काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभाको साधारण बैठकले आर्थिक वर्ष २०७५/०७६ को लागि २१ अर्ब १० करोड ८० लाख १३ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ। प्रस्तावित बजेटमा ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार नेपाल सरकारबाट अनुदानको रुपमा माग गर्ने र बाँकी ९ अर्ब ७९ करोड ६ लाख २८ हजार रुपैयाँ आन्तरिक स्रोतबाट खर्च गर्ने उल्लेख छ।
त्रिवि सभाको साधारण बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको अभियान सार्थक बनाउने सक्षम दक्ष जनशक्ति निर्माण गरेर विश्वकै अब्बल विश्वविद्यालयको रुपमा त्रिभुवन विश्वविद्यालय अघि बढ्नुपर्ने बताए। शिक्षा क्षेत्रमा क्षमताका अधारमा जिम्मेवारी प्रदान गरिने भन्दै उनले मुलुकको स्रोत र साधन अनुकुल आफ्ना नीति कार्यक्रम निर्धारण गरी सञ्चालन गर्न समेत त्रिविलाई सुझाव दिए।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले विश्वविद्यालयको अध्ययन उत्पादनशील हुनुको साथै राष्ट्रको आवश्यकता अनुकुल हुनुपर्ने बताए। मुुलुकमा अब परम्परागत विषयमा भन्दा मौसम परिवर्तन, आर्थिक विकास र प्रविधि लगायतका विषयमा गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए।
त्रिविका उपकुलपति प्रा.डा तीर्थराज खनियाले त्रिविले नेपालको समस्त क्षेत्रको विकासका लागि आवश्यक जनशक्ति तयार गर्न, राष्ट्रिय संस्कृति र परम्पराको संरक्षण र सम्वर्द्धन गर्न, कला, विज्ञान, प्रविधि तथा व्यवसायिक क्षेत्रको ज्ञान र अनुसन्धानलाई व्यापक र समय सापेक्ष बनाउन स्थापनाकालदेखि नै क्रियाशिल रहेको बताए। विकासका लागि त्रिवि भिजन – २०३०’ तयार गरी कार्यान्वयन गर्न लागिएको भन्दै उनले सम्पूर्ण अध्ययन संस्थान, सङ्काय, केन्द्रीय विभाग एवम् आङ्गिक क्याम्पसहरुलाई उत्कृष्टताको केन्द्रको रुपमा विकास गर्ने उनको भनाई छ।
सभाले त्रिवि कार्यकारी परिषद्को सदस्यमा वनस्पतीशास्त्रका प्रा.डा मोहनप्रसाद पन्थी र शिक्षाशास्त्र सङ्कायका डीन प्रा.डा कृष्णप्रसाद गौतमको नाम समेत अनुमोदन गरेको छ।
कार्यक्रमा त्रिवि शिक्षाध्यक्ष प्रा.डा सुधा त्रिपाठीले सभा सञ्चालन गरेकी थिइन भने रजिष्ट्रार डिल्लीराम उप्रेतीले आर्थिक वर्ष २०७५/०७५को लागि प्रस्ताव बजेट पेश गरेका थिए। बजेट छलफलमा आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र(सेडा)का कार्यकारी निर्देशक डा.अरुण ठाकुर, सामुदायिक क्याम्पसका संघका सभापति भोलानाथ ओझा, जनप्रशासन क्याम्पसका स्ववियु सभापति पंकज क्षेत्री, नेपाल प्राध्यापक संघका सभापति रामेश्वर उपाध्याय, नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास)का कार्यकारी निर्देशक डा. मिर्गेन्द्र बहादुर कार्की, त्रिवि पूर्व शिक्षाध्यक्ष प्रा.डा राममान श्रेष्ठ लगायतले टिप्पणी गरेका थिए।
प्रकाशित: २ आश्विन २०७५ १०:०८ मंगलबार