१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

भारतबाट नेपाल फर्किने नागरिकमाथि विशेष निगरानी

रौतहट- भारतमा कोरोनाको प्रभाव बढ्दै गएपछि भारतबाट नेपाल फर्किनेको संख्या बढेको छ। कामको खोजी, रोजगार तथा अध्ययनका लागि भारत गएकाहरु धमाधम घर फर्किन थालेका छन्। भारतबाट घर फिर्ता आउँदै गरेकाहरुलाई रौतहटको विभिन्न नाकामा कोरोनाको स्क्रिनिङ भइरहेको छ। सदरमुकाम गौर, बंकुल, औरैया, राजपुरलगायतको नाकामा भारतबाट नेपाल आउनेहरुलाई चेकजाँच गरिदै छ। हेल्प डेस्क स्थापना गरेर नै चेकजाँच भइरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे बताएका छन्।

भारतबाट घर फिर्ता हुनेहरुलाई सामाजिक निगरानी पनि बढाइएको छ। लामो समयसम्म भारतमा बसेर काम गरेर घर फिर्ता आउँदा दुई तिन दिनसम्म सर्वसाधारणले बोल्न पनि नचाहेको पाइएको छ। कतिपय मानिस निकै सतर्क रहेर कुराकानी गर्ने गरेको देखिएको छ। भारतबाट फर्केकाहरुले पनि पहिलेजस्तो सामान्य व्यवहार गाउँलेहरुले नगरेको अनुभूति गरेका छन्। कोरोनाको कारण सामाजिक व्यवहार पनि केही परिवर्तन भएको देखिएको छ।

कतिपय सामाजिक अभियान्ताहरुले बाहिरबाट गाउँमा आएको मानिसलाई समाजले आफैले चार दिनसम्म निगरानीमा राख्ने गरेकोलाई अन्यथा नलिन बताउँछन्। सरकारले पनि सकेसम्म घरबाट ननिस्कन सल्लाह दिएको र धेरै मानिसको नजिक जान नहुने मनोविज्ञानको निर्माण भइरहेको सन्दर्भमा बाहिरबाट घर फिर्ता आउनेलाई दुई चार दिन समाजमा समायोजन हुन लाग्नु अस्वाभाविक नभएको नाम नबताउने शर्तमा नागरिक समाजका एक सदस्य बताउँछन्।

सरकारले नाकामा परीक्षण गरे पनि समाजमा भने संक्रमणको डर वा सतर्कताले केही सावधानी अपनाइएको हो। नेपालबाट भारत पस्ने हरेक नागरिकलाई पनि कम्तीमा ज्वरो नाप्ने काम भइरहेको छ। अहिलेसम्म कम्तीमा दश हजार मानिसको चेकजाँच गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी गराएका छन्। स्क्रिनिङ भइरहेको सिमानाकामा एउटा एम्बुलेन्स राख्न र चिकित्सकहरुलाई आलोपालो काम गर्ने व्यवस्था मिलाउन स्वास्थ्य कार्यालय गौरलाई निर्देशन दिएको प्रजिअ घिमिरेले जानकारी गराएका छन्।

सीमित साधन र जनशक्तिका बीच स्वास्थ्यकर्मीहरुको टोली अत्यन्त सावधानीपूर्वक सिमानाकामा परीक्षण गरिरहेका छन्। भारतको उत्तर प्रदेशबाट आँखाको शल्यक्रिया गराउन आएका दुई जनालाई ज्वरो आएको देखिएको बाहेक अन्य मानिसमा ज्वरोलगायतको कोरोनाको लक्षणसँग मिल्ने केही पनि नदेखिएको स्वास्थ्यकर्मीहरुको भनाइ छ। गौर नाकास्थित हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी निशा जयसवालले अहिलेसम्म कोरोनाको लक्षण देखिने बिरामी नभेटिएको तर सतर्कतापूर्वक आफूहरुले काम गरिरहेको बताइन्।

प्रकाशित: ७ चैत्र २०७६ १२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App