१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

थारु समयुदायमा विकराल बन्दै सिकलसेल

पश्चिम तराईका थारु समुदायलाई वंशानुगत सिकलसेल एनिमिया र थालेसेमिया रोग बढ्दै गएको छ। सिकलसेलबाट सन्तानलाई बचाउनका लागि अनिवार्य रूपमा रगतजाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको हो।

अन्य समुदायमा पनि फाट्टफुट्ट देखिन थालेको सिकलसेल रोग रोकथामका लागि थारू समुदायलाई रगतजाँच गरेर विवाह कुण्डली मिलाउन विशेषज्ञ डाक्टरहरुले सुझाव दिएका छन्। यतिबेला बाँकेका थारू गाउँहरुमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने पम्प्लेट नै छ्याप्छ्याप्ती बाँडिएको छ।

सिकलसेल विशेषज्ञ डा.राजन पाण्डेले तयार पारेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी–बिरामीका बीचमा विवाह गर्नै नमिल्ने उल्लेख छ। पचास प्रतिशत बिरामी र पचास प्रतिशत बाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ। २५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्दापनि सोच विचार गर्नुपर्ने भनिएको छ।

सामान्यतया विवाह गर्दा चिना हेर्ने गरिन्छ तर थारू समुदायमा भने रगत जाँच गर्नुपर्ने भएको छ। सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाह पूर्व नै रगत जाँच गरी बाहकहरु पत्ता लगाएर बाहक–बाहकबीच र बाहक र रोगीबीच विवाह गर्नु हुँदैन भन्ने कुरा समुदायलाई सिकाएर ससमुदायले स्विकार्न जरुरी रहेको भेरी अस्पताल बाँकेका फिजिसियन मेडिकल विभागका विभागीय प्रमुख तथा सिकलसेल, थालेसिमिया रोगका श्रोत व्यक्ति डा.राजन पाण्डले बताए।

उनले पचास प्रतिशत सामान्य र पचास प्रतिशत बाहकका बीचमा विवाह गर्न मिल्ने उल्लेख गरे। अहिले रोग नदेखिएपनि उनीहरुबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भन्ने गरिएको भन्दै उनले यसका बारेमा थारु समुदायलाई सचेत गराउन आवश्यक रहेको बताए।

स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले बिरामी र बाहक पत्ता लगाएर समुदायमा सचेतनाका जगाउने काम भइरहेको बताए। बाँकेको थारू बाहुल्य गाउँमा यतिबेला बिरामी र बाहक पत्ता लगाउने काम भइरहेको छ। उनले समुदाय स्तरमा देखिन थालेको सिलसेलको बारेमा नियन्त्रण र रोकथामाका निम्ति समुदायमा नै पुगेको चेकजाँच भइरहेको बताए।

बिरामीका आफन्तहरु भने उपचारमा धेरै खर्च लाग्ने हुँदा सिकलसेल बिरामी तथा आफन्तहरु भने सरकारले बिरामीलाई बाचुन्जेल निःशुल्क औषधि गरिदिनुपर्ने माग गर्छन्। बिरामीका आफन्त रामकृष्ण थारुले निःशुल्क उपचार सरकारले गर्नुपर्ने माग राखे। उनले उपचारका लागि धेरै खर्च लाग्ने भएकोले आफूले उपचार गर्न नसक्ने अवस्था रहेको बताए।

सरकारले सिकलसेललाई जनस्वास्थ्य समस्याभन्दै पश्चिमका अस्पतालहरुमा जाँच विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत सिकलसेल एनिमियाका बिरामीलाई १ लाख रुपैयाँ बराबरको निःशुल्क उपचारको व्यवस्था गरेको छ। भेरीमा औषधि खाइरहेका २० जनाको यो औषधिको सीमा सकिन थालेको छ।

बाँके, बर्दिया, कैलाली, कंचनपुर, दाङ, कपिलवस्तुलगायतका जिल्लाका थारु समुदायमा सिकलसेल जनस्वास्थ्य समस्याकारुपमा रहेको छ। यतिबेला बाँकेको राप्ती सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा सिकलसेलको परीक्षण र उपचार भइरहेको छ। रगत जाँच गरिएकामध्ये १० देखि १५ प्रतिशतमा सिकलेसलका बिरामी फेला परेका छन्।

सिकलसेलका रोगीले खाने औषधि नै महंगो छ। सरकारले अत्यावश्यक औषधिको सुचीमा सिकलसेल रोगीको औषधि पनि राखेको छ। तर बीमामा भने समावेश गरिएको छैन। जसका कारण औषधिको सीमा सकिएका बिरामीले बीमाबाट सिकलसेलका लागि चाहिने औषधि पाउन सकेका छैनन्। भेरी अस्पतालमा दैनिक ३ देखि ७ जना थाईलेसिमियाका बिरामीहरुले रगत चढाउने गरेका छन्।

यसकारण स्वास्थ्य कार्यालयले बाहक पुरुष र बिरामी महिला तथा बाहक महिला र बिरामी पुरुष बीच विवाह गर्नु नहुने विज्ञहरुको भनाइ छ। स्वास्थ्य कार्यालय बाँकेले भेरी अस्पतालमा हप्तामा सोमबार र बिहीबार निःशुल्क उपचारको व्यवस्था मिलाइएकाले उपचार गर्न आउने बिरामीका लागि बिरामीको कार्ड बनाएर वितरण गरेको छ।

प्रकाशित: १८ असार २०७९ १०:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App