१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

पिठ्यूँमा बच्चा बोकेर संक्रमितको उपचारमा

ऐसेलुखर्क गाउँपालिकामा पिठ्यूँमा बच्चा बोकेर उपचारमा खटिएकी सिनियर अहेव निर्मला शर्मा। तस्बिर: नागरिक

खोटाङको ऐसेलुखर्क गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत सिनियर अहेव निर्मला शर्मालाई कोभिड-१९ बाट संक्रमितको हेरचाह गर्न भ्याइनभ्याइ छ। कोभिड–१९ को महामारी यता सिनियर अहेव शर्माको समय ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कमा बनाइएको अस्थायी कोभिड अस्पतालमा राखिएका संक्रमित र नजिकै बनाइएको आइसोलेसनमा बसिरहेका स्थानीयको उपचार गर्नदेखि स्वास्थ्य परामर्श दिनमै बित्ने गरेको छ।  

प्राथमिक स्वास्थ्य केन्द्रमा नियमित आउने बिरामीको हेरचाहमा पनि उनले समय दिनु पर्छ। अवस्था अनुसार सेतो कोट वा पिपिइ लगाएका सिनियर अहेव शर्मा अरुबेलाको तुलनामा हिजोआज खाना र खाजा खान समेत बेफुर्सद देखिन्छिन्। 

संक्रमितको वा संक्रमणको आशंका गरिएको व्यक्तिको एन्टीजेन परीक्षण गर्ने, पिसिआर परिक्षणका लागि स्वाव संकलन गर्ने, संक्रमितको स्वास्थ्य अवस्था बारे बुझ्ने, औषधि तथा परामर्श दिने, संक्रमणबाट बच्ने उपाय बारे बताउने, निको भएकालाई डिस्चार्ज दिने लगायतका काम गर्दागर्दै शर्मा सहितका स्वास्थ्यकर्मीको दिन ढलेको पत्तै हुन्न। कतिपय संक्रमितले फोन गरेर समस्या बारे परामर्श माग्छन्। कतिपयले फेसबुकको मेसेञ्जरबाट आफ्नो स्वास्थ्य समस्या बारे दर्शाउँछन्। फोन वा मेसेञ्जरमा आएको समस्याका बारेमा सिनियर अहेव शर्मा उपयुक्त सुझाव सहित ‘काउन्सिलिङ’ गर्छिन्।  

कोभिड–१९ बाट संक्रमितको नजिक रहेर उपचारमा खटिँदा आफै संक्रतिम हुने खतरा छँदैछ। अर्कोतर्फ संक्रमितको उपचारमा खटिएको वा संक्रमितको नजिक पुगेको भन्दै स्वास्थ्यकर्मीसँग अरु स्थानीय त्रास मान्ने अवस्था छ। आइसोलेसनमा आइपुगेका संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षामा खटिएका गाउँ प्रहरी र संक्रमित बोक्ने एम्बूलेन्स चालकलाई जुनसुकै होटलमा खाना र खाजा नदिने अवस्था भएपछि गाउँपालिकाले जेठ पहिलो सातादेखि उनीहरुका लागि निःशुल्क खाना र खाजाको व्यवस्था गरेको छ।

संक्रमण सर्ने त्रास भएपछि सिनियर अहेव शर्माले यहीबेला आफ्नै दुई वर्षको बच्चालाई दुध नै छुटाइदिएकी छिन्। ‘अहिले स्वास्थ्यकर्मीलाई संक्रमितको स्वास्थ्य उपचारमा भ्याइनभ्याइ छ। सुरु सुरुमा बच्चालाई साथै लिएर पनि उपचारमा खटिएँ, बच्चालाई पनि संक्रमण सर्ने त्रास भएपछि बच्चालाई घर छाडेको छु,’ शर्माले भनिन्, ‘बच्चालाई दुई वर्षसम्म नियमित आमाको दुध खुवाउनु पर्छ। तर, महामारीमा खट्नु परेकाले दुई वर्ष नपुग्दै दुध छुटाउनु परेको छ।’  

