५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

गोरखामा कोरोना खोप लक्ष्य अनुसार पूरा भएन

गोरखामा कोभिड १९ विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ। स्थानीय तहले खोप नलगाउनेहरुको खोजी गर्दै खोप लगाउन अनुरोध गरिरहेका छन्। तर पनि लक्ष्य अनुसार कोडिभ १९ विरुद्धको खोप पूरा भएको छैन।  

‘तथ्याङ्क अनुसार खोपको लक्ष्य पूरा नभएको देखिएपनि खोप लगाउन बाँकी खोजी गर्दा भेटिएको छैन’, स्वास्थ्य कार्यालयका प्रमुख विद्या तामाङले भनिन्, ‘अन्यत्र खोप लगाउनुभएको हुन सक्छ।’ बिवरण लिँदा जिल्लाबाट र खोप बाहिरबाट लगाउँदा तथ्याङ्क कम देखिएको अनुमान स्वास्थ्यकर्मीको छ। केही ठाउँमा भने अहिले पनि छुट भएकाहरुलाई पालिकाको मागको आधारमा खोप पठाइएको उनले बताईन्।  

१८ वर्ष माथिका एक लाख ५९ हजार र १८ वर्ष मुनिका ८५ हजार चार सय ३० जनालाई कोरोनाविरुद्धको खोप लगाउनुपर्ने थियो। यी मध्ये १८ वर्ष माथिका एक लाख १९ हजार सात सय एक जना मात्र छन्। ३९ हजार पाँच सय ३७ जनाले पूरा मात्रा खोप लगाउन बाँकी छ। यी मध्ये पनि करिब ८ हजारले पहिलो मात्रा लगाएका छैनन् भने अन्यले दोस्रो मात्रा लगाउन बाँकी छ।  

१२ देखि १७ वर्ष उमेर भित्रका २६ हजार छ सय ६१ जनालाई खोप लगाउने लक्ष्य लिइएकोमा गोरखाका सबै पालिकामा गरी २३ हजार आठ सय ९३ जनाले मात्रै पहिलो मात्रा लगाएका छन्। यिनीहरुलाई दोस्रो मात्रा दिन बाँकी छ। बालबालिकालाई विद्यालयमै पुगेर खोप लगाउँदा पनि पालिकाको तथ्याङ्क अनुसार बालबालिका समेटिएका छैनन्।  

स्वास्थ्य कार्यालय गोरखामा जोनसोन तीन हजार पाँच सय ८५ जनालाई लगाउन पुग्ने खोपको मात्रा छ। कोभिशिल्ड सात हजार नौ सय ३० जनालाई, भेरोसिल २२ हजार ५२ जनालाई लगाउन पुग्ने मात्रा रहेको स्वास्थ्य कार्यालयका राजिब देवकोटाले बताए। यी खोप १८ वर्ष माथि उमेरकालाई लगाउने मिल्छ। १२ देखि १७ वर्ष उमेरकालाई लगाउने मोडर्ना खोप भने स्टक नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। धेरै दिन स्टक राख्न नमिल्ने भएकाले मोडर्ना खोप फिर्ता पठाइएको हो। यो खोप पहिलो मात्रा लगाएकालाई माघ ४ गतेबाट दोस्रो मात्रा लगाउन सुरु गरिने देवकोटाले बताए।  

सरकारी सेवा लिन कोभिड १९ खोप लगाएको कार्ड अनिवार्य गर्ने तयारी गरिरहेका बेला खोप लगाउन छुटेकाहरुलाई समस्या हुने भएको छ। ‘हामीले वडा अध्यक्ष, जनप्रतिनिधिहरु, स्वास्थ्य संस्थाका कर्मचारी सबैलाई खोप लगाउन बाँकी हुनुभएकालाई खोजी गर्दै खोप लगाईदिन भनेका छौँ’, गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले भने। नगरपालिका सदरमुकाम क्षेत्रमा पर्ने भएकाले अन्यत्रबाट सदरमुकाम बस्नेहरुको संख्या धेरै हुँदा सतप्रतिशत भन्दा बढिलाई खोप लगाइएको उनले बताए। ‘अहिले पनि हामी खोजी गरिरहेका छौँ’, उनले भने।

गोरखाको दुर्गम धार्चे र चुमनुब्री गाउँपालिकाले पनि तथ्याङ्कमा जनसंख्या धेरै देखिएपनि कामको शिलसिलामा बाहिर बसेका कतिपयले उतै खोप लगाएको जनाएको छ। ‘हामीले खोप लगाउन बाँकी हुनुभएकालाई आह्वान गरिरहेका छौँ’, चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले भने।  

सरकारी सेवा लिन आउनेहरुलाई खोप कार्ड अनिवार्य गरेपछि गोरखामा कार्ड नभएकालाई खोप लगाएर सेवा दिने तयारी गरिएको छ।

प्रकाशित: २८ पुस २०७८ ०९:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App