४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको व्यापार मेला सुरु

पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला २०७८ सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार भुर्चअल माध्यमबाट उक्त मेलाको उद्घाटन गरेका हुन्।  

सातै प्रदेशमा उत्पादन भएका वस्तु, कृषि उत्पादन एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात प्रवर्द्धन गर्न महिला उद्यमी महासंघ नेपालले मेला आयोजना गरेको हो। मेला उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीका कारण शिथिल बनेको अर्थतन्त्रलाई उकास्न उद्यमशीलता र आर्थिक विकासको आवश्यकता रहेको बताए।

‘कोभिड–१९ का कारण उत्पादित सामग्री बजारसम्म पुग्न नसकेको अवस्थामा यस्ता प्रकारका प्रयासले नेपाली उत्पादनलाई विश्व बजारमा सहभागिता जनाउन सहयोग पुग्नेछ,’ देउवाले भने, ‘सरकार र निजी क्षेत्रको सहकार्यबाट देशले छिट्टै आर्थिक विकासतर्फ गति लिनेछ। महिला उद्यमीले उत्पादन गरेका मौलिक वस्तुले मुलुकको समग्र विकासमा टेवा पुग्नेछ।’  

महामारीले उत्पादित वस्तुको बजारीकरणमा समस्या देखिएकाले सम्पूर्ण नागरिकलाई सरकारले कोरोना खोपको सुनिश्चितता गरिरहेकाले चाँडै समस्या समाधान हुने उनको भनाइ छ। समारोहमा बोल्दै महासंघकी अध्यक्ष रिता सिंहले महिला आर्थिक तथा सामाजिक सशक्तीकरण र रूपान्तरणका निम्ति पैरवी, वकालत, सञ्जाल विस्तार, सूचना प्रवाह, क्षमता अभिवृद्धि र बजारीकरणमा मेलाले टेवा पुर्‍याउने बताइन्।

‘महिला उद्यमीका आवश्यकता र चुनौतीबीच सामना गरिरहेको बजार पहुँचको कठिनाइलाई समेत यस मेलामार्फत उद्यमशीलता विकासको क्षेत्रमा नयाँ फड्को मार्नेछ,’ उनले भनिन्, ‘महिला उद्यमीले सञ्चालन गरेका व्यवसाय विश्वव्यापी रूपमा बढ्दै गएको परिवेशमा नेपाली महिला उद्यमीहरूले उद्यम व्यवसाय मार्फत घरायसी आम्दानी तथा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउन सक्ने समताको विकासमा मेला सत्य साबित हुनेछ।’ महिला उद्यमीको साझा थलोको रूपमा प्रयोग गर्दै मेला आधुनिक प्लेटफर्मको रूपमा समेत विकास भएको उनको धारणा छ। ‘अहिलेको परिस्थितिमा आम नागरिकको दैनिकी डिजिटल बजारतर्फ आकर्षित भइरहेकोले मेला आयोजना गर्न लागिएको र मेलाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा देशका विभिन्न स्थानबाट उत्पादन भएका वस्तुको बजारीकरणमा बल पुग्नेछ,’ उनले भनिन्।

त्यस्तै, महासंघकी द्वितीय उपाध्यक्ष शोभा ज्ञवालीले महिला उद्यमीको हौसला बढाउन र अन्तर्राष्ट्रिय बजारमा देशभर उत्पादन भएका वस्तुको व्यवसायलाई बढावा दिन भर्चुअल माध्यमबाट वस्तु तथा सेवाको प्रदर्शनी, प्रवर्द्धन, बजारीकरण र बिक्रीका लागि साझा स्थल सिर्जना भएको बताइन्। यसअघि चारपटक भौतिक रूपमा मेला आयोजनाबाट महिला उद्यमीको मनोबल बढेको बताउँदै उनले महिला उद्यमशीलतामार्फत राष्ट्रको आर्थिक विकास, गरिबी निवारण, सामाजिक तथा आर्थिक सवालका सबै क्षेत्रमा महिला सहभागिता र सशक्तीकरणमा समेत जोड पुगेको बताएकी छन्।

