१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मन्दिरमा पशुबलि निषेध

कोलम्बो (बिबिसी) – श्रीलंकाली सरकारले देशभित्र रहेका सबै हिन्दू मन्दिरमा पशुबलि प्रतिबन्ध गर्ने विषयमा सहमति व्यक्त गरेको छ।

सरकारको सहमतिपछि अब श्रीलंकाका हिन्दू मन्दिरहरुमा पशु तथा पंछीबली प्रतिबन्धित हुने छ।

श्रीलंकाको हिन्दू धार्मिक मन्त्रालयले पशुबलि प्रतिबन्ध गर्ने प्रस्ताव गरेको र त्यसलाई अधिकांश उदार हिन्दू समूहले समर्थन गरेको सरकारका प्रवक्तालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । धार्मिक विश्वासअन्तर्गत् श्रीलंकाका केही हिन्दूले मन्दिरमा बोका, पाडा र कुखुराको बलि चढाउने गरेका छन् । बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको श्रीलंकामा पशुबलिलाई ‘अमानवीय’ भन्दै लामो समयदेखि त्यसको विरोध हुँदै आएको छ। कतिपय हिन्दू र मुस्लिम पर्वहरुमा रगत बगाएर पशुपंक्षीको बलि दिने चलन रहेको छ । पशुबलि दिने कार्यलाई लिएर लामो समयदेखि पशु अधिकारवादी र बौद्ध समूह आक्रोशित हुने गरेका छन् । श्रीलंकामा धेरै हिन्दू धर्मावलम्बीले पशुपंक्षी बलि दिने प्रथा छोडिसकेको भए पनि यो प्रथाको अभ्यास गर्दै आएकाहरुले भने सरकारको पछिल्लो प्रतिबन्धले आफ्नो धार्मिक स्वतन्त्रताको हनन हुने तर्क गरेको बिबिसीले उल्लेख गरेको छ ।  आफ्नो परम्परामा प्राचीन समयदेखि नै बलि प्रथा चलेर आएकाले त्यसलाई निरन्तरता दिन पाउनु पर्ने उनीहरूको माग रहेको छ । श्रीलंकामा ल्याइएको पशुबलिसम्बन्धी नयाँ कानुनले मुसलमानको परम्परालाई भने नछुने बताइएको छ । श्रीलंकामा मुसलमान तेस्रो ठूलो समुदायका रूपमा बसोबास गर्दै आएका छन्।

बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको श्रीलंकामा केही केही वर्षयता धार्मिक हिंसाका घटनामा वृद्धि भइरहेका छन् । यसै वर्षको मार्च महिनामा भएको मुसलमानविरोधी दंगामा श्रीलंकामा तीन जनाको मृत्यु भएको थियो । त्यति बेला मुसलमानको स्वामित्वमा रहेका झन्डै चार सय ५० घर र पसल क्षतिग्रस्त भएका थिए।

प्रकाशित: २९ भाद्र २०७५ ०४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App