१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

वीपी प्रतिष्ठानमा पदाधिकारीबाटै राजिनामा दिन दबाब

दुई महिनादेखि बन्धक रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निकास दिन चारै जना पदाधिकारीहरुले राजिनामा दिनुपर्ने दबाब बढ्दै गएको छ। तर, पदाधिकारीहरु भने टसमस भएका छैनन्।

प्रतिष्ठान सुधारको माग लिएर असार १ गतेदेखि आन्दोलनरत संयुक्त संघर्ष समितिले चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको डेढ महिना बितिसकेको छ। उच्चस्तरीय छानबिन कार्यदलले चारै जना पदाधिकारीलाई कारबाही गर्न सरकारलाई सिफारिश गरेपनि कार्यान्वयन भएको छैन। स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राजिनामा दिएर निकास दिन आग्रह गरेपनि चारै जना पदाधिकारीहरुले मानेका छैनन्। आन्दोलनकारीले भने चारै जना पदाधिकारीको बर्हिगमन नभएसम्म तालाबन्दी नखोल्ने बताइसकेको छ। दिनप्रतिदिन संस्था धरासायी हुँदै गएपनि सरकार र पदाधिकारीहरुले निकास नदिएको भन्दै संघर्ष समिति असन्तुष्ट छ।  

यसैबीच, शनिबार प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले एक विज्ञप्ती जारी गर्दै उपकुलपति डा.ज्ञानेन्द्र गिरी, रेक्टर प्रा.डा.गुरुप्रसाद खनाल र रजिष्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मीले तत्काल राजिनामा दिएर निकास दिनुपर्ने माग गरेका छन्। अस्पताल निर्देशक डा.साहले नयाँ नेतृत्व स्थापित गर्न सरकारलाई सहयोग गर्न आफू पनि तयार रहेको भन्दै प्रतिष्ठानमा नयाँ सोच र नयाँ नेतृत्व स्थापना गरेर मात्र साख पुरानै अवस्थामा उठाउन सकिने बताएका छन्।  

उनले आफूभन्दा माथिल्लो तहका पदाधिकारीहरु नियुक्ति भएपछि प्रतिष्ठानको सम्पूर्ण अधिकार केन्द्रीत गरेर बसेको, नियुक्तिको भोलिपल्टदेखि नै शक्ति संघर्षमा लागेर प्रतिष्ठानलाई अनिर्णयको बन्दी बनाएको, आचारसंहिता विपरीत गोपनीयता भंग गरि एकले अर्कोलाई हानी गरेर प्रतिष्ठानकै वदनाम गराएको आरोप पनि लगाएका छन्।

‘चाहे पूर्ण उपकुलपतिका ेरुपमा वा कार्यवाहक उपकुलपति वा रजिष्ट्रारको रुपमा असीमित अधिकार एकल रुपमा प्रयोग गरी विवादास्पद निर्णयहरु गरेर प्रतिष्ठानको वदनाम गर्ने म भन्दा माथिल्लो तीन जना पदाधिकारीहरुले तत्काल राजिनामा दिई प्रतिष्ठानलाई निकास दिनुपर्छ, र यसले मात्र प्रतिष्ठानमा नयाँ सोच र नयाँ नेतृत्वको स्थापना गरी प्रतिष्ठानको साख पुरानै अवस्थामा उठाउन सकिन्छ भन्ने मेरो धारणा रहेको छ,’ अस्पताल निर्देशक डा.साहले विज्ञप्तीमा भनेका छन्, ‘प्रतिष्ठानलाई हालको अवस्थाबाट मुक्त नगरे सधैंका लागि बन्द हुने अवस्थामा पुग्न सक्ने र यसै प्रतिष्ठानमा पेशागत जीवन अर्पण गर्ने मेरो आत्मबोधले हालको अवस्था सृर्जना गर्न जिम्मेवार म भन्दा वरिष्ठ तीन जना पदाधिकारीहरुको राजिनामासँगै प्रतिष्ठानमा नयाँ नेतृत्व स्थापित गर्न नेपाल सरकारलाई सदैव सहयोग गर्न आफु तयार रहेको छु।’

प्रकाशित: ३० श्रावण २०७८ ११:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App