४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

उपचुनावको सन्देश

गत शनिबार बझाङमा प्रदेश सांसद र इलाममा संघीय सांसदका लागि भएको चुनावले मुलुकको राजनीतिक हावा कता बगिरहेको छ भन्ने बुझ्न सघाएको छ। यतिबेला मतदाता कुन दल, कुन वाद वा कुन विचार मन पराउँछन् वा उनीहरू राजनीतिप्रति कति वितृष्णा पालेर बसेका छन् भन्ने जिज्ञासाको उत्तर पनि यो चुनावको परिणामले दिएको छ। खासमा दल/व्यक्ति विशेषको वास्तविक धरातल सम्झाइदिएको छ यो चुनावले।

यतिबेला नेपाली मतदातासँग राजनीतिप्रति रुष्ट भएका अनुमान सर्वत्र गरिएको हो। तर बझाङमा ४९ प्रतिशत र इलाममा ५७ प्रतिशत हाराहारीमा मतदान हुनुले यो अनुमानमा आशंका गर्ने ठाउँ दिएको छ। मुलुक चलाउने सबै नीतिको माउनीति राजनीति भएकाले यसमा सम्पूर्ण मतदाता प्रत्यक्ष संलग्न नभए पनि चासो राख्नु लोकतन्त्र फस्टाउनका लागि अपरिहार्य छ। यसरी हेर्दा मतदानमा देखिएको यो सहभागितालाई उत्साहजनक नै भन्नुपर्छ। भलै बाँकीले किन मतदान गरेनन् भनेर खोजतलास गर्नु पनि उत्तिकै आवश्यक छँदैछ।

अब पुराना दलका दिन सकिए भन्ने भाष्य पछिल्लो समय एउटा वृत्तबाट खडा गरिँदै आएको थियो। अर्कोतर्फ नयाँ खोलिएका दलले चमत्कार नै गर्छन् भन्ने हौवा पनि फैलाइएको थियो। चुनावमा पनि त्यसैगरी प्रचारप्रसार गरिएको थियो। तर मतदाताले यी दुवै दाबीलाई खारेज गरिदिए। पुराना दलले आमजनको अपेक्षा अनुरूप काम नगरे पनि आशा गर्ने ठाउँचाहिँ बाँकी परिणामले देखाएको छ।

अर्कोतर्फ लोकतन्त्रमा विधि र प्रक्रियाभन्दा पनि व्यक्तिविशेषलाई सर्वोच्च स्थानमा राखेर अघि बढ्न खोज्ने प्रवृत्तिलाई मतदाताले अस्वीकार गरे। केही लोकप्रिय निर्णय गरेर वाहवाही खाने बानी परेका र दीर्घकालीन असर/प्रभावबारे नसोच्नेहरूलाई पनि मतदाताले सशंय गरेका छन्। पहिचानका नाममा, जातका नाममा, धर्मका नाममा, वर्गका नाममा वा कुनै वंशवादका आधारमा राजनीति गर्नेहरूलाई पनि उनीहरूले भद्रतवरले सतर्क गराएका छन्। तर, पहिचानको राजनीतिलाई पूर्णरूपमा अस्वीकार गर्न पनि नहुने प्रस्ट संकेत पनि गरेका छन्।

अवश्य हो, नेपाली कांग्रेस र एमालेले अक्षम्य गल्ती गरेका छन्। त्यो पनि पटक पटक। भ्रम नपाले हुन्छ, जनताले खुसी भएर यिनै पुराना दललाई मतको पोको ओइराएका हैनन्। तुलनात्मकरूपमा अहिलेका लागि आफ्नो निर्णय दिएका मात्र हुन्। विजयी हुनेहरू राम्रो काम गरेकाले हैन, विकल्पमध्ये कम खराब छनोट गरेका मात्र हुन्।

स्थिरता समृद्ध मुलुकका लागि पहिलो सर्त हो। हाम्रो सन्दर्भमा राजनीतिक स्थिरता कंग्रेस, एमाले जस्ता ठूला दलबाट मात्र सम्भव देखिन्छ। अझ यी दुई दल मिल्दा झनै प्रभावकारी वातावरण बन्न सक्छ। अहिले आममतदाताले यी दुई दलप्रति मतमार्फत प्रदर्शन गरेका अपेक्षा पनि यही स्थिरताका चाहना हो भन्ने बुझ्न कठिन छैन । मतदाताले त आफ्नो चाहना मतपत्रमार्फत व्यक्त गरे। अब यसलाई व्यावहारिक साँचोमा ढाल्ने काम भने यिनै ठूला दलको काँधमा आइपुगेको छ। उपचुनावको ताजा नतिजालाई यही सन्देशका रूपमा बुझ्दा सबैको भलो होला।

प्रकाशित: १८ वैशाख २०८१ ०६:०९ मंगलबार

Download Nagarik App
Download Nagarik App