४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

तुवाँलोले बढे रुघाखोकी र श्वासप्रश्वासका बिरामी

तुवाँलोले पोखरा सहर ढाकेको छ। तुवाँलोले गर्दा हवाइसेवा पनि प्रभावित भएको छ। तुँवालोका कारण मानव स्वास्थ्यमा प्रतिकूल असर देखिन थालेको चिकित्सकले औंल्याएका छन्। यतिबेला पोखराका अस्पतालमा बिरामी थपिएका छन्। निजी क्लिनिकमा आफूखुसी औषधि किनेर उपयोग गर्ने पनि बढिरहेको क्लिनिक सञ्चालकले बताएका छन्। स्वास्थ्यकर्मीका अनुुसार नयाँ बिरामी धेरैजसो रुघाखोकी र श्वासप्रश्वासका छन्। नाक पिरो भयो, आँखा पोल्यो, रुघा लाग्यो, घाँटी खसखस हुने सिकायत बिरामीको छ।  

नेपाल औषधि व्यवसायी संघ गण्डकीका अध्यक्ष कृष्णप्रसाद पाण्डेका अनुसार अहिले रुघाखोकी र श्वासप्रश्वासका बिरामी बढेका छन्। मौसम परिवर्तन हुने बेला भएकोले पनि यो बेला बिरामी थपिएको उनले बताए। सबैभन्दा बढी बिरामी अहिलेको तुवाँलोले बनाएको उनले बताए। ‘चिसो मौसम सकिएर गर्मी चढ्नै थालेका बेला लागेको तुवाँलोले जनस्वास्थ्यमा असर पार्न थालेको छ,’पाण्डेले भने, ‘हावामा धुलोका कण छन्। त्यसले मानव स्वास्थ्यमा असर पारेको छ।’नाक बन्द हुने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुने बिरामी थपिएको उनले बताए। ‘निजी क्लिनिकमा आफूखुसी औषधि किनेर सेवन गर्ने बिरामी पनि धेरै छन्। सबैले चिकित्सकको सल्लाह लिँदैनन्,’उनले भने, ‘यहीबेला कोरोना भाइरस संक्रमणले गर्दा पनि बिरामीको संख्या बढिरहेको छ। मानसिक रूपमा नागरिक कोरोनाबाट त्रसित बनेका छन्।’रुघाखोकी र श्वास्प्रश्वासको समस्या कोरोना लक्षणसँग मिल्ने भएकाले पनि सर्वसाधारण केही त्रसित बनेको उनले बताए।  

‘अहिले वनजंगलमा आगलागी भइरहेको छ। आगोको धुवाँले पोखरालाई ढाकेको छ,’उनले भने, ‘पानी परेको छैन। पानी परे तुवाँलो हट्छ र सहज हुनेछ। नत्र अझै बिरामी थपिन्छन्।’स्वास्थ्य मापदण्ड पालना नगर्दा पनि बिरामी बढेको उनले बताए। सर्वसाधारण पनि एकैखालको समस्या लिएर चिकित्सककहाँ जाने गरेका छन्। धेरैमा नाक पिरो हुने, रुघा, आँखा पोल्ने, ज्वरो आउने, कमजारी जस्ता समस्या देखिएको पृथ्वीचोकका भीम न्यौपानेले बताए। ‘घाँटी दुख्ने, आँखा पोल्ने, नाक पिरो हुनेजस्ता समस्या देखिएका छन्। मौसममा आएका परिवर्तनका कारण स्वास्थ्यमा समस्या आएको हुनसक्छ,’उनले भने, ‘यही बेला कोरोना संक्रमणदर पनि बढ्न थालेकाले सबै त्रसित बनेका छन्।’

स्वास्थ्यकर्मीका अनुुसार नयाँ बिरामी धेरैजसो रुघाखोकी र श्वासप्रश्वासका छन्। नाक पिरो भयो, आँखा पोल्यो, रुघा लाग्यो, घाँटी खसखस हुने सिकायत बिरामीको छ।

पोखराको मेडिप्लस अस्पतालका फिजिसियन डा. सरोज पोखरेल पनि मौसम परिवर्तनका कारण बिरामी बढेको बताउँछन। ‘गर्मीसँगै धुवाँधुलो र वायुप्रदूषण पनि बढेको छ। नागरिकले मास्क लगाउन छाडेका छन्। ज्वरोका बिरामी पनि ह्वात्तै बढेका छन्,’पोखरेलले भने, ‘यहीबेला तुवाँलोले गर्दा पनि स्वास्थ्यमा प्रतिकूल असर देखिएका छन्।’उनका अनुसार अहिले सहरमा कोरोनाका बिरामी पनि बढेका छन्। सहरमा भित्रभित्रै कोरोना संक्रमण फैलिएको हुन सक्ने उनले बताए। स्वास्थ्य मापदण्ड पालनामा बेवास्ता, वायु प्रदूषण र खानपानमा हेलेचेक्रयाँइ गर्दा स्वास्थ्यमा विभिन्नखाले समस्था देखिन थालेको पोखरेलले बताए। डा. पोखरेलका अनुसार तुवाँलोले स्वासप्रश्वासका बिरामी बढेका छन्। तुवाँलोले फोक्सोमा असर गर्ने र निमोनियासमेत गराउने उनले बताए। वातावरणीय प्रदूषणले घाँटी खसखस हुने, टाउको दुख्ने, रुघा लाग्ने जस्ता समस्या लिएर आउने बिरामी बढेको उनले बताए। 

‘बेलैमा यसतर्फ ध्यान नदिए यसको दीर्घकालीन असर देखिन सक्छ,’उनले भने, ‘मौसमी स्वास्थ्य समस्या हामीकहाँ बढ्दै गएको छ।’जल तथा मौसम विज्ञान विभागअन्तर्गत पोखरा कार्यालयका मौसमविद् मीनकुमार अर्यालका अनुसार पानी नपरेकाले तुवाँलोले ढाकेको हो। ‘पानी परेन, हावा चलेन, त्यसले गर्दा पोखरा धुम्म परेको हो,’अर्यालले भने, ‘तापक्रम पनि नजानिँदो खालको तातो छ। पोखरा यतिबेला दिउँसोको समयमा हपक्क बनेको छ।’ यो बेला धेरैतिर डढेलो लाग्दा पनि वायुमण्डल बढी प्रदूषित भएको हुन सक्ने उनले बताए। उनका अनुसार अहिले पोखरालाई बाक्लो तुवाँलोसहितको बादलले ढाकेको छ। यसले भिजिबिलिटी पनि घटाएको छ। ‘लामो समय पानी नपर्दा यो अवस्था आएको हो, यो मौसम खुल्नका लागि कि त स्थानीय मौसमी प्रणाली सक्रिय हुनुपर्छ वा पश्चिमी वायु आउनुपर्छ,’उनले भने, ‘पोखरामा तालतलैया भएकाले यहाँ स्थानीय वायुको प्रणाली पनि विकसित हुने गर्छ। तर अहिले त्यो सम्भावना देखिएको छैन।’

प्रकाशित: ५ वैशाख २०८० ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App