२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

मध्यमस्तरका होटललाई परीक्षार्थीको राहत

पोखरा फेवातालमा शनिबार बिहान डुंगा सयर गर्नेको भीड । भीड बडेर ढुंगा चढ्न पालो कुनुपर्ने अवस्था थियो। तस्बिरः नागरिक

लोकसेवा आयोगको गण्डकी प्रदेश कार्यालयले स्वास्थ्य सेवा अन्तर्गत शनिबार चौथो तहको परीक्षा लिएको थियो। प्रदेश कार्यालयले पहिलोपटक लिएको यो परीक्षामा सहभागि हुन करिब २० हजार परीक्षार्थी पोखरा आएका थिए। आयोगका अनुसार परीक्षामा ७७ जिल्लाकै विद्यार्थी सहभागि छन्।  

१५ दिनको अवधिमा आयोगले लिएको विभिन्न परीक्षामा सहभागि हुन १ लाख ५ हजार विद्यार्थी पोखरा आएका छन्। परीक्षार्थीसँगै उनीहरुका अभिभावक र परिवारका अन्य सदस्य पनि पोखरा आएका छन्। त्यो आधारमा पोखरा आउनेको संख्या झन्डै डेढलाख छ। पोखरा आएका ती विद्यार्थी कम्तिमा एकरात यहाँका होटलमा बास बसेका छन्।  

आगामि महिना पनि झन्डै ६० हजार परीक्षार्थी परीक्षामा सहभागि हुन पोखरा आउँदैछन। लोकसेवा आयोगको परीक्षामा सहभागि हुन आएका परीक्षार्थीका कारण यहाँका होटलमा पाहुना छन्। मध्यमस्तरका धेरै होटल अहिले परीक्षार्थीका कारण खचाखच छन। पोखरा क्षेत्रका ९३ वटा केन्द्रबाट ती विद्यार्थीले शनिबार परीक्षा दिएका थिए।

कम्तिमा एकरात पोखराका होटलमा बास बसेको र खानपिन गरेको हिसाबले १५ दिनको अवधिमा एकलाख बढी परीक्षार्थीका कारण पोखराको पर्यटन क्षेत्र चलायमान बनेको यहाँका व्यावसायी बताउँछन। परीक्षा, विद्यालयको शैक्षिक भ्रमण, विभिन्न समुहको अध्ययन भ्रमण, गोष्ठि, भेला, सभा, सम्मेलनले यहाँका पर्यटन व्यावसायीलाई राहत दिएको छ। शैक्षिक संस्थाका विद्यार्थी, आमा समुह, परीक्षार्थी आउँदा यहाँ मध्यमस्तरका होटलले बढी लाभ पाउने गरेको पर्यटन व्यवसायी बताउँछन्।

‘ठुला होटलले खर्चिला पाहुना पाउँदा मध्यमस्तरका होटलले अहिले घुमघामका समुह र परीक्षार्थीका कारण राहत पाएका छन,’ पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी भन्छन, ‘कोरोनाको मार खेपेको पर्यटन क्षेत्रमा अहिले परीक्षार्थी, समुहगत भ्रमण र विद्यार्थीको घुमघामले साथ दिएको छ।’ 

कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्रमा झन्डै दुइवर्षदेखि विदेशी पाहुना देख्न नपाएका पर्यटन व्यवसायीका लागि पछिल्लो समय आन्तरिक पर्यटकले राहत दिएको प्रमाणको रुपमा विद्यार्थी र परीक्षार्थीको घुमघामले पुष्टि गर्ने सुवेदी बताउँछन। ठुला आकारका होटलमा आन्तरिककै पनि खर्चिला पाहुना आउने र साना तथा मध्यममा समुहगत रुपमा आउने विद्यार्थी हुने गरेको उनले सुनाए।  

