१६ वैशाख २०८१ आइतबार
image/svg+xml
शिक्षा

बालबालिकाको भविष्य निर्माण गर्ने विद्यालय छानौं

बालबालिकालाई राम्रो विद्यालयमा पढाउने हैसियत छ, खल्तीमा पैसा पनि छ तर तपाईंले सही विद्यालय छान्न सक्नुभएन भने उनीहरूको भविष्यले सही आकार पाउँदैन। चैत महिना सुरु भएसँगै अधिकांश अभिभावक चिन्तामा छन्। बालबालिकालाई कक्षा १ मा कहाँ भर्ना गराउने भन्नेबारे उनीहरू चिन्तित छन्। अर्कातिर विद्यालयलाई विद्यार्थी भर्नाको चटारो छ।  

अभिभावकहरू बालबालिकाको तीन वर्षे पूर्वप्राथमिक शिक्षापछि कक्षा १ मा भर्ना गराउन भौंतारिइरहेका छन्। आफ्ना बालबालिकाको भर्नाका लागि कतिपयले त दुईतीनवटा स्कुलको फारमसमेत भरेका छन्। सरकारले यस वर्षदेखि कक्षा १ मा प्रवेश परीक्षा लिने व्यवस्थाको अन्त्य गरेको छ तर पनि अभिभावकहरू ठाउँठाउँका स्कुल चहार्दै प्रवेश परीक्षा दिलाइरहेका छन्। कतिपय स्कुलले फस्ट कम फस्टको व्यवस्था पनि गरेका छन्।  

यसले अभिभावकलाई त सास्ती छ नै, ससाना बालबालिकालाई पनि मानसिक तनाब थपिएको छ। अभिभावकहरू बालबालिकाप्रति सचेत भएकै कारण सास्ती खेप्न पनि बाध्य बनेका छन्। शिशुदेखि कक्षा १२ सम्म अर्थात् बालबालिकाले जीवनको १३ वर्ष विद्यालयमै बिताउने गरेका छन्। त्यही भएर अभिभावकहरू स्कुल छनोटमा चुक्न चाहँदैनन्। त्यसो भए अभिभावकले कस्तो स्कुलमा नानीको भविष्य सुरक्षित बनाउन सक्छन् त ?

भविष्य बनाउने स्कुल छानौं

शिक्षाविद् प्रा.डा. टंकनाथ शर्माले अचेल अभिभावकहरू महँगो स्कुलमा पढाउँदा गर्व महसुस गर्ने भएकाले स्कुल छनोट पनि फेसनका रूप लिँदै गएको बताउँछन्। यसकारण अभिभावकले फेसनमा होइन, बालबालिकाको भविष्य कोर्ने स्कुल छनौट गर्नुपर्ने सुझाए।  

‘शिक्षकहरूले सञ्चालन गरेको शिक्षण सिकाइको वातावरण भएको स्कुल छान्नुपर्छ,’ शिक्षाविद् शर्मा भन्छन्, ‘जसका कारण १३ वर्षको विद्यालय शिक्षापछि बालबालिकाको भविष्यले एक निश्चित आकार पाउँछ।’ उनले थपे, ‘मुख्य कुरा समुदायको सक्रियता भएको स्कुल छान्दा उनीहरूले गुणस्तरीय शिक्षण सिकाइ गर्छन्।’

व्यावहारिक ज्ञान दिने स्कुल छानौं

शिक्षाविद् डा. विद्यानाथ कोइरालाले स्कुलको रटन्ते सिकाइ–प्रणालीले बालबालिकाले गलत सिकिरहेको बताउँछन्। स्कुलले बालबालिकालाई किताबी ज्ञानभन्दा व्यावहारिक ज्ञान दिनुपर्ने कोइरालाको धारणा छ। उनका अनुसार अभिभावकले स्कुल छनोट गर्दा व्यावहारिक शिक्षा सिकाउनेबारे समेत हेर्नुपर्छ। ‘ससाना बालबालिकाले पढाइ मात्र नरुचाउने भएकाले उनीहरूलाई विषयवस्तुको ज्ञान दिने, विभिन्न परिकारको स्वाद चखाउने तथा प्रयोग गराउने विद्यालयमा भर्ना गराउनुपर्छ,’ उनको सुझाव छ, ‘अनि मात्र उनीहरूले सिकेका कुरा जीवनभर स्मरण गर्न सक्ने उनी बताउँछन्।’

केमा प्राथमिकता दिने ?

