४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

टेकु अस्पतालबाट भागेका हैजाका बिरामी केएमसीमा भेटिए

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट भागेका हैजाका एक बिरामी काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेर फर्किएको खुलेको छ।

मंगलबार राति टेकुबाट भागेका ती बिरामी स्वास्थ्यमा थप समस्या देखिएपछि केएमसी पुगेका थिए।

तर, त्यहाँबाट केही उपचार गरेपछि उनी फर्किएको पाइएको स्वास्थ्य विभागको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

‘भागेका तीन जनामध्ये एक जना केएमसी पुगेको पाइएको छ,’ महाशाखाको महामारी व्यवस्थापन शाखाका प्रमुख डा. मुकेश पौडेलले भने, ‘केही उपचार गरेर घर फर्किए जस्तो छ।’

ललितपुरको ठैबस्थित नशारहित समाज पुनःस्थापना केन्द्र (रिह्याब सेन्टर) बाट हैजा संक्रमण भएर टेकु अस्पतालमा भर्ना गरिएका तीन जना मंगलबार राति भागेका थिए। उक्त रिह्याब सेन्टरबाट आइतबार चार जना हैजाका बिरामी टेकु अस्पतालमा भर्ना गरिएका थिए। उनीहरूलाई ¥यापिड टेस्ट गर्दा हैजा पुष्टि भएको थियो। कल्चर परीक्षणको नतिजा भने आउन बाँकी छ।

तीनै मध्येका एक जना गम्भीर समस्या देखिएपछि पाटन अस्पतालमा रेफर गरिएको थियो भने, तीन जना भागेका हुन्। उनीहरूमध्ये एक जना शौचालयको भेन्टिलेसनबाट हाम फालेर र अन्य दुई जना वार्डबाटै भागेको अस्पतालले जनाएको थियो।

भागेपछि महाशाखाले स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालय ललितपुरको सहयोगमा खोजी कार्य जारी राखेको छ। उनीहरू भाग्दा समुदायमा हैजा फैलने जोखिम हुने भएकाले सावधानीपूर्वक खोजी कार्य भइरहेको अस्पतालले जनाएको छ।

यसअघि उक्त रिह्याब सेन्टरबाट साउन १ गते एक जनामा हैजा देखिएको थियो। उनलाई भने टेकु अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

प्रकाशित: ९ श्रावण २०८१ १७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App