१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

नयाँ स्वरूपमा दरबार हाईस्कुल

पुनर्निर्माण

बाहिरी आवरण हेर्दा लाग्छ, यो कुनै ‘दरबार’ हुनुपर्छ अथवा कुनै ठूलो सरकारी कार्यालय । काठमाडौंको जमलस्थित मुलुककै सबैभन्दा पुरानो स्कुल दरबार हाइस्कुलको अहिले बनेको नयाँ भवन देख्दा धेरैले यस्तै अनुमान गर्दा हुन् । सुन्दर भवन देख्दा धेरैलाई स्कुलको भवन पनि यस्तो हुन्छ र भन्ने पत्यार नलाग्ला । तर, देशकै ऐतिहासिक स्कुल पुनर्निर्माण कार्य पछि निकै आर्कषक  र टलक्क टल्किने बनेको छ । लोभ्याउँदो रूप देख्दा सरकारी विद्यालय संरक्षणमा सरकारको चासो गएको अनुमान धेरैले गरेका छन् ।  

देशभरकै सरकारी स्कुलमध्येको सबैभन्दा झकिझकाउ बनेपछि विद्यार्थी संख्या पनि बढ्न थालेका छन् । ‘उपत्यकाको मौलिक र पुरानो विद्यालय पुनर्निर्माण सकिएपछि पूर्वरूप भन्दा राम्रो छ,’ संस्कृतिविद् चुण्डा बज्राचार्य भन्छिन्, ‘पुरानो स्कुललाई यसरी स्याहार गर्नु र पुरानो रूप दिनु निकै सकारात्मक हो ।’ उनले दरबार हाईस्कुल देशकै शैक्षित इतिहास बोकेको स्कुल भएकाले यसमा सबैले चासो दिनुपर्ने बताइन् ।

४६ कोठा भएको नयाँ भवन ८५ करोड लागतमा पुनर्निर्माण गरिएको हो । चीन सरकारको सहयोगमा पुनर्निर्माण गरिएको यो स्कुलको भवन निकै आकर्षक बनेको छ । हरेक कक्षा कोठामा ४० जना विद्यार्थी राख्ने व्यवस्था मिलाइएको छ ।

पछिल्लो समय विपन्न वर्गका विद्यार्थीहरूले सरकारी स्कुल रोजपछि धनीवर्ग र नेताहरूका छोराछोरी भने निजी स्कुलमा पढ्न आर्कषण भएको उनको भनाइ छ । ‘उपत्यकाको शैक्षिक क्षेत्र राम्रो थियो भन्ने सन्देश नयाँ भवनले दिएको छ,’ उनले भनिन्, ‘अब विद्यार्थी संख्या बढाउनमा जोड दिनुपर्छ ।’

पुनर्निर्माण पछि भवनको रंग र शैली निकै आकर्षक छ । सरकारी विद्यालयको भवन सुन्दर बनेपछि भूकम्पपछि पुनर्निर्माणले गति पाइरहेको छ, भन्ने अर्को आशा नागरिकमा थपिएको छ । चिनियाँ ठेकेदार कम्पनीले पुनर्निर्माण गरेको भए पनि त्यसले सरकारलाई ‘जस’ लिने बाटो बनाइदिएको छ । यो स्कुल चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको हो । सांघाई कन्स्ट्रक्सनले बनाएको भवन निकै आकर्षक बनेको छ । चिनियाँ कम्पनीले चीनकै कन्सल्ट्यान्ट र ठेकेदारले ८५ करोड लागतमा भवन पुनर्निर्माण कार्य सकाएका हुन् । नयाँ भवनमा ४६ वटा कोठा रहेको छन् ।  हरेक कक्षामा ४० जनाका दरले विद्यार्थी अटाउन सक्छन् ।

रानीपोखरीको छेउमा रहेको ऐतिहासिक दरबार हाईस्कूल (भानु माध्यमिक विद्यालय) को पुनर्निर्माण केही समय अघिमात्रै सकिएको हो । भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि स्कुलको आधुनिक पुनर्निर्माण कार्य थालिएको थियो । भवन निर्माणको लागि चीन र नेपालका गरी दैनिक १ सय कामदार खटाइएको थियो ।  

