४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कोभिड महामारीका कारण पर्यटन आगमन ४४ वर्षयताकै न्यून

कोभिड महामारीको कारण अघिल्लो वर्षको तुलनामा सन् २०२० मा पर्यटक आगमन करिब ८१.० प्रतिशतले घटेर २ लाख ३० हजार ८५ मात्र रहेको आर्थिक सर्वेक्षण ०७८/७९ ले देखाएको छ। त्यस्तै सर्वेक्षणले सन् २०२१ मा यो संङ्ख्या ३४.३ प्रतिशतले घटेर १ लाख ५० हजार ९ सय ६२ रहेको जनाएको छ। यो संख्या १९७७ पछिकै सबैभन्दा न्यून हो।

आर्थिक सर्वेक्षण ०७८/७९ अनुसार सन् २०२१ मा विदेशी पर्यटकबाट प्राप्त भएको विदेशी मुद्रा आर्जन ४६.० प्रतिशतले घटेर १३ अर्ब ५० करोड ११ लाख मात्र रहेको देखाएको छ। यस्तै सन् २०२१ मा प्रति पर्यटकको औसत बसाइ १५.५ दिन र प्रतिदिनको खर्च ४८ डलर रहेको छ। यो खर्च सन् २०२० को तुलनामा २६.१ प्रतिशत न्यून भएको सर्वेक्षणले देखाएको छ।

सर्वेक्षण अनुसार कुल पर्यटकको आगमन संख्याको आधारमा सन् २०२१ मा सबैभन्दा बढी पर्यटक आउने मुलुकमा क्रमशः भारत ४२.८३ प्रतिशत, अमेरिका १५.१३ प्रतिशत, बेलायत ५.७५ प्रतिशत, र चीन ४.१० प्रतिशत रहेका छन् भने बाह्य तथा आन्तरिक पर्यटक मध्ये अधिकांश पर्यटकको भ्रमण गन्तव्य लुम्बिनी भएको सर्वेक्षणले जनाएको छ।

सर्वेक्षण अनुसार हिमाल आरोहण गर्ने पर्वतरोहण दलको संख्या सन् २०२१ मा ७ सय ६३ रहेको थियो। कोभिडको कारण पर्वतरोहीको संख्यामा भएको कमीले यसबाट प्राप्त हुने रोयल्टी सन् २०२० मा १ करोड ४९ लाख ७९ हजार मात्र संकलन भएको थियो। भने २०२१ मा रोयल्टीमा वृद्धि भई ६३ करोड ५२ लाख ४९ हजार संकलन भएको सर्वेक्षणले देखाएको छ।

सर्वेक्षणले जनाएअनुसार ०७७ फागुनसम्म १ सय ४२ तारे होटल रहेकोमा ०७८ मा १ सय ६२ पुगेको छ। यस्तै ०७८ फागुनसम्म ५८ ट्राभल एजेन्सीहरू थप भई ३ हजार ८ सय १ को संख्यामा पुगेको देखाएको छ। सर्वेक्षणले ०७८ फागुनसम्म २ हजार ८ सय २१ ट्रेकिङ एजेन्सी, ३ हजार ८ सय १ ट्राभल एजेन्सी, र्‍याफ्टिङ एजेन्सी ८७, र पर्यटक यातायात सेवा व्यवसायीको ८५ को संख्यामा दर्ता भएको उल्लेख गरेको छ।

यस्तै टुर गाइड ४ हजार ५ सय ५७, ट्रेकिङ गाइड १९ हजार १ सय ६६, र रिभर गाइडको ३ सय २४ को संख्यामा अनुमतिपत्र लिएको जनाएको छ।

०७८ फागुनसम्म नेपालमा अन्तराष्ट्रिय उडान भर्ने वायुसेवाको संख्या २२ रहेको र द्विपक्षीय हवाई सेवा सम्झौता भएको देशहरूको संख्या ४१ पुगेको सर्वेक्षणले देखाएको छ। आन्तरिकतर्फ उडान भर्ने वायुसेवाको संख्या २० रहेको र निर्माण सम्पन्न भएको विमास्थलको संख्या ५३ भएको उल्लेख गरेको छ। यस्तै कालोपत्र भएका विमानस्थल ३७ को संख्यामा रहेकोमा ३२ विमानस्थल नियमित सञ्चालनमा रहेको उल्लेख गरेको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य र अन्तर्राष्ट्रिय उडान सेवा सञ्चालन गर्न क्यालिब्रेशन लगायतका कार्य सम्पन्न भएकोमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अधिकांश कार्य सम्पन्न भई नेपाल सरकारलाई हस्ताणतरण गरेको उल्लेख प्रतिवेदनमा रहेको छ। प्रतिवेदनमा सन् २०२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानतर्फ यात्रु आवगमनको संख्या ११ लाख ५ हजार ८ सय ५८ रहेकोमा सन् २०२१ मा यो संख्या ६१ प्रतिशतले बढेर १७ लाख ७९ हजार ५ सय ३९ पुगेको समेत उल्लेख गरेका छ।

प्रकाशित: १५ जेष्ठ २०७९ ०७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App