८ मंसिर २०८१ शनिबार
image/svg+xml
मुख्य समाचार

काबुल घटना मानवताविराेधी अपराधः परराष्ट्रमन्त्री

काठमाडौं– उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले अफगानिस्तानको काबुलमा साेमबार बिहान भएको घटनामा परेर १४ नेपालीको ज्यान गएको जानकारी दिएका छन्।

व्यवस्थापिका–संसद्को साेमबारकाे बैठकमा उक्त घटनाको जानकारी दिँदै उनले यस घटनामा परी घाइते भएका पाँच जनाको त्यहाँस्थित अस्पतालमा उपचार भइरहेको बताए।

रोजगारीका सिलसिलामा काबुल पुगेका निहत्था निर्दाेष नेपाली नागरिकमाथि भएको उक्त घटनालाई मानवता विरोधी अपराधको सङ्ज्ञा दिँदै उपप्रधानमन्त्री थापाले घटनाको नेपाल सरकारले घोर भर्त्सना र निन्दा गरेको जानकारी दिए।

त्यहाँस्थित एक बेलायती कम्पनीमा कार्यरत नेपाली कम्पनीबाट क्यानाडेली दूतावासतर्फ जाने क्रममा मिनीबसमा सवार व्यक्तिहरु आज बिहान ५ः४० बजे आक्रमणकारीको आत्मघाती बम हमला परेको मन्त्री थापाले जानकारी दिए।

घटनामा परेर दिवङ्गत भएका नेपालीको शव स्वदेश ल्याउन तथा घाइतेको उपचारलगायतको व्यवस्था मिलाउन पाकिस्तानस्थित कार्यवाहक राजदूतलाई त्यसतर्फ तत्काल जान निर्देशन दिइसकिएको उनले बताए।

उनका अनुसार घटनामा ज्यान गुमाउने नेपालीका परिवारलाई आवश्यक सूचना प्रवाह गर्न तथा अन्य सहयोग पुर्याउन परराष्ट्र मन्त्रालयमा डेक्स स्थापना गरिएको छ।

सरकारले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा गर्न त्यहाँको सरकारको ध्यानाकर्षण गराउनुका अपराधीलाई तत्कालै कानुनी कठघरामा ल्याउन माग गरिएको पनि उनले जानकारी दिए। रासस

प्रकाशित: ६ असार २०७३ १०:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App