९ रोपनी क्षेत्रफलमा रहेको भवन पुनर्निर्माण गर्दा ८५ करोड खर्च भएको छ । भूकम्पअघि दुई तले (२० कोठे) रहेको दरबार हाईस्कुल अहिले चार तले र ४६ कक्षाकोठाको बनेको छ । भवनको शैली तथा नमुना ‘चाइना एभिएसन प्लानिङ एन्ड डिजाइनिङ इन्स्टिच्युट’ले तयार गरेको थियो । मौलिकता नमासिने गरी बनाइएको स्कुल आकर्षक बनेको छ । निर्माण कम्पनीका व्यवस्थापक राजेन्द्र केसीले १९ महिनामा दरबार हाईस्कूलको मौलिक रूप फकाइएको बताए । ‘पुनर्निर्माण गर्दा आर्थिक तथा संरचनाको ढाँचामा कुनै विवाद भएन, सबैको समन्वयका कारण छिटो पुनर्निर्माण सकियो,’ उनले भने ।

राणाका छोराछोरी पढाउन १९१० सालमा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाको पालामा दरबार हाईस्कूल निर्माण गरिएको थियो । १९६४ सालमा संस्कृत पढ्नका लागि मात्रै सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरियो । राजनीतिक परिवर्तन हुँदै गएपछि हाल दरबार स्कुल साझा बनेको छ ।  

अहिले विपन्न परिवारका धेरै बालबालिकाले यस स्कुलमा पढ्छन् । यो स्कुलमा २०४८ सालदेखि सबैले पढ्न पाउने व्यवस्था गरिएको थियो ।

ऐतिहासिक स्कुलको भूकम्पअघिको संरचना भने कमजोर थियो । अहिले भने निर्माण गर्दा माटो, इँटा, सुर्की र चुनासहित बलियोको लागि सिमेन्ट प्रयोग गरिएको छ ।  पुनर्निर्माणका क्रममा हाल दरबार हाईस्कुल आसपासको क्षेत्र पनि हराभरा पारिएको छ । स्कुलको अगाडिको भागमा गमला र दुबो रोपिएको छ । पहिले सम्पन्न परिवारका छोराछोरी अध्ययन गर्दै आएको  दरबार स्कुलमा हाल भने विद्यार्थीको संख्या कम छ । पछिल्लो समय न्युन आर्थिक अवस्था भएका व्यक्तिका छोराछोरी मात्रै विद्यालयमा अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक अखिलेश आजादले  

जानकारी दिए । उनका अनुसार दरबार स्कुलको शैक्षिक व्यवस्था सुधारको लागि पर्याप्त लगानी गरिरहेको भए पनि विद्यार्थी संख्या खस्किएको छ । ‘विद्यालयको संरचना बढेको छ, विद्यार्थी संख्या भने घटेको छ,’ उनले भने, ‘भवन राम्रो बनेपछि संख्या बढ्ने अनुमान गरिएको छ ।’

विद्यालय संरचना व्यवस्थित हुँदा पनि विद्यार्थीको संख्या बढेको छैन । दरबार हाईस्कुलकै भवनभित्र भूकम्पअघि भानु मावि र संस्कृत मावि पनि सञ्चालित थिए । हाल दुवै विद्यालयका विद्यार्थी गाभिएका छन् । अहिले विद्यार्थी संख्या २ सय ५० जना रहेको बताइएको छ । ३५ जना शिक्षक कर्मचारी रहेको दरबार हाईस्कुल उपत्यकाको शैक्षिक सम्पदा पनि मानिन्छ ।  

