७ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

खोटाङका सबै संक्रमितले जिते कोरोना

कोभिड–१९ बाट संक्रमित खोटाङका ११ जना उपचारपछि डिस्चार्ज भएका छन् । कोभिड–१९ बाट संक्रमित भएका जिल्लाका ११ जनामध्ये सबै संक्रमित उपचारपछि घर फर्किएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए । यसअघि नौ संक्रमित उपचारपछि घर फर्किएकामा बाँकी दुई जना पनि कोरोना जितेर फर्किएका हुन् ।  

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छ जना, हलेसी तुवाचुङ नगरपालिकाका चार जना र ऐसेलुखर्क गाउँपालिकाका एक जना संक्रमित उपचारपछि फरक–फरक समयमा घर फर्किएका हुन् । हालसम्म उपचारमा रहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका दुई संक्रमित पनि शुक्रबार डिस्चार्ज भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । सबै संक्रमित उपचारपछि फर्किएपछि जिल्ला ‘कोरोनामुक्त’ बनेको छ । खोटाङमा ६५५ जनाको पिसिआर परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको थियो ।  

प्रशासनका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २५४, हलेसी तुवाचुङ नगरपालिकाका १९० जना, ऐसेलुखर्क गाउँपालिकाका ५० जना, खोटेहाङ गाउँपालिकाका ४९ जना, जन्तेढुंगा गाउँपालिकाका ३४ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका ३२ जना, साकेला गाउँपालिकाका २४ जना, रावाबेँसी गाउँपालिकाका १२ जना, बराहपोखरी गाउँपालिकाका ७ जना र केपीलासगढी गाउँपालिकाका ३ जनाको पिसिआर परीक्षण गरिएको छ ।  

जिल्लामा हालसम्म एक हजार ६०८ जनाको आरडिटी टेष्ट गर्दा ३० जनाको पोजिटिभ रिपोर्ट देखिएको प्रशासनले जनाएको छ ।

प्रकाशित: २ श्रावण २०७७ ०७:२६ शुक्रबार

कोरोना भाइरस संक्रमित कोभिड–१९