सोल – आगामी हप्ता उत्तर र दक्षिण कोरियाबीच वार्ता हुने भएको छ। यी दुई देशबीचका कार्यगत समूहका अधिकारीबीच सो वार्ता हुन लागेको बताइएको छ।
उक्त द्विपक्षीय वार्तामा अधिकारीहरुले उत्तर कोरियामा हालैमात्र भएको शीतकालीन ओलम्पिक खेलकूदको बारेमा समीक्षा गर्नुकासाथै दुई देशबीच आगामी दिनमा हुने भनिएको द्विपक्षीय उच्चस्तरीय वार्ताको तयारीको बारेमा पनि कुराकानी हुने भएको बताइएको छ।
सो कुराको जानकारी दक्षिण कोरियाको राष्ट्रिय एकता मन्त्रालयले शुक्रबार दिएको छ। उक्त मन्त्रालयका अनुसार सो वार्ता आगामी मङ्गलबारका लागि तय गरिएको छ।
सो वार्ताका लागि दक्षिण कोरियाले उत्तरलाई पत्र पठाएको थियो। उत्तर कोरियाले सो पत्रमा आजैमात्र सहमति जनाएको पनि सो मन्त्रालयले जानकारी दिएको हो।
उक्त वार्ता उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको पानमुनजोममा आगामी मङ्गलबार अर्थात् फेब्रुअरी २८ मा विहान १० बजेबाट सुरु हुने भएको बताइएको हो।
सो वार्ताका लागि दुई कोरियाका तर्फबाट अधिकारीहरु अन्तर कोरियाली विभागका महानिर्देशकहरुको सहभागिता रहने बताइएको छ।
यस वार्ताका लागि दक्षिण कोरियाले तीन सदस्य पठाउने छ भने उत्तरका लागि पनि त्यनि नै संख्यामा सदस्यहरु आउने छन्।
यस वार्ता टोलीले हालै भएको शीतकालीन ओलम्पिकको समीक्षाका साथै आगामी दिनमा यी दुई देशबीच हुन लागेको भनिएको उच्चस्तरीय वार्ताको बारेमा पनि कुराकानी हुने बताइएको छ।
प्रकाशित: ११ फाल्गुन २०७४ १५:४१ शुक्रबार