‘हामी व्यावसायीले तत्कालै विदेशी पाहुना पाउँदैनौ । यो अवस्थामा आन्तरिक पाहुनाकै भरमा थेगिने हो। यस्तै आकारमा आन्तरिक पाहुना आउने हो भने हामीलाई पनि लाभ मिल्छ,’ उनले भने। उनका अनुसार पर्यटकीय क्षेत्र लेकसाइड सहित पृथ्वीचोक क्षेत्रका सबैजसो होटल अहिले पाहुनाले भरिएका छन्। पर्यटन क्षेत्र चलायमान हुन परीक्षा पनि सहयोगी हुने उनले बताए। विद्यार्थी, आमा समुह, परीक्षार्थीको यस्तो आगमनबाट साना आकारका व्यावसायीलाई राहत पुग्ने उनले बताए। ‘गोष्ठि, सभा सम्मेलनमा बरु अलि खर्चिला पाहुना आउँछन। तर, घुमघाममा आउने र परीक्षार्थीहरु सस्तो सेवा खोज्छन। त्यसको लाभ साना आकारका होटललाई हुन्छ,’ उनले भने।  

प्रदेश लोकसेवा आयोगका प्रवक्ता कृष्णप्रसाद आचार्यका अनुसार पोखरा आएका ती विद्यार्थी कम्तिमा एकरात यहाँका होटलमा बसेका छन्। परीक्षार्थीसँगै कतिपयका त अभिभावक पनि छन। केहीले काखे बच्चा लिएर परीक्षा दिन आउँदा सहयोगी सदस्य पनि आएका छन्। ‘शनिबार बिहान ८ बजे सुरु भएको परीक्षामा सहभागि हुन अघिल्लै दिन विद्यार्थी आएका छन्। कम्तिमा एकरात उनीहरु बास बसेका छन्। यहाँका होटलमा भीडभाड छ। शनिबार बिहान बस र ट्याक्सीमा यात्रु खचाखच थिए,’ उनले भने, ‘दिउँसो फेवातालमा डुंगा सयर गर्न जानेको उत्तिकै भीडभाड थियो। यसले पर्यटनमा कुनै न कुनै रुपमा राहत दिएको छ।’

लेकसाइडका होटलमा पनि यिनै परीक्षार्थी पाहुना छन्। होटल एशियाका संचालक धर्मराज पन्थीका अनुसार लोकसेवाको परीक्षा दिन आएका परीक्षार्थी अहिले होटलमा बसेका छन्। ‘यो बेला विदेशी पाहुना आश गर्ने कुरा रहेन। आन्तरिक पाहुनाकै भरममा चल्ने हो,’ पन्थी भन्छन, ‘परीक्षार्थी पनि हाम्रा पाहुना हुन्।’ उनले पनि परीक्षा, सभासम्मेलन, घुममघामका कारण पर्यटन क्षेत्रले राहत पाएको बताए। कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको आगमन बढाउन कुनै न कुनै गतिविधि आवश्यक पर्ने उनले बताए। ‘पोखरामा पाहुना तान्ने एउटा निहुँ अब परीक्षा पनि बनेको छ, यसअघि यति धेरै आकारमा परीक्षार्थी पोखरा आएका थिएनन,’ उनले भने।  

परीक्षार्थीका कारण पर्यटन क्षेत्रमा राहत पुगेकोमा दुईमत नै नरहेको रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका अध्यक्ष लक्ष्मण बराल बताउँछन। ‘अहिले लेकसाइडका मध्यमस्तरका रेस्टुरेन्टमा आन्तरिक पाहुनाको भीडभाड छ। विदेशी पाहुना लक्षित होटल र रेस्टुरेन्टले त खासै पाहुना पाएका छैनन। तर, मध्यमस्तरका रेस्टरेन्टमा अहिले पाहुना छन,’ उनले भने, ‘आन्तरिक पाहुनाकै कारण यतिबेला लेकसाइड चम्किन पाएको छ।’

प्रकाशित: २५ मंसिर २०७८ १०:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App