प्रायः स्कुलले बालबालिकालाई चौतर्फी ज्ञान दिने उद्देश्यसहित घोडचढी सिकाउने, स्विमिङलगायतका क्रियाकलाप सिकाउँछन्। यसका साथै स्कुलमा शिक्षा उपलब्ध गराउनुका साथै स्कुलमै खानाको समेत व्यवस्था गरेका छन्। बालबालिकालाई सेवासुविधा दिएअनुसारकै शुल्क पनि लिएका छन् तर यी सेवासुविधाले बालबालिकाको सिकाइलाई प्रभावित गर्न सक्छ कि सक्दैन भन्ने मुख्य विषय बनेको शिक्षाविद् शर्माको ठहर छ।

‘बालबालिकालाई घोडचढी गर्नु, स्विमिङ सिक्नु आवश्यक छ कि फूल रोप्नु, धर्मसंस्कृतिबारे जानकारी दिनु, नैतिक शिक्षा दिनु स्कुलका प्राथमिकता हुन्। प्राथमिकता के हो भन्नेमा स्पष्ट हुनुपर्छ,’ शिक्षाविद् शर्मा भन्छन्, ‘बालबालिकालाई बोझभन्दा पनि सिक्ने जाँगर जगाउने शिक्षा दिने स्कुल छान्नुपर्छ।’ उनले खानाको सबालमा उनीहरूको रुचिका आधारमा घरबाटै बनाई पठाएको खाना उचित हुने सुझाए।

कस्तो शिक्षा दिने हो अभिभावक स्पष्ट हुनुपर्छ

सबै अभिभावकहरूको आर्थिक हैसियत समान हुँदैन। आर्थिक हैसियत समान भए पनि सबै अभिभावकको सिद्धान्त एउटै नहुने भएकाले आफ्ना बालबालिकालाई कस्तो शिक्षा दिनेबारे अभिभावकहरू स्पष्ट हुनुपर्ने प्रिमियर स्कुलकी प्रविना थापा बताउँछिन्। निजी शिक्षा क्षेत्रमा योगदान दिँदै आएकी थापा भन्छिन्, ‘आफ्ना बालबालिकालाई परम्परागत घोकन्ते शिक्षा दिने कि सिर्जनात्मक क्षमता विकास गर्ने ? यसमा अभिभावक पहिल्यै स्पष्ट हुनुपर्छ।’ सिर्जनशील बनाउने शिक्षा उमेरअनुसार दिइने हो। यो अलि खर्चिलो हुन्छ। ‘आफ्ना बालबालिकालाई क्षमतावान्, विचार व्यक्त गर्नसक्ने र विश्लेषणात्मक क्षमता विकास गराउने हो भने व्यावहारिक शिक्षामा जोड दिनुपर्छ,’ उनले भनिन्, ‘समय र पैसा खर्च भए पनि स्कुल शिक्षा पूरा भएपछि नानीहरू आत्मविश्वासी र नेतृत्वदायी बन्छन्।’ उनले थपिन्, ‘यही शिक्षा नै बालबालिकाको जीवनकालसम्म उपयोगी बन्छ। प्रिमियरले व्यावहारिक शिक्षामा जोड दिँदै आएको छ।’

स्कुलको वातावरण हेर्न आवश्यक

जीवनको आधार बनाउने थलो नै स्कुल भएकाले अभिभावकका लागि स्कुल छनोट चुनौती र अर्थपूर्ण हुन्छ। वृहस्पति विद्यामन्दिरका प्रिन्सिपल कुमार थापाका अनुसार अभिभावकहरूले स्कुल छनोट गर्दा विद्यालयभित्रको वातावरण अवश्य हेर्नुपर्छ। विद्यालयभित्रका बोलीचाली तथा त्यहाँका व्यक्तिहरूले गर्ने व्यवहार, आचरण राम्ररी बुझ्नुपर्छ।

‘स्कुलमा अतिरिक्त क्रियाकलाप हुन्छन् कि हुँदैनन्, खेलमैत्री, सिर्जनात्मक ज्ञान दिने क्रियाकलापमैत्री विद्यालय छान्नु नै उपयुक्त हुन्छ,’ प्रिन्सिपल थापा भन्छन्, ‘बालबालिकाको भाषासाथै असल आचरण निर्माण गर्ने स्कुलमा पढाउनुपर्छ।’ उनले थपे, ‘सरकारले कक्षा १ मा भर्नाका लागि प्रवेश परीक्षाको व्यवस्था हटाउनु प्रशंसनीय कार्य गरेको छ।’