 ‘अहिले स्वास्थ्यकर्मीलाई संक्रमितको स्वास्थ्य उपचारमा भ्याइनभ्याइ छ। सुरु सुरुमा बच्चालाई साथै लिएर पनि उपचारमा खटिएँ, बच्चालाई पनि संक्रमण सर्ने त्रास भएपछि बच्चालाई घर छाडेको छु,’ शर्माले भनिन्, ‘बच्चालाई दुई वर्षसम्म नियमित आमाको दुध खुवाउनु पर्छ। तर, महामारीमा खट्नु परेकाले दुई वर्ष नपुग्दै दुध छुटाउनु परेको छ।’  

यस्तै, एन्टीजेन परीक्षण वा पिसिआर परिक्षणको व्यवस्थापनकै क्रममा हलेसी तुवाचुङ नगरपालिकामा कार्यरत सिनियर अहेव प्रकाश घिमिरेको बिहानको ९/१० बज्छ । बिहानको १० बजेपछि घिमिरे नगरपालिकाले हलेसीमा बनाएको आइसोलेसनमा बसिरहेका संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएर आवश्यक परामर्श दिन्छन् र खानाको व्यवस्थापनमा जुट्छन्। बिहान ११ देखि १२ बजेको बिचमा अन्य स्वास्थ्यकर्मी सहित एन्टीजेन परीक्षणमा खट्छन्।  

गाउँघरमा ज्वरो, खोकीको बिरामी भएको र कोभिड–१९ को संक्रमणको आशंकामा एन्टीजेन परिक्षणका लागि खबर आए पिपिइ लगाएर त्यतै कुद्नु पर्छ। स्वास्थ्यकर्मीको साथमा कतिपय गाउँमा मेयर इवन राई र उपमेयर बिमला राई पनि पुग्छन् । कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रण अभियानका क्रममा डट्दा कहिलेकहीँ रातको ९/१० बज्ने गरेको सिनियर अहेव घिमिरे बताउँछन्।  

‘दिनभरीमा कहाँ, कति संक्रमित भेटिए, संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ, संक्रमितलाई होमआइसोलेसन वा नगरपालिकाको आइसोलेसनमा राख्ने व्यवस्थापन गर्नुपर्ने हुन्छ,’ घिमिरेले भने, ‘कहिलेकहीँ बिरामीका आफन्तले मध्यरातमा पनि फोन गर्छन्। सुत्छु भन्न पाइएन, जानै पर्‍यो।’  

यी केही उदाहरण हुन् । हाल कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणमा अधिकांश स्वास्थ्यकर्मीको दिनचर्या सिनियर अहेव शर्मा र घिमिरेको भन्दा फरक छैन। स्वास्थ्यकर्मी आफ्नो ज्यान नै जोखिममा राखेर संक्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका छन्। उनीहरुको बेलामा खाने, विश्राम गर्ने र सुत्ने टुंगो छैन। आफ्नो ज्यान जोखिममा राखेर संक्रमितको उपचारमा खटिएका स्वाथ्यकर्मीको सबैले प्रशंसा गरिरहेका छन्। हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईले जेठ १६ गते सामाजिक सञ्जालमा स्वास्थ्यकर्मीलाई ‘भगवान’को रुप भनेका छन्।

‘मन्दिरको भगवान बोल्दैन। तपाई स्वास्थ्यकर्मी भगवानको अर्को रुप हुनुहुन्छ,’ मेयर राईले लेखेका छन्, ‘तपाईहरु बिरामीको घरघरमा पुगेर बिरामीको मनोवल बढाइदिनुहुन्छ, बोल्नुहुन्छ, उपचार गर्नुहुन्छ, सेवा गर्नुहुन्छ र पुनर्जीवन दिनुहुन्छ। कलियुगका ज्यूँदा भगवानलाई कोटी–कोटी प्रणाम !’ 

बाटोमा भेट भएकी महिलाको एन्टीजेन परिक्षण गर्दै हलेसी तुवाचुङ नगरपालिकाका स्वास्थ्यकर्मी । तस्बिर: नागरिक  

प्रकाशित: २७ जेष्ठ २०७८ १०:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App