२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

‘देशमा १८ घण्टा लोडसेडिङ गरी रातारात मोटाउनेहरुको नालिबेली पत्ता लाग्दै छ’

काठमाडौं– उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले बिजुली ठूला चोरहरु समात्ने क्रम शुरु भइसकेको बताएका छन्।  
अष्ट ‘ज’ अभियानले राजधानीमा गरेको ‘नेपालको पानी, जनताको लगानी तर कसरी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन्।  

जनतालाई १८ घण्टा लोडसेडिङमा राखेर रातारात मोटाउनेहरुको नालीबेली पत्ता लाग्दै गएको भन्दै मन्त्री शर्माले त्यस्ता चोरहरुलाई कानूनको कठघरामा ल्याएरै छाड्ने प्रतिबद्धता गरे।

‘हाल विद्युत प्राधिकरणमा रहेका वा नरहेका बिजुली चोरहरु एकएक गरी समातिनेछन्, तिनलाई कुनै पनि हालतमा छाडिँदैन,’ उनले भने, ‘प्राधिकरणभित्रका चोरहरुको साईनो अन्तै जोडिएको छ, त्यो क्रमश पत्ता लाग्दै गएको छ।’

मन्त्री शर्माले बिजुलीको मिटर बटारेर कमिशन असुल्ने प्राधिकरणभित्रका भ्रष्टहरुलाई तह लगाएर मात्र चुहावट नियन्त्रणको अभियान सफल पार्न सकिने ठोकुवा गरे।

‘लोडसेडिङ हटाएपछि जनताले मलाई अब के गर्छस् भनेर ठाँउ ठाँउमा सोध्ने गरेका छन्’, उनले भने, ‘मैले भनेको छु अब बिद्युत चोरहरुलाई कार्वाहीको दायरामा ल्याउँछु।’

आइतबार मात्र नेपाल प्रहरीले विद्युत चोरी गरेको अभियोगमा विद्युत प्राधिकरणका बहालवाल र पूर्व कर्मचारी १६ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

आयोजना अध्ययन समय घटाइने

मन्त्री शर्माले जलविद्युत आयोजनाहरुको अध्ययन गर्ने समय अवधिलाई घटाउने गरी काम भइरहेको जानकारी दिए।
‘सम्भाव्यता अध्ययनमा दुई वर्ष लगाउने, डिपिआर तयार गर्न पाँच वर्ष लगाउने, अनि कहिले बन्छ आयोजना?’ उनले भने, ‘यस्ता खालका विज्ञ र इन्जीनियरहरुबाट देशको विकास सम्भव छैन, यसलाई सच्याउनै पर्छ।”

नेपालीसँग प्रशस्त पैसा छ

उनले नेपाल र नेपाली जनतासँग पैसा छैन भन्ने भ्रम र दुष्प्रचार हटाउन ‘नेपालको पानी, जनताको लगानी’ कार्यक्रम ल्याइएको बताए।

अनलाइन आवदेनबाट मात्रै १५ दिनभित्र साढे २ अर्बको लगानी प्रतिवद्धता आइसकेको जानकारी दिँदै मन्त्री शर्माले ३० अर्बको प्रतिवद्धता आउनासाथ कुनै नाफामुलक आयोजना शुरु गर्ने सोचाई रहेको बताए।  

बिजुली खपतको चिन्ता नगरौं

नेपालमा उत्पादित विजुली कहाँ बेच्ने भनेर कतिपय विज्ञले आफूलाई हैरान पारिसकेको भन्दै उनले यस्तो खाले केटौले चिन्तनले देशको उन्नती नहुने ठोकुवा गरे। १० हजार मेगावाट विजुली अहिले नै स्वदेशमा खपत हुनसक्ने आधार रहेको अवस्थामा बिजुली खपतको चिन्ता दयालाग्दो भएको उनले बताए। मन्त्री शर्माले बिद्युत खपतको नभई उत्पादनको चिन्ता गर्न बिज्ञहरुलाई आग्रह गरे।

जलविद्युत्बाट पन्ध्र वर्षमा नेपाल समृद्ध बन्छ

मन्त्री शर्माले तीव्र गतिमा काम गर्ने हो भने नेपाल १५वर्षमा समृद्ध राष्ट्र बन्न सक्ने धारणा व्यक्त गरे। समृद्ध नेपाल निर्माणको आधार जलविद्युत नै भएको भन्दै उनले राजनीतिक नेतृत्वले दृढ संकल्प गरेर योजना बनाउने हो भने डेढ दशकमै नेपाल विकसित मुलुकमा रुपान्तरण हुने ठोकुवा गरे।

‘नेपालको पानी, जनताको लगानी’ अभियान  फाष्ट ट्रयाकबाट मुलुकको विकास गर्ने कार्यक्रम भएको उनको भनाई छ।

प्रकाशित: १० माघ २०७३ १३:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App