१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामाथि परमाणु आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी

उत्तर कोरिया- अमेरिकाले सैनिक कारबाही गरे त्यसको प्रतिकार गर्न उत्तर कोरिया पछाडी नहट्ने सरकारी अधिकारीहरुले बताएका छन्। उत्तर कोरियाका उपविदेश मन्त्री ह्याङ सोङ योले अमेरिकाले उत्तर कोरियाविरुद्ध सैनिक आक्रमण गरे तत्कालै अमेरिकामाथि परमाणु हमला गर्ने चेतावदी दिएको बीबीसीले जनाएको छ।

उनले साप्ताहिक, मासिक र वार्षिकरुपमा उत्तर कोरियाले गर्ने गरेको क्षेप्यास्त्र परीक्षण जारी राख्ने बताए। अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाले परमाणु परीक्षणको कार्यक्रमलाई निरन्तरता दिएर अमेरिकी रणनीतिक धैर्यरता समाप्त गरेको बताए।

उत्तर कोरिया र अमेरिकाको चेतावनीले दुई देशबीचको विवाद बढ्दै गएको छ। उत्तर कोरियाली विदेश मन्त्रीले अमेरिकाले सैनिक कारबाही गर्ने तयारी गरे उत्तर कोरियाले शान्त शैलीका परमाणु आक्रमण गर्ने बताए। उत्तर कोरियाले गरेको परमाणु परीक्षणपछि उसले अन्तर्राष्ट्रिय र राष्ट्रसंघीय आलोचनासमेत खप्नु परेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको परीक्षा नलिन अमेरिकी विदेश मन्त्रीले उत्तर कोरियालाई पटक पटक आग्रह गर्दै आएका छन्। राष्ट्रपति ट्रम्पले सिरिया र अन्य देशहरुप्रति चालेको कदमले नै अमेरिकाको शक्ति प्रदर्शन भइसकेको अमेरिकी विदेश मन्त्रीले बताए। अमेरिकाको साथमा दक्षिण कोरिया पनि हुने उनले उल्लेख गरेका छन्।

उत्तर कोरियाली गतिविधिले अमेरिकालाई उत्तेजक बनाएको पनि उनले बताए। राष्ट्रसंघमा सोमबार भएको पत्रकार सम्मेलनमा उत्तर कोरियाका प्रतिनिधिहरुले सिरियामा अमेरिकाले गरेको हवाई हमलाको निन्दा गरे। उनीहरुले अमेरिकाले अन्तर्राष्ट्रिय रुपमा शान्ति खल्बलाउने कार्य गरेको बताएका थिए।

चीनले भने शान्तिपूर्णरुपमै उत्तर कोरियालाई सबै परमाणु परीक्षण रोक्नका लागि आग्रह गरेको थियो। रुसले भने अमेरिकाले उत्तर कोरियामाथि गर्ने भनेको सैनिक कारबाहीले भयावह स्थिति सिर्जना गर्नसक्ने बताउँदै आएको छ। जापानी प्रधानमन्त्रीले भने कूटनीतिकरुपमा समस्याको समाधान खोज्नुपर्नै बताएका छन्। उनले जापानले यस विषयमा उत्तर कोरियाली सरकारलाई दबाब दिने बताए।

प्रकाशित: ५ वैशाख २०७४ ०६:०५ मंगलबार

अमेरिकामाथि परमाणु आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी