ।
अन्तिम दुई स्थानका लागि चिली, कोलम्बो, पेरू र अर्जेन्टिनाबीच तीव्र प्रतिस्पर्धा देखिएको थियो ।
तेस्रो स्थानको चिलीले ब्राजिललाई ३–० को नतिजा सुम्पिनु तथा चौथो र पाँचौं स्थानका कोलम्बिया र पेरूले १–१ को बराबरी खेलेपछि अर्र्जेन्टिनाको भाग्य खुलेको थियो । ब्राजिलको जितमा ग्याब्रियल जिससले दुई तथा पोैलिन्होले एक गोल गरेका थिए । ब्राजिलसँगको हारपछि छैटौं स्थानमा झरेको चिली गोलअन्तरमा पछि पर्दैै छनोट चरणबाटै बाहिरिएको हो ।
ब्राजिलसँगको हारसँगै चिलीका प्रशिक्षक एन्टोनियो पिज्जीले टोली बाहिरिनुको जिम्मेवारी लिँदै प्रशिक्षक पदबाट राजीनामा दिएका छन् ।
‘हामीले कडा मिहिनेत गर्दै क्षमताअनुसारको प्रदर्शन गरे पनि भाग्यले साथ नदिँदा हाम्रो यात्रा छनोट चरणमा सीमित भयो’, पिज्जीले भने, ‘म टोलीको बहिर्गमनको जिम्मेवारी लिँदै आजैको मितिबाट प्रशिक्षक पद छाडेको घोषणा गर्दछु ।’
यस जितपछि १८ खेलको समाप्तिमा २८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको अर्जेन्टिना स्वतः विश्वकपमा छनोट भएको हो । त्यस्तै पेरूसँग बराबरी खेलेको कोलम्बियाले पनि २७ अंकका साथ चौथो स्थान कब्जा गर्दै विश्वकप टिकट पक्का गरेको थियो । समान खेलमा २६÷२६ अंक जोडे पनि पेरूले गोलअन्तरमा चिलीलाई पछि पार्दै प्लेअफमा स्थान पक्का गरेको थियो । चिली पाँचांै र चिली छैटांै स्थानमा रहे । यता भेनेजुएलालाई १–० को नतिजा सुम्पिएपछि प्लेअफ खेल्नबाट वञ्चित भयो । २४ अंकमा सीमित पाराग्वेले सातौं स्थानमा चित्त बुझायो ।

प्रकाशित: २६ आश्विन २०७४ ०३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App