सरकारले यस वर्षको शरद ऋतुका लागि हिमाल आरोहण खुला गरेसँगै हालसम्म ६ करोड ५९ लाख ९३ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। कुल ३१ वटा हिमाल आरोहण शुल्कबाट सरकारले उक्त राजस्व संकलन गरेको हो।
यस ऋतुमा मनास्लु हिमाल आरोहणका लागि सबैभन्दा बढी अनुमति लिइएको छ। पर्यटन बोर्डको तथ्याङ्क अनुसार ३८ वटा टोलीमा ३ सय ७ पुरूष र ९७ महिला गरी जम्मा ४ सय ४ जनाले मनास्लु हिमाल आरोहण अनुमति लिएका छन्। यस बापत सरकारले ४ करोड ६२ लाख ९१ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। ८ हजार १ सय ६३ मिटर अग्लो हिमाल मनास्लुको अनुमति दिँदा यस ऋतुमा सबैभन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो।
मनास्लुपछि हिमलुङ हिमालको आरोहण अनुमतिबाट सरकारले ४३ लाख ६५ हजार राजस्व संकलन गरेको छ।
बोर्डको तथ्याङ्क अनुसार ७ हजार १ सय २६ मिटर उचाइ भएको हिमलुङ हिमालमा १३ टोली अन्तर्गत १ सय ३ पुरूष र १८ महिला गरी जम्मा १ सय ३१ जनाले आरोहण अनुमति लिएका छन्।
यसैगरी सरकारले धैलागिरी हिमालबाट ४३ लाख ६५ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। ८ हजार १ सय ६७ मिटर उचाइ भएको धैलागिरी हिमालमा हालसम्म ४ वटा टोलीले अनुमति लिइसकेको छ। जम्मा ३४ जनाले आरोहण अनुमति लिएकोमा २३ जना पुरूष र ११ जना महिला रहेको तथ्याङ्क छ।
धवलागिरीपछि विश्वको सर्वोच्च शिखर सगरमाथाबाट हालसम्म ३५ लाख रूपैयाँ राजस्व उठेको छ। एउटा टोलीले मात्र आरोहण अनुमति लिएको छ र त्यसमा ५ जना आरोही रहेका छन्। पाँच जनामा ४ जना पुरूष र १ जना महिला रहेका छन्।
अत्यधिक हिऊँ पर्ने भएकाले शरद ऋतुमा सगरमाथा चढ्ने आरोहीहरू कम हुने बोर्डका सूचना अधिकृत विदुर तिमल्सिनाले बताए। उनले शरद ऋतुमा मनास्लु हिमाल आरोहण गर्नेहरू सबैभन्दा बढी हुने उल्लेख गर्दै ‘अक्टुवर र नोभेक्बरमा हिमाल सफा, खुला र स्थिर हुने भएकाले मनास्लुमा उल्लेख्य मात्रामा हिमाल आरोहण गर्छन् तर यस वर्ष भने वातावरणीय प्रभावले गर्दा हिमपहिरोले बढेको हुँदा आरोहीहरूलाई निकै सकस परेको छ’, उनी भन्छन्-‘आरोहणकर्ताको निधन समेत भएको छ, जुन मुलुककै लागि दुखद घटना हो।’
हालसम्म यस ऋतुमा ९५ वटा टोलीले पर्यटन बोर्डबाट हिमाल आरोहण अनुमति लिइसकेका छन्। पर्यटन बोर्डको तथ्याङक अनुसार जम्मा ७ सय ८५ जनाले हिमाल आरोहण अनुमति लिएकोमा ५ सय ९७ पुरूष तथा १ सय ८८ महिला रहेका छन्।
यसैगरी अमादब्लम हिमालबाट सरकारले २९ लाख रोयल्टी रकम संकलन गरेको छ। अनुमति लिएका पाँच टोलीमा ४४ पुरूष र १२ महिला गरी जम्मा ५६ जना रहेका छन्।
यस्तै हालसम्म मनसैल साउथ हिमालबाट सबैभन्दा कम राजस्व संकलन भएको छ। ६ हजार २ सय ५१ मिटर उचाइ भएको यस हिमालबाट ३२ हजार रूपैयाँमात्र राजस्व उठेको छ।
बसन्त ऋतुको मार्च, अप्रिल र मे महिनामा अत्यधिक अरोहीहरूले हिमाल आरोहण गर्दछन्। हिमाल आरोहणका लागि बसन्त ऋतु सबैभन्दा उपयुक्त मानिन्छ। त्यसपछि शरद ऋतुको सेप्टेम्बर, अक्टुबर र नोभेम्बर महिनामा पनि हिमाल आरोहण हुने गर्दछ। यीबाहेक अन्य ऋतु हिमाल आरोहणको लागि उपयुक्त मानिँदैनन्।
पर्यटन विभागले गत भदौ ८ देखि शरद ऋतुको हिमाल आरोहण खुला गरेसँगै नेपालसहित विश्वका विभिन्न राष्ट्रका आरोहीहरूले हिमाल आरोहणका अनुमति लिइरहेका छन्। यसैगरी हिमाल आरोहणका लागि सरकारले ऋतु र हिमाल अनुसार फरक-फरक राजस्व तोकेको छ।
यसैगरी ऋतु र हिमाल अनुसार विदेशी तथा स्वदेशी आरोहीका लागि सरकारले राजस्व दर फरक-फरक निर्धारण गरेको छ।
प्रकाशित: २४ आश्विन २०७९ ०३:०९ सोमबार