पहिला पुरुषमा, पछि महिलामा लागेको धूमपानको लत पछिल्लो समय विद्यार्थीमा बढ्दै गएको विज्ञहरूले बताएका छन् । उनीहरूका अनुसार विद्यालयबाट सुरु हुने धूमपानको लत क्याम्पसमा पुगेपछि व्यापक हुने गरेको पाइएको छ।
क्यान्सर परिषदका अध्यक्ष रुद्र कडरियाले पुरुषछि महिलामा सरेको धूमपानको लत पछिल्लो समय विद्यर्थाीमा बढेको बताए । ‘पछिल्लो समय स्कुल÷कलेजका विद्यार्थीमा धूमपानको लत बढेको देखिन्छ,’ उनले भने, ‘नेपालका नाम चलेकै कलेजका विद्यार्थीमा चुरोटको लत बढी छ।’
धूमपानविरुद्ध अभियान सञ्चालन गरिरहेका संस्थाहरूले गरेको एक अध्ययनले उपत्यकाकै नाम चलेको एक कलेजमा एउटा कक्षाका ८७.५ प्रतिशत विद्यार्थी चुरोटको लतमा फसेको देखाएको छ । अर्थात् एउटा कक्षाका १ सय ६० विद्यार्थीमध्ये १ सय ४० जनाले चुरोट खाने गरेको पाइएको हो ।
‘कलेज डेसमै एक कप चियासँग दुई खिल्लीसम्म चुरोट पिएको अध्ययनमा पाइयो,’ उनले भने, ‘क्यान्सर तथा धूमपानविरुद्ध क्रियाशील संस्थाहरूले गरेको अध्ययनले प्लसटुका विद्यार्थी तीव्र रूपमा चुरोटको लतमा फस्दै गएको देखाएको छ ।’ चुरोट हँुदै विद्यार्थी लागूपदार्थसम्म पुग्ने गरेको अध्ययनले देखाएको कडरियाले जानकारी दिए।
यसरी विद्यार्थीमा बढ्दै गएको धूमपानको लतविरुद्ध आफ्नो संस्थाले विश्व धूमपानरहित दिवसका बेला उपत्यकाका विभिन्न विद्यालयमा अभिभावक, शिक्षक र विद्यार्थी भेला गरी चेतनामूलक अन्तरक्रिया सम्पन्न गरेको क्यान्सर परिषदका अध्यक्ष कडयरियाले जानकारी दिए । भोलि देश हाँक्ने जनशक्ति विद्यार्थी नै भएकाले उनीहरूलाई धूमपान तथा लागूपदार्थका लतबाट मुक्त गर्न जरुरी रहेको उनले बताए।
एक दशकयता विद्यार्थीमा चुरोटको लत बढ्दै गएको सरोकारवालाहरूको अनुभव छ । क्यान्सर परिषदका अध्यक्ष कडयरियाका अनुसार फिल्म, सामाजिक सञ्जाल, पश्चिमी संस्कृतिको प्रभाव आदिले विद्यार्थीमा चुरोट पिउने बानीको विकास भएको हो । यसबाहेक चुरोटबाट सुरु गरेर लागूपदार्थसम्मको कूलतमा फसाउने गिरोहसमेत सक्रिय भएकाले विद्यार्थी गलत बाटोमा लागेको उनको भनाइ छ।
एक अध्ययनअनुसार उपत्यकाको नाम चलेको एक कलेजमा एउटा कक्षाका ८७.५ प्रतिशत विद्यार्थीले चुरोट पिउने गर्छन् । उक्त कलेजमा एउटा कक्षाका १ सय ६० विद्यार्थीमध्ये १ सय ४० जनाले चुरोट पिउने गरेको अध्ययनले देखाएको छ ।
प्लस टु तहका विद्यार्थी किशोर अवस्थाका हुने र यो उमेर जिज्ञासु हुने भएका कारण सजिलै चुरोटको लतमा फस्ने गरेको देखिन्छ । एउटा समूहका पाँच जनामध्ये एक जनाले चुरोट नखाए उसलाई साथीहरूले बहिष्कार गरेरै भए पनि चुरोट पिउन बाध्य बनाउने प्रवृत्ति देखिएको छ । ‘यस्तो क्रियाकलाप गिरोहको सक्रियतामा भएको हुन सक्छ,’ कडरिया भन्छन्।
उनका अनुसार इन्टरनेटका कारण घरैमा चलचित्रको पहुँच हुनु, पश्चिमी मुलुकका चलचित्र पनि हेर्ने र त्यस्ता चलचित्रमा देखाइने दृश्यको नक्कल गर्ने क्रममा पनि विद्यार्थी चुरोटको लतमा पर्ने गरेका छन् । अभिभावक व्यस्त हुनु र आफ्ना छोराछोरीले गरिरहेको गतिविधि वास्ता नगर्नुका कारण पनि उनीहरू कूलतमा फस्ने गरेको देखिएको छ।
नेपाल अर्बुद रोग निवारण संस्थाकी कार्यक्रम संयोजक नम्रता शर्मा कलेजमा साथीभाइको संगतमा परेर चुरोटको लतमा फस्ने गरेको बताउँछिन् । नेपाल अर्बुद रोग निवारण संस्थाको धूमपानविरुद्ध अभियानका कारण सरकारले चुरोटको बट्टामा क्यान्सर भएको डरलाग्दो तस्बिर राख्न अनिवार्य गरेको छ । साथै प्रतिखिल्ली चुरोट बराबर कर पनि लगाउन सुरु गरेको छ । उक्त संस्थाकै अभियानका कारण २०६८ सालमा नेपालमा धूमपानविरुद्ध ऐन पारित भएको थियो ।
उक्त ऐनले सार्वजनिक स्थानमा धूमपान गर्न नपाइने, १८ वर्ष मुनिकालाई चुरोट, बिंंडी बिक्री गरेको पाइएमा १० हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरेको छ । तर यो ऐन प्रभावकारी रूपमा लागू नभएको धूमपानविरुद्धका अभियन्ताहरूले बताएका छन् । यो ऐन कडाइका साथ लागू भएको भए कसैले पनि यति सजिलै चुरोट पिउने अवस्था नरहने कडयरिया बताउँछन् ।एक अध्ययनअनुसार नेपालमा सूर्तिचुरोट खाएकै कारण हरेक वर्ष १५ हजार व्यक्तिले ज्यान गुमाउने गरेका छन् ।
प्रकाशित: २६ जेष्ठ २०७५ ०३:३५ शनिबार