१९ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

‘खोप किन्दा कमिसन दिन्नौं’

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप खरिदमा सरकारले कमिसन नदिने बताएका छन् । नेपालले कोरोनाविरुद्धको खोप अभियानलाई निरन्तरता दिन भारतको खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटसँग थप ५० लाख डोज खोप खरिद गर्न चाहँदा कमिसनको प्रयास भइरहेको सन्दर्भमा मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् ।  

खोप खरिदमा सुशासनको पक्ष चुनौतीपूर्ण रहेको स्वीकार गर्दै उनले भने, ‘कमिसन एजेन्ट बलिया हुँदा रहेछन् । तर हामी खोप खरिदमा कमिसन दिनेवाला छैनौं ।’ मन्त्री त्रिपाठीले यसअघि सेरमबाट सहुलियत मूल्यमा प्रतिडोज ४ अमेरिकी डलरमा खोप उपलब्ध भएको तर अबको खरिदमा प्रतिडोज खोपको मूल्य ५ र ६ अमेरिकी डलर पर्न सक्ने बताए ।  

उनले सरकारले खोप खरिद प्रक्रियामा निजी क्षेत्रलाई एकदुई दिनमै सहभागी गराउन लागेको पनि बताए । ‘खरिद मूल्य, ढुवानी, कर तथा कोल्ड स्टोरेजमा लाग्ने खर्चबाहेक १० प्रतिशतसम्म मुनाफा लिएर निजी क्षेत्रले खोप ल्याउन सक्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । सोही व्यवस्थाअनुसार निजी क्षेत्रले खोप खरिद गर्न र वितरण गर्न सक्छन्’, उनले भने ।

मन्त्रालयको नेतृत्व समालेपछि खोप अभियान अगाडि बढाउने, कर्मचारी समायोजन तथा देशभरका स्थानीय तहमा विभिन्न क्षमताका अस्पतालको निर्माणलगायत ३ प्रमुख कार्यमा आफ्नो ध्यान गएको जानकारी दिँदै उनले अन्य विषयमा प्रवेश गर्न बाँकी रहेको नागरिकसँगको कुराकानीमा बताए । साढे २ महिनाअघि मन्त्रालयको नेतृत्व समालेका उनले सुरुदेखि नै नेपालले कूटनीतिक चातुर्य देखाएको भए थप २० लाख डोज खोप अनुदानमा प्राप्त गर्न सक्ने दाबी गरे । नेपालले भारतबाट १० लाख डोज खोप अनुदानस्वरुप प्राप्त गरेको थियो । नेपाल सरकारले हालसम्म भारतले अनुदानमा दिएको १० लाख डोज खोप, आफूले खरिद गरेको १० लाख डोज खोप र कोभ्याक्स सुविधाअन्तर्गत पाएको ३ लाख ४८ हजार डोजमार्फत कोरोनाविरुद्ध खोप अभियान अगाडि बढाएको छ ।  

सेरमले नेपालले खरिद गरेको खोपको दोस्रो खेप उपलबध गराउन आनकानी गरेको प्रसंगमा मन्त्री त्रिपाठीले खरिद गरिसकेको खोप आउने विश्वास व्यक्त गरे । ‘त्यो आउँछ, १५ मार्चसम्म आउँछ भन्ने आशा छ,’ उनले भने ।  

चीनले सरकारी स्वामित्वमा रहेको कम्पनी सिनोफर्मले उत्पादन गरेको ८ लाख डोज खोप नेपाललाई अनुदान दिने घोषणा गरिसकेको छ । तर उक्त खोप नेपालमा कहिले आउँछ भन्ने निश्चित भइसकेको छैन । औषधि व्यवस्था विभागले सिनोफर्मले उत्पादन गरेको खोपलाई आपत्कालीन प्रयोग अनुमति दिएको छ ।

‘कोभ्याक्स र भारतबाट प्राप्त खोप नेपालको एयरपोर्टमा ल्याएर दिइएको थियो । तर चिनियाँ खोप लिन बेइजिजङ जानुपर्छ,’ मन्त्री त्रिपाठीले भने । उनले खोप खरिदमा जतिसुकै चुनौती रहे पनि सरकारले २ वर्षभित्र सबैलाई खोप लगाउने यसअघि घोषणा गरेको समयतालिकामा परिवर्तन नगरेको बताए । ‘हामीले २ वर्षभित्रै सबैलाई खोप उपलब्ध गराउनेछौं,’ उनले भने ।  

(स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीसँगको अन्तर्वार्ताको विस्तृत अंश आगामी अंकमा प्रकाशित गरिनेछ ।)

प्रकाशित: २९ फाल्गुन २०७७ ००:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App