४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्डोनेसियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या चार सय नाघ्यो

इन्डोनेसियाको तटीय सहर सुलावेसीमा शुक्रबार गएको ७.५ म्याग्निच्युडको भूकम्पका कारण भत्किएको घर । तस्बिर : एजेन्सी

जकार्ता – इन्डोनेसियाको तटीय सहर सुलावेसीमा शुक्रबार गएको ७.५ म्याग्निच्युडको भूकम्पपपछिको शक्तिशाली सुनामीमा परी मृत्यु हुनेको संख्या चार सय नाघेको छ । 

भूकम्प र त्यसपछिको सुनामीका कारण सयौं घाइते भएको इन्डानेसियाको प्रकोप नियन्त्रण निकायका अधिकारीले शनिबार जानकारी दिएका छन्। घाइतेलाई विभिन्न अस्पताल भर्ना गरिएको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले बताए। ‘यस प्राकृतिक प्रकोपका कारण ठूलो मात्रामा भौतिक सम्पत्तिसमेत क्षति भएको छ,’ पत्रकार सम्मेलनमा प्रवक्ता नुग्राहोले बताए। 

भूकम्पपछि आएको छ मिटरसम्मको सुनामीको छाल सुलावेसी टापु हुँदै तटीय सहर पालु पुगेको थियो। बिदा मनाउन सयौंको संख्यामा पालुको तटमा मानिसहरु भेला भएका थिए। सोही बेला भूकम्पपछिको सुनामीको छाल त्यहाँ पुगेको थियो, जसका कारण सयौं मानिसलाई बगाएको थियो र सो तटमा रहेको सबै चिजलाई ध्वस्त बनाएको थियो। 

‘जब सुनामीको चेतावनी हिजो उत्पन्न भयो त्यसबेलमा सामुद्रिक तटमा मानिसहरु आ–आफ्नो गतिविधिमा रमाइरहेका थिए र तत्कालै उनीहरु भागेनन् र पीडित बने,’ प्रवक्ता सुटोपो पुर्वो नुग्राहोले राजधानी जकार्तामा आयोजना गरेको संक्षिप्त पत्रकार सम्मेलनमा बताए। 

‘सुनामी आफैमात्रै आएको थिएन, त्यसले कारहरु, काठका मुढा, घरहरु र जमीनमा रहेका सबै चिजलाई ध्वस्त बनायो,’ नुग्राहोले बताए। केही मानिसहरुले छ मिटर लामो रुखमा चढेर सुनामीबाट आफूलाई बचाएको प्रवक्ता नुग्राहोलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ। टेलिभिजनले देखाएको शोकमग्न भिडियो फुटेजमा पालुको तटीय क्षेत्रमा रहेका घरहरुलाई सुनामीको छालले बगाएको देखिएका छन्। सुनामीको छालले जहाजका कन्टेनर छरिएको देखिएका छन् भने सहरमा रहेको मस्जिदमा पनि बाढी आएको देखिएको छ। त्यसैगरी सामाजिक सञ्जालमा राखिएका भिडियोमा मानिसहरु आत्तिएर चिच्याइरहेको अनि भागिरहेको देखिएका छन्। पालुका विभिन्न २४ वटा केन्द्रमा करिब १६ हजार सात सय मानिस उद्धार गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ। 

मृतकको संख्या बढिरहेको छ
शुक्रबारको भूकम्पछि शनिबारसम्म पराकम्पन आइरहेको छ। भूकम्पका कारण करिब २४ लाख मानिस प्रभावित भएको बताइएको छ। 

भूकम्प र त्यसपछिको सुनामीले ल्याएको विनास अत्याधिक भएको प्रवक्ता नुग्राहोले बताएका छन्। उनले भूकम्पका कारण हजारौं घर, अस्पताल, सपिङ मल र होटल भत्किएको जानकारी दिएका छन्। भूकम्प र सुनामीका कारण एउटा पुल बगाएको छ भने पहिरोका कारण पालु जोड्ने मुख्य राजमार्ग पनि भत्किएको छ। भत्किएका भवनको भग्नावशेषमा केही पीडितको शरीर रहेको पनि उनले जानकारी दिएका छन्। 

अस्थायी शिविरमा बनाइएको उपचार केन्द्रमा दर्जनौंको उपचार भइरहेको टेलिभिजनमा देखाइएको छ। नुग्राहोले पालुबाट उत्तरतर्फ करिब तीन सय किलोमिटर पर रहेको र भूकम्पको केन्द्रविन्दु नजिकैको तटीय क्षेत्र जसलाई दोङगाला भनिन्छ सो क्षेत्रमा झनै बढी हताहती र ध्वंस भएको हुनसक्ने बताए। 

भूकम्पका कारण सञ्चार सम्पर्क पूर्ण रूपमा टुटेको बताइएको छ। ‘दोङगालाबाट सञ्चार सम्पर्क हुन सकेको छैन,’ प्रवक्ता नुग्राहोले बताए। दोङगाला र पालुमा करिब छ लाख मानिस बसोबास गरिरहेका छन्। ‘हामीले पालुमा भएको क्षतिको बल्ल सीमित जानकारी पाएका छौं तर दोङगालाबाट केही पनि जानकारी प्राप्त भएको छैन, जुन चिन्ताको विषय हो। त्यस क्षेत्रमा मात्रै तीन लाख भन्दा बढी मानिस बसोबास गर्छन्,’ रेडक्रसले जारी गरेको विज्ञप्तिमा भनिएको छ। आफ्ना कर्मचारी र स्वयंसेवकहरु भूकम्प र सुनामी प्रभावित क्षेत्रमा जाँदै गरेको रेडक्रसले जनाएको छ। ‘यो अत्यन्तै दुःखद् घटना हो र अझै ठूलो संख्यामा मानिसको मृत्यु भएको समाचार आउन सक्छ,’ रेडक्रसको विज्ञप्ति उद्धृत गर्दै रोयटर्सले जनाएको छ। इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले पनि मृतकको संख्या हजारौंसम्म पुग्न सक्ने बताएका छन्। 

प्रशासनको कमजोरी
भूकम्प गएलगत्तै इन्डोनेसियाको मौसमसम्बन्धी विभागले सुनामीको चेतावनी जारी गरेको थियो तर त्यसको ३४ मिनेटपछि नै सो चेतावनी फिर्ता लिएको थियाे।

चेतावनी जारी गरेकै समयमा सुनामी आएको भन्दै पालुलाई सुनामीले प्रभावित पा-यो भन्नेबारे जानकारी नगराएको भन्दै शनिबार इन्डोनेसियाली मौसम विभागको आलोचना भएको छ। भूकम्प र सुनामीका कारण भएको क्षतिले गर्दा पालुमा उद्धार एवं राहतको काम गर्न कठिन भइरहेको अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

प्रकाशित: १४ आश्विन २०७५ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App