१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कैदी बिनाका जेल

संसारभरिका जेल कैदीले भरिएका छन् । दिनदिनै जेलमा कैदीहरुको संख्या बढ्दै जाँदा जेलको व्यवस्थापन दिनानुदिन खस्किँदै जान थालेको छ । अमेरिका, भारत, बेलायत र नेपालमै पनि जेलमा राख्नुपर्ने उचित संख्याभन्दा बढी कैदीहरु कोचिएर बस्न बाध्य छन् । अमेरिकामा त संसारकै सबैभन्दा बढी कैदीहरु जेलमा कोचिएको भन्दै द इकोनमिस्ट पत्रिकाले २०१५ ताका कभर स्टोरी नै बनाएको थियो ।

जेलको व्यवस्थापनका लागि अमेरिकाले उचित लगानी गर्न नसकेको भन्दै पत्रिकाले आलोचना गरेको थियो । बिबिसीको एउटा आलेखअनुसार भारतीय जेलमा साढे तीन लाख कैदी राख्न सक्न सक्ने क्षमता छ तर चार पच्चिस हजारभन्दा बढी कैदी दुःखसुख बसिरहेका छन् । भनाइको अर्थ जेलको क्षमताभन्दा ११४ प्रतिशत बढी कैदीहरु जेलमा ठँुसिएका छन् । भारतका दादर र नागरजस्ता ठाउँमा क्षमताको तुलनामा २७७ प्रतिशत र माओवादी आन्दोलनका कारण छत्तीस गढ राज्यका जेलमा ३२४ प्रतिशत कैदीहरु जेनतेन बाँचिरहेका छन् ।

अर्कोतर्फ नेदरल्यान्डमा भने जेलहरु खालीखाली छन् । प्रहरी र अदालतका कारण यति कम कैदी जेलमा छिरिरहेका छन् कि केही वर्षयता त १९ वटाभन्दा बढी जेललाई बन्द गर्नुपर्ने अवस्था आइपुगेको छ । त्यहाँको गृहमन्त्रालयको आँकलनअनुसार आउँदा वर्षहरुमा अझै केही जेलहरु बन्द हुने सम्भावना बढेर गएको छ ।

एक दसकसम्म अवस्था यस्तो थिएन । नेदरल्यान्डका जेलमा पनि ठूलो संख्यामा कैदी थिए र जेल जानेहरुको संख्या तुलनात्मक अध्ययन गर्दा युरोपभरिमा सबैभन्दा बढी जेल जानेहरुमा उनीहरु नै थिए । यतिबेला भने प्रति एक लाख व्यक्तिमध्ये ५७ जना मात्र जेलमा छन् । तुलना गरी हेर्दा बेलायत र वेल्सको तुलनामा यो निकै कम हो । बेलायतभरिमा एक लाख जनसंख्यामध्ये १४८ जनाले जेलको हावा खाने गरेका छन् ।

उसो भए प्रश्न उठ्छ– नेदरल्यान्डले के त्यस्तो जादू ग¥यो, जसका कारण जेल जानेहरुको संख्यामा यति कमी हुन थाल्यो ! एउटा ठूलो कारण चाहिँ कैदीलाई सुधार्नका लागि गरिएका प्रयासहरु नै हुन् । तर नेदरल्यान्डमा अपराध कम गर्ने यो मात्र एउटा कारण भने होइन ।

सन् २००५ यता नेदरल्यान्डमा कैदीहरुको संख्या १४,४६८ बाट घटेर ८ हजार २ सय ४५ मा झरेको छ । यसको अर्थ कैदीको संख्या ४३ प्रतिशतले कम भएको छ । सन् २००५ मा नेदरल्यान्डले ठूलो मात्रामा लागू औषध तस्करलाई पक्राउ गरेको थियो । जसका कारण धेरै कैदीको संख्या देखिएको मात्र हो तर वास्तवमा त्यति पनि जेलजीवन बिताउनेहरु हुने थिएनन् ।

क्रिमिनल लका प्राध्यापक पोलिन स्कटका अनुसार नेदरल्यान्डको प्रहरीको प्राथमिकता लागू औषधमा मात्र सीमित छैन । उनी भन्छिन्, ‘लागू औषधबाहेक मानव तस्करी, चरमपन्थीजस्ता अहिलेका ताजा मुद्दामा पनि केन्द्रित हुन थालेको छ ।’

नेदरल्यान्डमा न्यायाधीशले प्रायः कैदीलाई जेल सजाय दिनुभन्दा समाजसेवा र जरिवानाजस्ता सजाय दिने गरेका छन् । नेदरल्यान्डमा जेलको व्यवस्था हेर्ने निर्देशक एन्जेलिन वान डेकका अनुसार जेलमा मात्र तिनीहरुलाई पठाइन्छ, जो बाहिरी संसारका लागि खतरनाक हुन्छ । जो खतरनाक देखिँदैन, उसलाई जेलमा हाल्नु उचित नहुने नीति अख्तियारीपछि स्वात्तै जेल जानेहरुको संख्या घटेको हो ।

पोलिन भन्छिन्, ‘कहिलेकाहीँ जेलभित्र बसेर सजाय काट्नुभन्दा जेलबाहिरै रहेर परिवारसँग समय बिताउँदै र कामधन्दा गर्दैै सजाय काट्नु धेरै अर्थमा उपयुक्त हुन्छ ।’ सोही सिद्धान्तमा आधारित रहेर नीति लागू गर्दा त्यसका राम्रा परिणामहरु समेत देखिएको उनको धारणा छ । उनी भन्छिन्, ‘हाम्रो देशमा त्यसै पनि गम्भीर अपराधबाहेकका अन्य अपराधमा कम समयको सजाय हुन्छ । हामीले लिएको नीतिका कारण पनि अपराधको दर कम हुँदै गइरहेको छ । त्यसैले जेलहरुमा कैदीको संख्या कम हुनु स्वाभाविक पनि हो ।’

तर केही विश्लेषकहरु भने जेल नभरिएका कारण अपराध कम हुने दलील मान्न तयार छैनन् । गएका आठ वर्षमा नेदरल्यान्डमा २५ प्रतिशतले आपराधिक घटनामा कमी आएको छ । जेल बजेट कम गर्नका लागि सरकारले जानीबुझी यस्ता नीति ल्याइरहेको छ, जसका कारण अपराध कम भइरहेको देखिएको हो । वास्तवमा प्रहरी वा सरकारले देखाएजस्तो अपराध कम हुनै सक्तैन । प्रहरी कार्यालय, जेल र अन्य कानुन कार्यान्वयन इकाइमा भइरहेको कम लगानी वा तिनीहरु बन्द गर्ने नीतिका कारण सरकारसमक्ष अपराध दर्ता हुने क्रम कम भएकाले अपराधको संख्या घटेको केहीको दाबी छ ।

 

प्रकाशित: १ मंसिर २०७३ ०४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App