१ पुस २०८१ सोमबार
image/svg+xml
शिक्षा

कोभिडको क्षति घटाउन सूर्याेदयमा सय दिन–सय शिक्षक

सुर्याेदय नगरपालिका। तस्बिरः भीम/नागरिक

नवीन कार्यक्रम कार्यान्वयनमा चर्चा बटुलिरहेको सूर्याेदय नगरपालिकाले कोभिड–१९ ले बालबालिकाको पढाइमा पुर्‍याएको क्षति घटाउन सय दिन सय शिक्षक अवधारणा ल्याएको छ। दुई चरणको कोभिडले शिक्षामा परेको असर कम गर्न नगरले आउँदो आर्थिक वर्ष २०७९/०८० को बजेट, नीति तथा कार्यक्रममा स्वयंसेवक शिक्षकको अवधारणा ल्याएको हो।  

नगरका सबै विद्यालयका सबै विषय अध्यापन गर्नेगरी सय दिनका लागि कम्तीमा सय शिक्षक खटाइने भएको हो। मेयर रणबहादुर राईले कोभिड–१९ ले सबै क्षेत्रमा असर गरेपनि शिक्षा क्षेत्रमा गरेको असर विशेष र दीर्घकालसम्म रहने भएकाले यस्तो कार्यक्रम ल्याएको बताए।  

‘कुनै पनि कारणले आर्थिक र अन्य क्षेत्रमा भएको क्षति बिस्तारै पूर्ति जाला तर शिक्षामा भएको कोभिडको क्षति दीर्घकालसम्म रहने रहेछ,’ उनले भने, ‘बालबालिकालाई कक्षा चढाएर मात्र हुँदैन, उनीहरूको भविष्य सुधार गर्न गुणस्तरीय शिक्षा आवश्यक पर्ने भएकाले कम्तीमा सय शिक्षक थपेर थोरैमा सय दिन यो कार्यक्रम सञ्चालन गरिने छ।’ उनीहरूलाई स्वयंसेवकका रूपमा खटाइने भएपनि नगरले सामान्य ‘प्याकेज’ व्यवस्था गर्ने मेयर राईको भनाइ छ।  

उनले नगरको सिंगो बजेटले नै शिक्षालाई प्राथमिकता दिएको पनि बताए। ‘नगरको समृद्धि र देश निर्माणका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनका लागि शिक्षामा लगानी बढाउनु आवश्यक छ,’ उनले भने, ‘शिक्षामा अरू पनि नवीन कार्यक्रम छन्।’ नगरमा १४ माध्यमिकसहित १४ विद्यालय छन्।  

पूर्वीपहाडकै ठूलो नगर सूर्याेदयले आउँदो वर्षका लागि १ अर्ब ३५ करोड ७९ लाख रुपैयाँको बजेट, नीति तथा कार्यक्रम पारित गर्दा स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकता सूचीमै राखेको छ। नगरले विपन्न परिवारको स्वास्थ्य बिमा निःशुल्क गरिदिने भएको छ। स्वास्थ्य बिमा सुविधामा यसअघिको कार्यक्रमलाई फराकिलो बनाइएको हो। नगरले ३/४ महिनामा विपन्न घर–परिवार पहिचान गरी यो सुविधा उपलब्ध गराउने मेयर राईले बताए।  

यसअघि विपन्न दलित, अपांगता भएका र एकल–विधवा महिलालाई व्यक्तिको स्वास्थ्य बिमा नगरले नै गरिदिएको थियो। अब मृगौला प्रत्यारोपण गरेका, डाइलाइसिस गरिरहेका, क्यान्सर, मेरुदण्ड तथा पक्षघातका बिरामीलाई औषधि–उपचारका लागि पनि बजेट विनियोजित रहेको उनले बताए।

