१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोदीको शपथमा ‘बिमस्टेक’ नेता अतिथि

नयाँ दिल्ली – दोस्रो कार्यकालका लागि आउँदो मे ३० का दिन हुने भारतीय प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा बिमस्टेक नेताहरु अतिथि हुने भएका छन्। एक महिनाभन्दा बढी समयसम्म विभिन्न सात चरणमा सम्पन्न भएको लोकसभा निर्वाचनबाट ठूलो दल र गठबन्धनको नेता भएपछि मोदीले प्रधानमन्त्रीका रूपमा दोस्रो कार्यकाल दोहो-याउँदै छन्। आउँदो मे ३० का दिन मोदीले प्रधानमन्त्री पदको शपथ लिने बताइएको छ। उनको शपथ ग्रहण समारोहमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रका सरकार वा राज्य प्रमुखलाई निम्त्याइने भारतको विदेश मन्त्रालयले जनाएको छ।

बिमस्टेक नेताहरुलाई प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा निम्त्याउनुको अर्थ भारतको ‘छिमेकी पहिले’ अर्थात् ‘नेबरहुड फस्र्ट’ नीतिप्रति सरकारले दिइरहेको ध्यानका रूपमा लिनुपर्ने भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिस कुमारले सोमबार बताएका छन्। उनले निमन्त्रणा बिमस्टेक सदस्य राष्ट्रका नेताबाहेक अन्य देशका नेतालाई पनि गरिएको बताएका छन्। उनका अनुसार किर्गिस्तानका राष्ट्रपति सुरन्बे जिनवेकभ र माउरिसस्का प्रधानमन्त्री प्रविन्द जुगनाउथलाई पनि मोदीको शपथ ग्रहण समारोहमा निमन्त्रणा गरिएको छ।
‘प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहका लागि भारत सरकारले बिमस्टेक सदस्य राष्ट्रका नेताहरुलाई निमन्त्रणा गरेको छ। यो सरकारले

लिइरहेको छिमेकी पहिले भन्ने नीतिप्रतिको केन्द्रीकरण हो,’ प्रवक्ता कुमारलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ। ‘सांघाई कोअपरेसन अर्गनाइजेसनका वर्तमान अध्यक्षसमेत रहेका किर्गिस्तानका राष्ट्रपति र यस पटकको प्रवासी भारतीय दिवसका प्रमुख अतिथि रहेका माउरिसस्का प्रधानमन्त्रीलाई पनि शपथ ग्रहण समारोहमा निमन्त्रणा गरिएको छ,’ उनले बताए।

पहिलो पटक सन् २०१४ मा भारतीय प्रधानमन्त्रीका रूपमा शपथ लिने औपचारिक समारोहमा मोदीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का सदस्य राष्ट्रका नेताहरुलाई निमन्त्रणा गरेका थिए। त्यसबेला तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पनि मोदीको शपथ ग्रहण समारोहमा उपस्थिति जनाएका थिए। तर, यसपटक चुनावको मुखमै पाकिस्तान र भारतबीच तनाव सिर्जना भएका कारण मोदीले सार्क सदस्य राष्ट्रका नेता नभई बिमस्टेक सदस्य राष्ट्रका नेतालाई निमन्त्रणा गर्नुले यस क्षेत्रबाट पाकिस्तानलाई अलग्याउने नीतिलाई मजबुत गरेको हुनसक्ने अनुमान पनि कूटनीतिक क्षेत्रमा भएको छ। बिमस्टेकमा पाकिस्तान सदस्य छैन। बंगलादेश, भुटान, म्यानमार, नेपाल, श्रीलंका, थाइल्यान्ड र भारत सदस्य रहेका छन्।

प्रकाशित: १४ जेष्ठ २०७६ ०५:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App