१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

कोरोना संक्रमितका आफन्तमा देखिएन संक्रमण

काठमाडौं- अहिलेसम्म कोरोना संक्रमण देखिएका ४ वटै व्यक्तिका परिवारका सदस्यमा कुनै संक्रमण देखिएको छैन। स्वास्थ्य मन्त्रालयका अनुसार उनीहको कन्ट्रयाक्ट ट्रेसिङ  गरिएको र उनीहरुका नजिकका परिवारका सदस्य र आफन्तहरुको  हालसम्म गरिएको परीक्षण नेगोटिभ आएको छ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा एकै दिन ७६ वटा कोरोना संक्रमणको नमुना परीक्षण गरिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमुना परीक्षणको दायरा बढाउँदै सोमबार एकै दिन मात्रै ७६ वटा कोरोना संक्रमणको नमुना परीक्षण गरेको हो। सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले अहिलेसम्म ९ सय ९३ वटा नमुना परीक्षण गरिएको र सोमबार मात्रै  ७६ वटाको नमुना परीक्षण भएको बताए। सरकारले प्रयोगशालाको दायरा फराकिलो बनाउँदै लगेको र  धरानमा नमुना परीक्षण सुरु भईसकेको र सोमबार सम्म १९ वटा नमुना परीक्षण भईसकेको पनि उनले जानकारी दिए। डाक्टर देवकोटाका अनुसार, सोमबार धरानमा थप ६ वटा नमुना परीक्षण भईरहेको छ। धनगढी, सुर्खेत , बुटवल र जनकपुरमा नमुना परीक्षण गर्ने गरि आवश्यक उपकरण पठाईएको छ।

मन्त्रालयले बुटवलमा दुवईबाट आएका ३४ बर्षिय पुरुषको मृत्यु कोरोना भाइरसका कारण नभएको पुष्टि गरेको छ। ती व्यक्तिको स्वाव परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको डाक्टर देवकोटाले जानकारी दिए। पाटन अस्पतालमा मृत्यु भएका ३६ बर्षिय पुरुष र वीर अस्पतालमा मृत्यु भएका एक महिला र एक पुरुषको कोरोना संक्रमणको नमुना परीक्षणको क्रममा रहेको उनले स्पष्ट पारे। गृहमन्त्रालयको स्रोतबाट प्राप्त जानकारी अनुसार अहिले सम्म प्रदेशहरुमा ९३ जना आईसोलेसनमा रहेको र २ सय १७ वटा नमुना संकलन भएको पनि डाक्टर देवकोटाले जानकारी दिए।

उनले प्रत्येक प्रदेशमा १ हजार सेट पीपीइ, १० हजार भन्दा बढी मास्क, २० हजार भन्दा बढी ग्लब्स पठाईएको जानकारी दिए। उनले धनगढी, सुर्खेत र विराटनगरमा प्लेनबाट ती सामान पुगिसकेको र अन्य ४ वटा प्रदेशकमा स्थलमार्ग हुदै पठाईएको बताए।  त्यसैगरी क्लोरिन र अन्य सामाग्रीहरु पनि सबै प्रदेशलाई पठाईएको पनि उनले जानकारी दिए।

स्थानीय तहमा रहेका विदेशबाट आएका व्यक्तिहरु मध्ये अहिले सम्म ४१ हजार १ सय ४० जनाको लिखित विवरण अद्यावधी गरिएको पनि उनले जानकारी दिए।

 

 

प्रकाशित: १७ चैत्र २०७६ ११:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App