खल्ती हेरेर स्कुल छानौं  

सरकारले विद्यालय शिक्षा निःशुल्क गरिसकेको छ। शिक्षाविद् कोइरालाले सकेसम्म अभिभावकले सार्वजनिक स्कुल पढाउनु नै राम्रो हुने सुझाउँछन्। सार्वजनिकमा सबैलाई समान व्यवहार गरिन्छ। अभिभावकले क्षमताअनुसार स्कुल छनोट गर्दा राम्रो हुने शिक्षाविद् कोइरालाको भनाइ छ। निजीतर्फ सस्तादेखि महँगा र राम्रा स्कुल छन्। ‘स्कुलले लिने मासिक, वार्षिक तथा विभिन्न शुल्कबारे पहिल्यै बुझ्नुपर्छ,’ कोइरालाले भने, ‘राम्ररी बुझेर भर्ना गर्दा पछि पछुताउनु पर्दैन।’

भौतिक पूर्वाधार आवश्यक

एपेक्स लाइफ स्कुलका अध्यक्ष एवम् एनप्याब्सनका सहअध्यक्ष सुवास न्यौपाने अभिभावकले बालबच्चाको भविष्य निर्माणसँगै चौतर्फी विकास हुने स्कुल छान्न सुझाउँछन्। आफ्ना छोराछोरीलाई विद्यालय भर्ना गर्नुअघि त्यहाँको भौतिक पूर्वाधारबारे बुझ्नुु आवश्यक छ। बालबालिकाको सर्वाङ्गीण विकासका लागि खुला ठाउँ अति आवश्यक रहेको न्यौपानेको भनाइ छ। उनी अभिभावकलाई पढाइसँगै प्रकृतिसँग साक्षात्कार गराउने भौतिक पूर्वाधार भएको स्कुल छान्न सुझाउँछन्।  ‘पर्याप्त मल्टीमिडियासहितको भौतिक पूर्वाधार भएको स्कुल छान्दा बालबालिकाहरूले विषयवस्तुको गहिराइसम्म पुग्छन्,’ उनले भने, ‘यसले बालबालिकाको सिकाइ उपलब्धि कालान्तरसम्म बढाउँछ।’

संस्था हेर्नुपर्छ

हाल स्कुल खुल्ने र बन्द हुने प्रवृत्ति बढिरहेको छ। त्यसकारण अभिभावकले स्कुल छनोट गर्दा संस्थाको स्थायित्वबारे पनि बुझ्नुपर्ने काठमाडौं बल्र्ड स्कुलका डा. मिथिलेशकुमार झा बताउँछन्। स्कुल कसले सञ्चालन गरेको हो ? सञ्चालक समूहमा को को छन् ? यसबारे बुझ्नुपर्ने उनको सुझाव छ। उनी स्कुलको कम्तीमा तीन वर्षको नतिजा अध्ययन गर्न अभिभावकलाई सल्लाह दिन्छन्।

नानीहरूलाई नजिकैको स्कुलमा भर्ना गर्दा शारीरिक र मानसिक दुवै तवरबाट उचित हुने इम्पेरियल स्कुलकी निर्देशक प्रिन्सिपल जुनिता कार्कीको अनुभव छ। उनका अनुसार घरबाट नजिकको स्कुलमा नानी पढाउँदा उनीहरू स्कुल आउँदा र फर्कंदा धेरै समय जाँदैन। बचेको समय बालबालिकाले खेलकुद, पठनपाठन तथा अन्य क्रियाकलाप गर्न सक्छन्। यसले बालबालिकाको बौद्धिक विकास हुने उनी बताउँछिन्।  

बालबालिका परिपक्क हुँदैनन्। त्यही भएर आफ्ना बालबालिकाका लागि स्कुल छनोट गर्दा पाठ्यक्रमबारे अवश्य बुझ्नुपर्छ। जिनियस आइबी वल्र्ड स्कुलकी नेहरू जोशीले उत्कृष्ट विषयवस्तु समेटिएको पाठ्यक्रममा आधारित शिक्षा दिने स्कुल छान्न अभिभावकलाई सुझाउँछिन्। एपेक्स लाइफ स्कुलका संस्थापक न्यौपानेले अभिभावकले पाठ्यक्रममा विशेष ध्यान दिनुपर्ने सुझाए ।

प्रकाशित: ३० फाल्गुन २०७९ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App