अहिले सत्ता हाक्ने अधिकांशहरूले यही पढेका थिए । तर, सत्तामा हुनेहरूले यो स्कुलको लागि गरेको योगदान भने कमजोर देखिन्छ । मन्त्री, सांसदका छोराछोरीले यस विद्यालयमा पढ्दैनन् । कुनै समय देशको नेतृत्व जन्माएको यस विद्यालयलाई अहिले विपन्न र गरिब परिवारका छोराछोरीले पढ्ने थलोका रूपमा लिने थालिएको छ । दबार हाईस्कूलका पूर्व प्रधानाध्यापक सुर्वण शाक्यले पहिले जीवन दर्शन र नैतिक विषयमा सम्बन्धित धेरै विषयहरू पढाइ हुने भए पनि अहिले ती विषयहरू लोप भइसकेको बताए । त्यतिबेलाको शिक्षा पद्धती पनि दर्शन र जीवनमा केन्द्रित बनेकोले त्यसबेलाको पठनपाठन प्रभावकारी भएको उनको भनाइ छ ।  

उनका अनुसार त्यतिबेलाका पाठ्यक्रम पनि व्यवहारिक र जीवनउपयोगी थिए । नैतिक शिक्षाको जग नै दरबार हाईस्कूल मानिन्थ्यो । करेसाबारी र कौशिखेतीबारे पढाइ हुन्थ्यो । किसानसँग विद्यार्थीहरूले कार्यशाला गराइन्थ्यो । युवाहरूलाई व्यवसायिक बनाउनको लागि पूर्वव्यावसायिक पढाइ हुन्थ्यो । सामाजिक र विज्ञान संकायमा विद्यार्थीमा चाम थियो । प्राविधिक विषय पढ्न विद्यार्थीहरूले खुबै रुचाउँथे ।

तर, २०३६ सालको राजनीतिक परिवर्तनले दरबार हाईस्कूलमा ठूलो हलचल ल्यायो । स्वतन्त्र सरकारी शिक्षा आर्जनको केन्द्रलाई राजनीतिक अखडा बनाए ।

२०४० सालसम्म दरबार हाईस्कूलको पढाइ खल्बिल्लिएको थियो । पूर्व प्रध्यानाध्यापक शाक्य भन्छन्, ‘राजनीतिक भातृ संगठन स्थापना भएपछि नेपालको शिक्षा प्रणालीमा ठूलो असर पर्‍यो, देशकै सबैभन्दा बढी विद्यार्थी रहेको दरबार हाईस्कूलमा राजनीतिक नारा लगाउन थालिएका थिए, त्यसले पनि दरबार हाई स्कूललाई असर पारेको थियो र हालसम्म पनि शैक्षिक क्षेत्रमा राजनीतिक दबदबा उस्तै छ ।’  

उनले २०३० सालमा दरबार हाईस्कुलमा २ हजार ३ सय जना विद्यार्थी रहेको बताए । उक्त संख्या २०४० सालमा पुग्दा १ हजार २ सयमा झरेको थियो । राजनीतिक अवरोधका कारण विद्यार्थीको संख्या पनि घटेको थियो । शाक्यका अनुसार २०३५ सालअघिसम्म दरबार हाईस्कुलका कक्षाकोठा १० वटा थिए । त्यस्तै, बैठक हल पनि बनाइएको थियो । विद्यालयको आसपासमा बगैंचा बनाइएको थियो । ‘२०३० सालभन्दाअघि दरबार स्कुलको भौतिक अवस्था निकै कमजोर थियो,’ उनले भने, ‘२०३३ सालमा हामीले भौतिक संरचना व्यवस्थित भयो, भौतिक संरचना राम्रो भए पनि राजनीतिक अवस्थाका कारण पढाइ प्रभावित बन्यो ।’

संस्कृतिविद् सत्यमोहन जोशीले दरबार हाईस्कुल पुरानो शिक्षा प्रणाली र शैक्षिक इतिहास बोकेको संस्था भएकोले यसलाई थप व्यवस्थित गरी सञ्चालन गर्नुपर्ने बताए । ‘दरबार हाईस्कुल नभएको भए पढेलेखेकाहरूको संख्या कम हुने थियो,’ उनले भने, ‘राणाले नै बनाएको भएर राजनीतिक परिवर्तनपछि जनताका छोराछोरीले पढ्न पाए, यो निकै गतिलो कुरा हो,’ उनले भने ।

प्रकाशित: १४ माघ २०७७ ०१:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App