१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

करौडो लगानीको बाँध सामान्य बाढीको धक्कामै ध्वस्त

लहान- मनसुनको पहिलो वर्षाले सप्तरीको अधित्तर गाउँबस्ती डुबाएको छ। खोलाको बाडीबाट गाउँवस्ती जोगाउन बनाइएको बाँध समान्य बाढीको धक्काले भत्काएपछि बाढी गाउँबस्ती पसेर उत्पात मच्चाएको हो।

सप्तरीको सुन्दरी खोलाको बाँध बाढीको धक्काले ठाउँ ठाउँमा भत्काएपछि बाढी गाउँ पसेर बुद्यबार कञ्चनरुप नगरपालिका–१ रघुनाथपुरका अवधी यादव, देवु यादव र राजकुमार यादवका ४ वटा घर भत्केको छ। घर भत्केर वास गुमाएका तिनै परिवारलाई स्थानीय प्रसाशनले छिमेकको घरमा सुरक्षीत व्यवस्थापन गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताए।

महुली खोलाको बाँध महुली, मैनाकडेरी, लोहजारा, त्रिकौलमा बाढीले भत्काएको छ। यसका कारण खोलाको बाढी गाउँ पसेर करिब आधादर्जन गाउँबस्ती डुबानमा परेको छ। सुन्दरी खोलाको बाँध कञ्चनरूप –९ रघुनाथपुरमा भत्काएको छ। खडक नदीको बाँध पातो, गोबिन्दपुर –४ मा भत्काउँदा आसपरोसका गाउँबस्ती डुबानमा परेको छ।

मनसुनको पहिलो वर्षाको समान्य बाढीको धक्का थेग्न नसक्ने कस्तो बाँध? सप्तरीका आमजनको सामूहिक सरोकारको समूहिक प्रश्न हो यो। वर्खालागेपछि खोलाको बालुवा थुपारेर बाँधिएको बाँध बाढीले भत्काएर त्यही खोलामा पुर्‍याउँछ यहाँका स्थानीय प्रश्न गर्छन् असार अगाडि काम सम्पन्न गर्न सकिन्न?

यसपाली जल उत्पन्न नियन्त्रण कार्यालयले यी खोलामा करिब २५ किलोमिटर बाँध निर्माणको काम गरेको जनाएको छ। यसका लागि यो कार्यालयले करिब १६ करोड खर्च गरेको छ। खाँडो नदी नियन्त्रण आयोजनामार्फत पनि करिब यही हाराहारीमा रकम खर्च भएको छ। भूसंरक्षण कार्यालयले पनि नदी नियन्त्रयका नाममा करोड रकम खर्चेको छ।

करोडांै रकम खर्च लगानीमा गरिएको नदी नियन्त्रणको काम किन प्रभावकारी भएन? खोलानदीको बाढी गाउँवस्तीमा पस्नबाट छेक्न बनाएको बाँध समान्य बाढीलाई समेत किन थोग्न सक्दैन? जल उत्पन्न नियन्त्रण कार्यालय लहानका प्रमुख रामनरेश मण्डल भन्छन्, 'हामीले बाँध त मजबुत नै बनाएका थियौं तर बाढीको बेग बढी भएर भत्कियो। बाँधको उचाइ पौने तीन मिटर छ।'

यहाँ निर्माण भएका बाँधमा रिभरबेड(नदिकिनारकै) बालुवा प्रयोग गरिएको उनले बताए। त्यही बालुवाले बाँध निर्माण भएको हो। माथिबाट राम्रो माटो हालेर घाँसको चपरी हाल्ने हो उनले भने, ‘चपरी हाल्न नपाउँदै बाढी आइहाल्यो।’ भर्खरै निर्माण भएको बाँध खोलाले बगाएपछि कार्यालयले उपलब्ध गराएको खाली सिमेन्टको बोरा र नाइलन जालीमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले बालुवा भरेर भत्केको स्थानमा बाँध हाल्दै छ।

प्रमूख जिल्ला अधिकारी कटुवालकाअनुसार मयनाकडेरीमा सेना, प्रहरी र सशस्त्र प्रहरीले भत्केको बाँध निर्माण गर्दैछन्। भोलि यो टोलीले पोर्तामा भत्केको बाँध निर्माण गर्ने उनले बताए।

'करोडौं रुपैयाँ लगानीमा बनाइएका र मर्मत गरिएका अधिकांश बाँध भत्किनुमा राम्रोसँग निरीक्षण र इमान्दार काम नभएको प्रष्ट हुन्छ,' लहानका वन तथा जलाधार विज्ञ दिनेश यादवले भने। यद्यपी बाढी नियन्त्रण र यसको प्रभावसंग धेरै फ्याक्टर जोडिन्छ उनले भने, ‘बाँध निर्माण गर्दा सम्बन्धित खोलाको सुष्म अध्यन गरी बाँधको जग बसाल्नुपर्छ।’

खाँडो नदी नियन्त्रण आयोजनामार्फत यस खोलाको बाँध निर्माणलगायत नियन्त्रणकार्यमा यस वर्ष १५ करोड रुपैयाँ खर्च भएको आयोजना प्रमुख अकलाक सिद्धिकीले बताए। उनका अनुसार खाँडो नदीको दुईतर्फ ५० किलोमिटर बाँधमध्ये यसवर्ष २५ किलोमिटर बाँध निर्माण हुँदै छ।

खाडो नदीले बढी क्षती तिलाठी, लौनीयालगायतका गाउँमा पुर्‍याउँछ। जहाँ करिब १० किलोमिटर बाँध स्थानीयको बिरोधका कारण सम्पन्न हुन नसकेको सिद्धिकीले बताए। तिलाठीबासीले नम्बरी जग्गावाट बाँध बनाउन नदिने अडान राखेपछि बाँध निर्माणमा समस्या भएको उनको भनाइ छ।

१५ करोड रुपैयाँ खर्च गरेर बनाइएको खाँडोको बाँधमा पनि यो बाढीले क्षती पुर्याएको छ। डुमरी र पौवाटोल नजिक खाडोको बाढीले बाँध भत्काएको सिमा सुरक्षा कार्यालय सप्तरीका प्रमुख रामआधार यादवले बताए। लौनिया, विषहरिया, दिघवा, तोपालगायत विभिन्न स्थानमा बाढीले बाँधमा क्षति पुर्‍याएको छ। लोनियामा तीन स्थानमा बाँध कटान भएको छ।

‘बाँध छेउबाट नै बालुवा झिकेर बनाइएको बालुवाको बाँध बाढीका अगाडी कति समय टिक्ला?' यो डरले अझै सप्तरीवासी त्रसित छन्।

प्रकाशित: २२ असार २०७४ ०७:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App