नगरले कृषि र पशुपालनका कार्यक्रमलाई पनि प्राथमिकतासाथ अघि बढाउँदै छ। पशुमा देखिने खोरेत रोगमुक्त नगरपालिका बनाउने नगरको लक्ष्य छ। ‘खोरेत पूर्ण नियन्त्रण गर्न कम्तीमा ३ वर्ष लाग्नेरहेछ, सुरुकै वर्ष यो कार्यक्रम थाल्नेछौं,’ उनले भने, ‘गाईबस्तु खोरेतमुक्त भएपछि यहाँको दूधबाट उत्पादित खाद्यवस्तुले अन्तर्राष्ट्रिय बजारमा समेत राम्रो मूल्य पाउनेरहेछन्।’ चियाको बजारीकरण, गुणस्तर प्रवर्द्धनका लाागि टी टेस्टिङ प्रोग्राम, कृषिजन्य उपकरण, विषादी जाँच्ने ल्याव स्थापना, किसानलाई बाख्रा, भेडा, वितरणमा अनुदान दिने कार्यक्रम पनि समेटिएका छन्।

उनले चियासहित कृषि, पर्यटन, भौतिक पूर्वाधार र सामाजिक विकासका नीति–कार्यक्रम बनाएको बताए। ‘सूर्याेदय पर्यटकीय नगरी पनि भएकाले आउँदो वर्ष पर्यटकीय नगरको अर्थपूर्ण कामका लागि योजना बनाउने छौं,’ उनले भने, ‘पर्यटकीय नगरीलाई घोषणामा मात्र होइन, वास्तविकतामा बदल्ने प्रयास गर्नेछौं।’

बजेटले ‘नगरको गौरव’का रूपमा रहेको बाह«मासे सडक निर्माणलाई प्राथमिकता दिइ क्रमसः कालोपत्रे गर्ने र बहुवर्षे ठेक्कामा गएका योजनालाई सम्पन्न गर्ने नीति लिएको छ। नगरको आर्थिक विकासका नवीनतम् सम्भावना र अवसरका क्षेत्र पहिचान र प्रवर्द्धन गर्दै आर्थिक विकास, समृद्धि हासिल गर्ने बजेटको प्राथमिकता रहेको नगरले जनाएको छ। ‘समृद्ध नगरको आधार तयार गर्नु नै यसको प्रमुख लक्ष्य हो,’ मेयर राईले भने।  

नगरले सार्वजनिक, निजी र सहकारी क्षेत्रमा उपलब्ध स्रोत–साधन नगरको विकासमा परिचालन गर्ने र वित्तीय अनुशासन कायम गरी उपलब्ध स्रोत परिचालनमार्फत् अधिकतम उपलब्धि हासिल गर्ने नीतिमा उल्लेख छ।  

नगरसभाबाट पारित बजेटमा व्यय चालुतर्फ ७० करोड ५१ लाख तथा पुँजीगततर्फ ६५ करोड २८ लाख रुपैयाँ विनियोजित छ। आर्थिक विकासमा १३ करोड ५ लाख, सामाजिक विकासमा ४५ करोड १८ लाख, पूर्वाधार विकासमा ५३ करोड ५८ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ६ करोड ४२ लाख तथा प्रशासनिक र कार्य सञ्चालनका लागि १७ करोड ५५ लाख रुपैयाँ विनियोजित छ।  

आयतर्फ कूल ९४ करोड ९४ लाख रुपैयाँ अनुमान गरिएको छ। आन्तरिक राजस्व ५ करोड ४३ लाख, राजस्व बाँडफाँट १८ करोड ५ लाख, संघीय सरकारबाट वित्तीय हस्तान्तरण ५९ करोड ६५ लाख, प्रदेश सरकारबाट ९ करोड ७० लाख तथा जनसहभागिताबाट २ करोड १० लाख रुपैयाँ आम्दानीको अनुमान रहेको नगरले जनाएको छ।

प्रकाशित: १८ असार २०७९ ०४:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App