१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा युद्धविरामका लागि ईयूको आह्वान

काबुल – युरोपेली संघ (ईयू) का अधिकारीहरुले अफगानिस्तानमा युद्धविरामका लागि आह्वान गरेका छन् । अमेरिकी रक्षामन्त्री मार्क एस्परले अप्रत्याशित रूपमा काबुलको भ्रमण गरेलगत्तै ईयूले युद्धविरामको आह्वान गरेको हो ।

ईयूका अधिकारीहरूले अफगानिस्तानलाई युद्धविराम गर्न आइतबार आह्वान गरेको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना तालिबान विद्रोहीसँगको शान्ति वार्ताको प्रसङ्ग मृतप्रायः भएको आरोप लगाएका थिए ।

तालिबान र अमेरिकाबीच शान्ति वार्ता सम्झौताको अन्तिम अवस्थामा तालिबानको हमलामा परी एक अमेरिकी सैनिक मारिएपछि ट्रम्पले तालिबानसँगको वार्ता स्थगित गरेका थिए ।

अफगानिस्तानका लागि ईयूका विशेष दूत रोलान्ड कोबियाले अमेरिका–तबालिबान वार्ताले युद्धविरामका लागि अवसर प्रदान गर्ने र अफगानिस्तानमा ठूलो परिवर्तन ल्याउने जिकिर गरेका छन् ।

अफगानिस्तानमा १८ वर्षसम्म रहेका अमेरिकी सेना फर्काउने सम्झौताको अन्तिम चरणको तयारी भइरहेको अवस्थामा ट्रम्पले तालिबानसँग वार्ता नहुने घोषणा गरेका थिए । युद्धविराम भयो भने त्यसले तालिबान र अफगान सरकारबीच जारी रहेको हिंसा घटाउन र त्यसको केही समयपछि शान्ति वार्ता गर्नका लागि पनि मार्गप्रशस्त गर्ने अफगान र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले बताएका छन् ।

अफगानिस्तानका लागि ईयूका विशेष दूत रोलान्ड कोबियाले अमेरिका–तबालिबान वार्ताले युद्धविरामका लागि अवसर प्रदान गर्ने र अफगानिस्तानमा ठूलो परिवर्तन ल्याउने जिकिर गरेका छन् । उनले वार्तालाई पुनः सुरु गर्नेबारे छलफल गर्ने पनि बताएका छन् । ‘युद्धविरामका लागि यो उचित र सही क्षण हो । हालका दिनमा अफगानिस्तानमा जारी रहेको हिंसामा सामान्य कटौती मात्र नभएर त्यसको तुलनामा एक कदम अगाडि नै जान सकिने अवस्था र अवसर हो,’ उनले बताएका छन् ।

‘यो युद्धविरामका लागि एउटा अवसर हो र अहिले युद्धविराम हुने अवस्थाको खोजी गरिनुपर्छ । यसलाई अफगानिस्तान सरकार र तालिबान लडाकुले पनि उचित अवसरका रूपमा लिन सक्नुपर्छ,’ काबुलमा पत्रकारहरुसँग कोबियाले बताए ।

संयुक्त राष्ट्र संघ, युरोपेली संघलगायतले युद्धविराम गर्न आग्रह गरे पनि अफगानिस्तानमा निरन्तर हिंसा जारी रहेका छन् । गत शुक्रबार मात्र पनि नान्गाहार प्रान्तस्थित एक मस्जिदमा बम विष्फोट हुँदा कम्तीमा पनि ७० जनाको ज्यान गएको थियो ।

त्यस यता पनि छिटपुट रूपमा हमलाका घटना भइरहेका छन् । अफगानिस्तानमा हिंसा जारी राखेका तालिबान लडाकुले विशेषगरी सुरक्षाकर्मी र सर्वसाधारणलाई निशाना बनाउने गरेका छन् ।

‘अमेरिकी सैनिक फर्किहाल्ने अवस्था छैन’

अफगानिस्तानबाट सिरियामा जस्तो अकस्मात आफ्ना सेना फिर्ता नहुने अमेरिकी रक्षामन्त्री मार्क एस्परले बताएका छन् । अमेरिकाले सिरियाबाट आफ्नो सेनालाई फिर्ता बोलाउने चर्चा चलिरहेका समय अफगानिस्तानबाट पनि अमेरिका फर्किनसक्ने सम्भावनाबारे विभिन्न कोणबाट शंका व्यक्त गर्न थालेपछि अमेरिकी अधिकारीको यस्तो प्रस्टोक्ति आएको हो ।

टर्कीले उत्तरी सिरियामा अमेरिकी समर्थन प्राप्त कुर्दिस समुदायको सुरक्षा इकाईविरूद्ध गत साता पुनः आक्रमण सुरु गरेको केही दिनपछि अमेरिकी राष्ट्रपतिको निर्देशनमा करिब एक हजार सैनिकलाई फिर्ता गर्ने उल्लेख गरिएको थियो । कुर्दिस लडाकुलाई अंकाराले आतंकवादी संगठनका रूपमा हेर्दै आएको छ ।

उत्तरी सिरियाबाट सेना फिर्ता ल्याउने निर्णयलाई अमेरिकी राष्ट्रपति ट्रम्पकै रिपब्लिकन पार्टीसहित डेमोक्र्याटिक पार्टीले पनि आलोचना गरेको छ । कुनै समय आफ्नो सेनालाई सहयोग गरेको कुर्दिस लडाकुमाथिको यस निर्णयले घात हुने भन्दै चर्को आलोचना भइरहेको हो । अमेरिकाले सिरियामा कुर्दिस लडाकुको सहयोगमा इस्लामिक स्टेट (आइएस) जिहादी समूहमाथिको कारबाहीलाई सशक्त बनाएको थियो ।

‘अमेरिकाले अफगान नागरिकसँग अफगानिस्तानमा स्थायी शान्ति र स्थायित्व कायम नहुँदासम्म सघाइराख्ने दीर्घ प्रतिबद्धता प्रकट गरेको छ । त्यसैले अमेरिका अफगानिस्तानबाट यत्तिकै फर्किने छैन,’ अफगानिस्तानमा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को दृढ सहयोग अभियानबारे राजधानी काबुलमा रक्षामन्त्री एस्परले भने, ‘अफगानिस्तान र सिरियामा अमेरिकी नीति पूर्णरूपमा भिन्न छ ।’ अमेरिकाले अफगानिस्तानमा सन् २००१ देखि सैनिक तालिम, हतियारलगायतका आवश्यक सहायता उपलब्ध गराउँदै आएको छ ।

‘हाम्रा सहयोगबाट अफगानिस्तानजस्ता हाम्रा सहयोगीहरूले के बुझ्न जरूरी छ भने अमेरिकाले तालिबान समस्यालाई समाधान नगरी अफगानिस्तानबाट फर्किने छैन,’ उनले बताए ।

प्रकाशित: ५ कार्तिक २०७६ ०२:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App