३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बन्द रहेको सरकारी कार्यालय खोल्ने अस्थायी सहमति

वासिङ्टन –  अमेरिकी इतिहासकै सबभन्दा लामो समयसम्म आंशिक रूपमा बन्द रहेको सरकारी कार्यालय खोल्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी सहमति गरेका छन्। राष्ट्रपति ट्रम्पले खर्चबन्दी अन्त्य गर्नेबारे विधेयकमा हस्ताक्षर गरेसँगै बजेटसम्बन्धी गतिरोध हालका निम्ति अन्त्य भएको हो। अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउनका लागि उनले माग्दै आएको पैसा नपाए पनि सरकारी खर्चबन्दीका कारण ३५ दिनसम्म आंशिक रूपमा बन्द रहेका सरकारी कार्यालय अस्थायी रूपमा खोल्न ट्रम्प सहमत भएको बिबिसीले उल्लेख गरेको छ।

यसअघि उनले अमेरिका–मेक्सिको सीमा पर्खालका लागि आफूले चाहेको पौने ६ अर्ब डलर बजेट नदिएसम्म सरकारी खर्चबन्दी जारी राख्ने चेतावनी दिएका थिए। अमेरिकामा गत नोभेम्बरमा सम्पन्न भएको मध्यावधि निर्वाचनबाट विपक्षी डेमोक्रेट पार्टीले देशको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स्मा बहुमत पुर्‍याएको थियो। संसद्मा बहुमत रहेको डेमोक्रेटले रिपब्लिकन राष्ट्रपति ट्रम्पको योजनालाई अर्थहीन भन्दै बजेट पास गर्न इन्कार गरेपछि ट्रम्पले बजेटमा समेत हस्ताक्षर नगर्दा खर्चबन्दी भएको थियो। जसका कारण ३५ दिनसम्म अमेरिकी संघीय कार्यालय आंशिक रूपमा बन्द भएका थिए। खर्चबन्दीका कारण सरकारी कार्यालय बन्द भएपछि आठ लाखभन्दा बढी संघीय कर्मचारी अमेरिकामा तलबबिनै काम गर्न बाध्य भएका थिए।  दुवै पार्टीका नेताहरूको पटकपटको छलफलपछि सिनेटले एकमतले सरकारी निकायहरूलाई तीन सातासम्म कोष उपलब्ध गराउने कानुन पारित गरेको छ। सीमा सुरक्षाबारे भने कुराकानी जारी रहने बताइएको छ।

पछिल्लो सहमतिअनुसार आगामी तीन सातासम्म संघीय निकायहरूलाई कोष उपलब्ध हुनेछ। यद्यपि अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल बनाउनका लागि भने कुनै कोष छुट्याइएको छैन। गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने अवैध आप्रवासीलाई रोक्न अमेरिका–मेक्सिको सीमामा पर्खाल आवश्यक भएको ट्रम्पले बताउँदै आएका छन्। ट्रम्पले पर्खाल अत्यन्तै आवश्यक रहेको भन्दै पर्खाल बनाउन चाहिने ५.७ अर्ब डलर नराखिकन संसद्ले पारित गर्ने कुनै पनि बजेटसम्बन्धी कानुन अस्वीकार गर्ने अडान राखेका थिए। तर तल्लो सदनमा निर्णायक हैसियतमा रहेका विपक्षी डेमोक्रेटले उक्त मागलाई ठाडै अस्वीकार गर्दै आएका थिए।

शुक्रबार सिनेट र प्रतिनिधिसभाले खर्चबन्दीलाई अस्थायी अन्त्य गर्ने विधेयक एकमतले पारित गरेका हुन्। पछिल्लो समय सार्वजनिक भएका जनमतमा अधिकांश अमेरिकी नागरिकले खर्चबन्दीका लागि ट्रम्पलाई दोषी मानेको देखाएका कारण पनि ट्रम्प आफ्नो पूर्ववर्ती अडानबाट पछि हटेको हुनसक्ने अनुमान गरिएको छ। खर्चबन्दी अन्त्यको उपलब्धी विपक्षी नेता तथा प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीका लागि विजय मानिएको छ। ट्रम्पका सामु अडान नछाडेकोमा पार्टीभित्र उनको निकै प्रशंसा भएको बताइएको छ। उनी क्यालिफोर्निया राज्यबाट निर्वाचित संसद् सदस्य हुन्। उनी यसअघि पनि सभामुख भइसकेकी व्यक्ति हुन्। आफूसँगको विवादपछि खर्चबन्दी जारी रहेको भन्दै राष्ट्रपति ट्रम्पले उनको विदेश भ्रमणसमेत रोकिदिएका थिए।

उनले पनि खर्चबन्दीलाई कारण देखाउँदै राष्ट्रपतिलाई वार्षिक ‘स्टेट अफ द युनियन’ सम्बोधनपछि सार्न भनेकी थिइन्। यसैबीच आशिंक रूपमा बन्द रहेका संघीय कार्यालय खुलेका कारण कर्मचारीहरूलाई सघाउ पुगे पनि यदि तीन साताभित्र कुनै विस्तृत सम्झौता नभए पुनः अर्को खर्चबन्दी हुन सक्ने अनुमान गरिएको छ।  त्यसैगरी ट्रम्पले पटकपटक चेतावनी दिएजस्तै राष्ट्रिय संकट घोषणा हुन सक्छ वा यो मुद्दा अदालतसम्म पुग्न सक्छ। तत्कालका लागि ट्रम्प पछि हटेजस्तो देखिए पनि संसद् र ट्रम्पबीचको युद्ध भने सकिएको छैन।

प्रकाशित: १३ माघ २०७५ ०६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App