१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दक्षिण कोरियाले प्याङयोङ पठायो विशेष दूत

सोल – दक्षिण कोरियाका राष्ट्रपति मुन–जाए इनको विशेषदूतका रुपमा दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा सल्लाहकारले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन्।

दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसलाई उद्धृतगर्दै सरकारी समाचार संस्था योनहापले जनाएअनुसार सोमबार नै पाँच सदस्यीय एक प्रतिनिधिमण्डलले उत्तरको भ्रमण गर्ने भएको छ। सो भ्रमणदलमा दक्षिण कोरियाको गुप्तचर विभागका प्रमुख पनि रहने छन्। 

दक्षिण कोरियाली राष्ट्रपति इनका राष्ट्रिय सुरक्षा सल्लाहकार चुङ यी योङ्को नेतृत्वमा रहने पाँच सदस्यीय अधिकारीहरुको प्रतिनिधिमण्डल सो भ्रमण दलमा रहने राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जानकारी दिएको छ। 

उत्तर कोरियाले दुई देशबीच उच्चस्तरीय बैठकका लागि प्रस्ताव गरिसकेको छ। तर सो बैठक अहिले नै गर्नु अलिक चाँडो हुनसक्ने प्रतिक्रिया दक्षिण कोरियाली राष्ट्रपति इनले दिएका थिए।

हालैमात्र पनि उत्तर कोरिया दक्षिण कोरियासँग विनाशर्त वार्ता गर्न इच्छुक रहेको कुरा बाहिर आएको थियो। तर त्यस विषयमा दक्षिणको कुनै प्रतिक्रिया भने आएको छैन। 

यही फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा यी दुई देशका प्रतिनिधिको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुश गरिएको छ। 

यस खेलकूदको उद्घाटन र समापन समारोहका क्रममा उत्तर कोरियाले आफ्नो देशको तर्फबाट उच्चस्तरीय प्रतिनिधि दक्षिण कोरिया पठाएको थियो। ती प्रतिनिधिहरुबाट भएका वार्ता र भ्रमण आदानप्रदानबाट यी दुई देशबीच सम्बन्धमा सुधार आएको पाइएको समाचारमा जनाइएको छ। 

यसै खेलकूदका समयमा विकसित सम्बन्धका कारण उत्तर कोरियाको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डलले अमेरिकी अधिकारीसँग पनि भेटवार्ता गर्न चाहेको समाचार पनि हालै सार्वजनिक भएको थियो। 

त्यसैगरी केही दिनअघिमात्र पनि दक्षिण कोरियाली राष्ट्रपति इन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पनि फोनवार्ता भएको पनि समाचारमा आएको थियो। 

सो वार्ताका क्रममा कोरियाली राष्ट्रपति मुनले उक्त ओलम्पिक खेलकूद, त्यसको समापन, सो खेलकूदका कारण उत्तर र दक्षिण कोरियाबीच बढ्दो सम्बन्ध र पछिल्लो कार्यकारी तहका अधिकारीहटरुबीचको वार्तामा भएको प्रगतिका बारेमा जानकारी गराएका थिए। 

सो फोनवार्ताका क्रममा उनीहरुबीच उत्तर कोरियालाई निशस्त्रीकरणका लागि सहमत गराउने र उसँग शान्तिवार्ताका लागि आवश्यक पहल गर्ने विषयमा पनि कुराकानी भएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्युहाउसले भनेको छ। 

दक्षिण कोरियामा आयोजना भएको यस शीतकालीन खेलकूदका कारण उत्तर र दक्षिण कोरियाकासाथै उत्तर कोरियाको अरु देशसँगको सम्बन्धमा पनि सुधारको संकेत देखिएको अनुमान गरिएको छ। 

प्रकाशित: २० फाल्गुन २०७४ १६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App