१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

प्राविधिक शिक्षालाई ‘मूलधार’ बनाइने

काठमाडौं – प्राविधिक तथा व्यवसायिक शिक्षा प्रवद्र्धन गर्न सरकारले ‘प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान २०७५’ घोषणा गरेको छ। एसइई नतिजा प्राप्त गरी प्राविधिक शिक्षाको डिप्लोमा कार्यक्रममा भर्ना हुन लागेका विद्यार्थीलाई लक्षित गरी यस्तो अभियान थालिएको हो।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सिटिइभिटीद्वारा आयोजित अभियान घोषणा कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल अभियान घोषणा गरे।

मन्त्री पोखरेलले उत्पादन, गुणस्तर र रोजगारीसँग जोडी प्राविधिक शिक्षालाई शिक्षाको मूल धार बनाइने बताए। पोखरेलले भने, ‘पढाउन मात्र होइन, प्रविधि र सीपसँगै प्रमाणपत्र बोकेको जनशक्तिलाई बजारले लिनसक्ने बनाऔं।’ उनले अहिले नीति, ऐन र संरचना बनाउने क्रममा सरकार रहेको र आफूले प्रस्तुत गरेको १० बुँदे मार्गचित्र अनुसार शिक्षा सुधार्न लागीपरेको दाबी गरे। शिक्षा सचिव खगराज बरालले प्राविधिक शिक्षा प्रयोगात्मक अभ्यासबिना सिद्धान्तमा मात्र सीमित हुने भन्दै भौतिक पूर्वाधार, कार्यक्रम र प्रशिक्षकको पर्याप्ततामा मात्र यो सार्थक हुने बताए। उनले रामपुर कृषि क्याम्पसमा जग्गा बाँझा भएको पशुविज्ञान पढाउने ठाउँमा गाई दुब्लाएको भन्दै प्राविधिक शिक्षामा प्रयोगात्मक पक्ष कमजोर भएको बताए। सचिव बरालले सैद्धान्तिक पढाइ भइरहने तर अभ्यासमा कमी हुँदा विद्यार्थीको दक्षता विकास नहुने बताए।

सिटिइभिटीका सदस्यसचिव पुष्परमण वाग्लेले प्राविधिक शिक्षामा आकर्षण गरी सिटिइभिटीअन्तर्गतका विभिन्न धारका शिक्षालयहरुमा गुणस्तरीय शिक्षाका निम्ति राष्ट्रिय जागरण अभियान थालिएको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा पदबहालीकै दिन ७ सय ५३ वटै स्थानीय तहमा सिटिइभिटीअन्तर्गतको एउटा प्राविधिक शिक्षालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । प्राविधिक शिक्षा राष्ट्रिय जागरण अभियान समारोह सुरु हुनुअघि काठमाडौं महानगरको टुँडिखेलबाट विभिन्न स्थान हुँदै प्रभातफेरी कार्यक्रम गरिएको थियो।

देशभर सिटिइभिटीअन्तर्गत जम्मा ६ सय ५३ प्राविधिक शिक्षालय रहेका छन्। जसमा ४ सय २९ निजी, पाँचवटा साझेदारीमा सञ्चालित, ३४ वटा आंगिक शिक्षालय रहेका छन्। त्यस्तै, १ सय ८५ वटा सामुदायिक माविमा प्राविधिक शिक्षाका कार्यक्रम चलेका छन्। सिटिइभिटीअन्तर्गत कूल १ हजार ३ सय ९२ वटा कार्यक्रम छन् भने करिव ८० हजार विद्यार्थी अध्ययनरत छन्।

प्रकाशित: २५ असार २०७५ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App