१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विश्वका नेतालाई चिनियाँ राष्ट्रपति सीको आग्रह

राजधानी बेइजिङमा आयोजित बिआरआई सम्मेलनमा सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ। तस्बिरः एजेन्सी

बेइजिङ – चीनको हालसम्मकै सबैभन्दा ठूलो आयोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई)मा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्व समुदायलाई आग्रह गरेका छन्। उनले आफूले अघि सारेको चीनको महŒवाकांक्षी आयोजनामा सहभागिताका लागि विश्वका अन्य नेतालाई पनि आग्रह गरेको राजधानी बेइजिङबाट प्राप्त भएको समाचारमा जनाइएको छ।

बेइजिङमा जारी बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) सम्मेलनलाई शनिबार सम्बोधन गर्दै राष्ट्रपति चिनफिङले यस्तो धारणा राखेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। उनले चीनको सो परियोजनामा हाल सहभागी रहेकाबाहेकका देशलाई पनि आबद्ध हुन आग्रह गरेको समाचारमा जनाइएको छ। राजधानी बेइजिङमा आयोजित बिआरआई सम्मेलनमा युरोप, अफ्रिका, एसिया, ल्याटिन अमेरिकाका विभिन्न ३७ देशका राज्य तथा सरकार प्रमुख उपस्थित भएका छन्।

तीन दिने सम्मेलनको शनिबारको सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति चिनफिङले भने, ‘हामीले संसारमा खुला अर्थतन्त्रको विकास गर्नुपर्छ र संरक्षणवादको विरोध गर्नुपर्छ।’ सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इटालियन प्रधानमन्त्री गुसेप कान्ट, पाकिस्तानी प्रधानमन्त्री इमरान खानलगायतको सहभाागिता रहेको थियो। सो सम्मेलनमा राष्ट्रपति सीले बिआरआई आयोजनामा चीनले बढीभन्दा बढी देशको सहभाागिता चाहेको र यसबाट विश्वका विभिन्न देश लाभान्वित हुन् भन्ने चाहेको पनि बताएका छन्।

साझा चासो र सबैको आर्थिक विकास चीनले यस आयोजनाबाट चाहेको राष्ट्रपति सीले सम्बोधनका क्रममा बताएको सिन्ह्वाले जनाएको छ। बिआरआईमा धेरै भन्दा धेरै देश एवं कम्पनीको सहभागिता यसमा होस् भन्ने चाहना आफूहरुको रहेको पनि उनले बताए।

विश्वका कतिपय देशले चीनको यो आयोजना महत्वाकांक्षी रहेको र यसबाट चीनले संसारमा आफ्नो प्रभाव र व्यापार विस्तार गर्ने भित्री चाहना राखेको भन्दै व्यापक आलोचना गर्ने गरेका छन्। चीनको उक्त सम्मेलनमा विश्वका विभिन्न ३७ देशका राष्टपति र प्रधानमन्त्री छन् भने विश्वका १४० भन्दा बढी देशको सहभागिता रहेको छ।

बिआरआईलाई चीनले केही वर्षयता ठूलो महत्व दिँदै आएको छ। चीनको राष्ट्रपतिमा सी चिनफिङ निर्वाचित भएदेखि नै यस आयोजनालाई  उनले अन्य आयोजनाभन्दा बढी महत्व दिएर अघि सारेका थिए।

चीनले हरेक दुई वर्षमा यो सम्मेलन गर्दै आएको छ। यस पटक पनि राजधानी बेइजिङमा आयोजित सम्मेलनमा बिआरआई आयोजनाको सम्भाव्यता, यसबाट चीन र अरु विश्वका देशहरुमा पर्ने प्रभाव र फाइदाका विषयमा छलफल जारी रहेको सिन्ह्वाले जनाएको छ।

प्रकाशित: १५ वैशाख २०७६ ०३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App