१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ग्रेड सुधारका लागि जाँच दिने उल्लेख्य

काठमाडौं- न्यून ग्रेडमा एसइइ परीक्षा उत्तिर्ण भएका विद्यार्थीले ग्रेड सुधारका लागि पुनः परीक्षा दिई ग्रेड सुधार गरेका छन्। ग्रेड सुधारका लागि ४७ हजार ४ सय १६ विद्यार्थीले २ लाख १३ हजार ९ सय ५८ विषयमा दिएको परीक्षामा ४५ हजार ७ सय १२ विद्यार्थीले १ लाख ४७ हजार ६ सय ५० विषयमा ग्रेडवृद्धिको नतिजा हासिल गरेको जानकारी परिक्षा नियन्त्रक अम्बीका रेग्मीले दिए।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले मंगलबार प्रकाशित गरेको २०७२ सालको एसइई ग्रेड वृद्धि परीक्षामा सबैभन्दा कमजोर विद्यार्थी गणितमा रहेका थिए।

पहिलो पटक परीक्षा नियन्त्रण कार्यालयले निकालेको यस वर्षको एसइई नतिजामा गत वर्षसम्म बढीमा दुई विषयमा डि वा ई ग्रेड प्राप्त गरेका परीक्षार्थीका लागि ग्रेड वृद्धिको व्यवस्था गरिएको थियो ।

रेग्मीका अनुसार सबैभन्दा बढी विद्यार्थीले ग्रेडवृद्धिका लागि गणितमा परीक्षा दिएका थिए । तर सुधार भने विज्ञान विषयमा भएको छ । गणित विषयमा ४० हजार ९ सय ६१ ले परीक्षा दिएकोमा २३ हजार २ सय ४४ को नतिजा सुधार भएको छ ।

गणितमा सबैभन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । यसैगरी विज्ञान विषयमा ३९ हजार ६७ ले परीक्षा दिएकोमा २६ हजार ४ सय ४५ को नतिजामा ग्रेड वृद्धि भएको छ । यो नतिजा सहभागी विद्यार्थीमध्ये सबैभन्दा बढी विज्ञान विषयमा सुधार भएको हो ।

‘विद्यार्थीले कुल २२ विषयको ग्रेडवृद्धिको लागि परीक्षा दिएका थिए,’ नियन्त्रक रेग्मीले नागरिकसँग भने ‘एउटै व्यक्तिले पनि सबै विषयमा पनि परीक्षा दिएका छन् । गत वर्षको ग्रेडिङ नतिजा पहिलो पटक भएकोले ग्रेडवृद्धिको नतिजाको सफ्टवेयर बनाउने, प्रमाणीकरणका प्रक्रियाका कामले ढिलाइ भएको हो ।’

यसैगरी गणितपछिको ग्रेडवृद्धि सूचिको दोस्रोमा विज्ञान छ । ग्रेडवृद्धिको तेस्रोमा अंग्रेजी रहेको छ । यो विषयमा कुल ३४ हजार १ सय ७४ विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिएकोमा २२ हजार ५२ को नतिजा सुधार भएको छ ।

समाजिक शिक्षामा ३२ हजार ३ सय २५ ले परीक्षा दिएकोमा २२ हजार ८ सय ४६ को नतिजा सुधार भएको छ । त्यस्तै, नेपाली विषयमा २३ हजार  ५ सय ५४ ले परीक्षा दिएकोमा १७ हजार ७ सय ४६ को नतिजा सुधार भएको छ ।

परीक्षा उपनियन्त्रक डिल्ली लुइँटेलका अनुसार गत वर्षको नतिजा सुधारकोलागि पनिकाले नियमति, एक्जम्टेड र ग्रेडवृद्धि परीक्षा संचालन गरेको थियो । ‘अझै पनि धेरै विद्यार्थी विज्ञान, गणित र अंग्रेजीमै कमजोर भएको पाइए,’ उनले भने ।

यस वर्ष सीभन्दा तल्लो ग्रेड ल्याउने विद्यार्थीले जुनसुकै विषयका लागि ग्रेडवृद्धिको परीक्षा दिन सक्ने व्यवस्था छ । परीक्षा साउन १९ गतेदेखि सञ्चालन हुनेछ ।

‘यस वषको एसइई परीक्षाफलले सिकाइको जग बलियो बनाउनुपर्ने देखिएको छ । साथै पाठ्क्रम निर्माण र शिक्षक तालिममा पनि आमूल परिवर्तन गर्नुपर्ने देखिएको छ,’ शिक्षाविद् टंक शर्माले नागरिकसँग भने ।

                                   

 

प्रकाशित: २१ असार २०७४ ०३:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App