२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मादागास्करमा आँधीले ३७ जनाको मृत्यु

मादागस्कर  – अफ्रिकी मुलुक मदागस्करमा सोमबार राति आएको आँधीका कारण कम्तिमा २० जनाको मृत्यु भएको अधिकारीले बताएका छन्।

सोमबारको आँधीमा कम्तिमा २० जना र आइतबारको आँधीमा परी कम्तिमा १७ जनाको मृत्यु भएको सुरक्षा अधिकारीले बताएका छन्। दुवै दिनको आँधीमा परी करिब ३५ हजार मानिस घरबारविहीन भएका छन्।

इलियाकिम नाम दिइएको आँधी मादागस्करको मासोला प्रायद्वीपबाट केही दिन पहिले सुरु भएको भए पनि विगत ४८ घण्टामा यसले निकै प्रभाव पारेको थियो। आँधीको प्रभाव क्रमशः शान्त बन्दै गएको यहाँको मौसम विज्ञान अध्ययन विभागले बताएको छ।

विश्वको गरिब मुलुकमध्येको एक मादागस्करमा चक्रावत आँधी तथा उष्णदेशीय तुफानका कारण हजारौं मानिस प्रभावित हुने गरेका छन्।

यही बर्षको जनवरीमा आएको आभा नामक आँधीका कारण अफ्रिकी उक्त मुलुकमा ५१ जनाको निधन भएको थियो भने गत बर्षको मार्चमा पनि ७८ जनाले ज्यान गुमाएका थिए।

प्रकाशित: ७ चैत्र २०७४ ०२:२८ बुधबार