४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘अखण्ड भारत’ को भित्ते चित्रप्रति पाकिस्तान सरकारको आपत्ति

पाकिस्तान सरकारले भारतको नवनिर्मित संसद् भवनको भित्ताका अङ्कित ‘भित्ते चित्र’मा राखिएको ‘अखण्ड भारत’को नक्साप्रति आपत्ति जनाएका छ।

पाकिस्तानले यसलाई भारतको ‘अधिपत्यवादी र विस्तारवादी महत्त्वाकाङ्क्षा’ र ‘संशोधनवादी र विस्तारवादी मानसिकताको अभिव्यक्ति’ भनेको छ। शुक्रवार पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन।

'हामीले नयाँ दिल्लीको नयाँ संसद् भवनमा स्थापित भित्ताको बारेमा रिपोर्टहरू देख्यौँ। भित्ते चित्रमा तथाकथित प्राचीन भारतलाई चित्रण गरिएको छ, जसमा अहिले पाकिस्तान र अन्य क्षेत्रीय देशहरूको भागहरू समावेश छन्। ‘अखण्ड भारत’ (एकीकृत बृहत्तर भारत) सँग जोडेर केन्द्रीय मन्त्रीलगायत भाजपाका केही राजनीतिज्ञहरूले गरेका कथनबाट हामी छक्क परेका छौँ’, विदेश मन्त्रालयबाट शुक्रवार जारी विज्ञप्तिमा भनिएको छ, ‘अखण्ड भारत’ को अनावश्यक दाबी संशोधनवादी र विस्तारवादी मानसिकताको अभिव्यक्ति हो जसले भारतका छिमेकी राष्ट्रहरूको मात्र होइन आफ्नै धार्मिक अल्पसङ्ख्यकहरूको पहिचान र संस्कृतिलाई पनि वशमा पार्न खोज्छ।’

विदेश मन्त्रालयले अखण्ड भारतको विचारलाई भारतका सत्तारुढ दलसँग सम्बन्धित व्यक्तिहरूले जबरजस्ती रूपमा अघि बढाउनु गम्भीर चिन्ताको विषय भनेको छ।

‘भारतीय राजनीतिज्ञहरूलाई आफ्नो विभाजनकारी र सङ्कुचित राजनीतिक एजेन्डालाई अगाडि बढाउन अन्य देशहरू विरुद्ध बयानबाजी नगर्न राम्रो सल्लाह दिइएको छ। आधिपत्यवादी र विस्तारवादी महत्त्वाकाङ्क्षालाई पोषित गर्नुको सट्टा भारतले आफ्ना छिमेकीहरूसँगको विवाद सुल्झाउनुपर्छ र शान्तिपूर्ण र समृद्ध दक्षिण एसिया निर्माण गर्न उनीहरूसँग मिलेर काम गर्नुपर्छ’, विज्ञप्तिमा भनिएको छ।

भारतीय संसद्को भित्तामा अङ्कित ‘अखण्ड भारत’को उक्त नक्साप्रति नेपालका केही दलका राजनीतिक सङ्गठनहरूले पनि उक्त चित्रमा नेपालका कपिलवस्तु र लुम्बिनीको नाम समेत समावेश भएको भन्दै विरोध जनाइरहेका छन्। यद्यपी यसबारे नेपाल सरकारको आधिकारिक धारणा आइसकेको छैन।

प्रकाशित: १९ जेष्ठ २०८० १०:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App