८ आश्विन २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

सभामुखसहित सांसदको पनि स्वाब संकलन गरियो

गण्डकी प्रदेशसभा बैठकको तयारीअन्तर्गत बुधबार सांसदहरूको पनि स्वाब संकलन गरिएको छ । संसद् बैठक अघि सांसदहरूलाई कोरोना भए/नभएको पहिचान गर्न बुधबार सभामुख, उप–सभामुखसहित सांसदहरू गरी कुल एक सय १४ जनाको स्वाब संकलन गरिएको हो । उनीहरूको पिसिआर परीक्षण गरिने जनाइएको छ ।

बुधबार ३३ जना सांसद, संसद् सचिवालयका १८ जना कर्मचारी, सभामुख, उप–सभामुख तथा संसद्का विभिन्न समितिका सभापतिहरूका ११ जना चालक तथा ११ जना स्वकीय सचिवहरूको स्वाब संकलन गरिएको गण्डकी प्रदेशसभा सचिवालयका सचिव राजेन्द्र न्यौपानेले जानकारी दिए । उनका अनुसार बुधबार २० जना सांसद भने अनुस्थित रहे । बुधबार अनुपस्थित उनीहरूको शुक्रबार स्वाब संकलन गरिने आचार्यले जानकारी दिए ।

यसअघि मंगलबार मुख्यमन्त्रीसहित प्रदेशका सबै मन्त्री तथा मन्त्रालयका कर्मचारी, मुख्यमन्त्री तथा मन्त्रीहरूका स्वकीयसहित सचिवालय सदस्यहरू, गाडी चालकहरू, नीति तथा योजना आयोगका सदस्यहरू, कर्मचारीहरू गरी कुल एक सय ४६ जनाको स्वाब संकलन गरिएको थियो ।

गण्डकी प्रदेशको जेठ ११ गतेदेखि बजेट अधिवेशन सुरु हुने भएपछि बैठकको तयारीस्वरूप स्वाब संकलन गरिएको हो । स्वाब संकलन गरिएकाहरूको नतिजा शनिबारसम्ममा आइसक्ने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रमुख विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशको बजेट अधिवेशनको पहिलो बैठक जेठ ११ गते पूर्वाह्न ११ बजे पोखरा सभागृहमा बस्नेछ । बैठकका लागि पोखरा सभागृहलाई सजाउन सुरु गरिएको छ भने त्यहाँ बस्ने कुर्सीहरूको मर्मत–सम्भार पनि भइरहेको छ । प्रदेश सभा भवन नदीपुरमा सामाजिक दूरी कायम गरेर बैठक बस्न असम्भव भएपछि पोखरा सभागृहमा बैठक बस्न लागेको संसद् सचिवालयले जनाएको छ ।

 

प्रकाशित: ७ जेष्ठ २०७७ १२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App