‘महासंघले स्थापनाकालदेखि नै महिलाको क्षमता विस्तार र आर्थिक सशक्तीकरणमा जोड दिँदै आएको हो। व्यवसायीदेखि उपभोक्तासम्मको सम्पर्क तथा समन्वयको लागि अघिल्ला वर्षमा भौतिक रूपमै अन्तर्राष्ट्रिय स्तरको मेला आयोजना हुँदै आए पनि अहिलेको भर्चुअल मेलाले महिला उद्यमीलाई अझ अनलाइन बजारीकरणतर्फ समेत प्रोत्साहन गर्न पुगेको छ,’ उनले भनिन्।

भर्चुअल माध्यमले महिला उद्यमीका उत्पादन बिक्रीका लागि पर्याप्त अवसर प्रदान गर्नुका साथै सञ्जाल निर्माण तथा सीप तथा ज्ञानको आदानप्रदानमा समेत जोड दिन मदत पुगेको उनको भनाइ छ। नयाँ उत्पादन, सेवा तथा प्रविधिलाई जोडेर प्रभावकारी प्लेटफर्म सिर्जना गर्दै सरोकारवाला तथा महिला उद्यमीबीच सम्बन्ध स्थापना र सञ्जाल निमार्णमा समेत प्रोत्साहन पुगेको उनले बताइन्।

वुमेन इन बिजनेस ई–पोर्टलको माध्यमबाट प्रदर्शित महिला उद्यमीका उत्पादनको बजारीकरणलाई निरन्तरता दिन, व्यवसायमा रहेका चुनौती र घाटासहितका समस्या समाधानको लागि मेला फलदायी हुने उनको विश्वास छ।

त्यस्तै, महासंघकी प्रथम उपाध्यक्ष रितु रायमाझीले महामारीले सिकाएको पाठको रूपमा अनलाइन मार्केटिङमा जोड दिनुपर्ने समय आएको बताइन्। डिजिटल मार्केटिङमार्फत महिला उद्यमीद्वारा उत्पादित वस्तुलाई आन्तरिक बजार विस्तार र निर्यात प्रवद्र्धन गर्न सहयोग पुगेको उनको भनाइ छ। मेला आयोजनामा अन्तर्राष्ट्रिय श्रम संगठन, एफसिए, द एसिया फाउन्डेसन, अन्तर्राष्ट्रिय श्रम संगठन, युकेएड, भिजा फाउन्डेसन, वोमेन्स बैंक आदि संस्थाहरूले सहयोग गरेका छन् यस मेलामा डल्फा सोलुसन्सको प्राविधिक सहयोग रहेको छ भने मेलालाई नेसनल लाइफ इन्सुरेन्स, ज्योति विकास बैंक, सानिमा बैंक, नेपाल कलेज अफ ट्राभल एन्ड टुरिजम म्यानेजमेन्ट, श्रीनगर एग्रो, ग्लोबल आइएमई बैंक, लक्ष्मी इन्टरकन्टिनेन्टल, सिटिजन बैंक, निम्बस, पशुपति खाद्य उद्योग र नेपालका लागि बंगलादेशी राजदूतावासले प्रायोजन गरेका छन्।  

पाँच दिनसम्म चल्ने मेलामा हस्तकलाका सामान, स्वदेश तथा विदेशका प्राकृतिक रेशाजन्य वस्तु, ढाका तथा घरबुनाका सामान, हाते कागजका वस्तु, काष्ठजन्य वस्तु, जैविक खाद्यपदार्थ, गरगहना, सजावटका सामान, विभिन्न सेवाप्रदायक संस्थाका स्टल छन्। मेलामा ८० स्टल छन्। तीमध्ये ५७ महिला उद्यमीका स्टल र ३० जिल्ला महिला उद्यमी संघहरूको प्रतिनिधित्व गर्ने स्टल छन्। सधै झैं दुईवटा स्टल अग्निपीडित र सामाजिक रूपले सीमान्तकृत महिला उद्यमीलाई सीप प्रदान गर्ने संस्थालाई प्रायोजन गरिएको छ। एक्सपो डट विनबिज डटकम डट एनपीमा गएर मेला अवलोकन गर्न सकिनेछ।

प्रकाशित: १७ भाद्र २०७८ ०१:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App