१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गुम्दालाई ‘गुफा गाउँ’ का रुपमा चिनाइने

धार्चे गाउँपालिका–५ मा रहेको सातकन्या गुफामा गुफाविद्हरू दविन्द्र तामाङ र भक्त विश्वकर्मा। तस्बिर : नागरिक

गोरखाको धार्चे गाउँपालिका–५ गुम्दामा आधा दर्जन भन्दा बढी गुफा भएकाले यसलाई ‘गुफा गाउँ’का रुपमा चिनाइने भएको छ। गुम्दामा सातकन्या, किस्पा, तरङपाखा, मानकाङ, उराटु, कोकारनाङ र भोटेलामा लगायत गुफा छन्।  

स्थानीय वडाध्यक्ष तुलबहादुर गुरुङकाअनुसार गाउँपालिकाले धार्चे मनास्लु पर्यटन विकास समितिको अगुवाईमा भर्खरै सातकन्या र भोटेलामा गुफाको अध्ययन पुरा गरेको छ। अध्ययनका लागि काठमाडौंबाट आएका गुफाविद्ले यि गुफामा प्रशस्तै पर्यटकीय सम्भावना रहेको औंल्याएका छन्।  

‘हाम्रा गुफालाई पर्यटन प्रोडक्टका रुपमा स्थापित गर्न सकिने देखियो’, समितिका अध्यक्ष साने गुरुङले भने, ‘त्यसैले आबश्यक पूर्वाधार विकास गरेर प्रचारप्रसारमा जोड दिन्छौं।’  

गुफाविद्हरू दविन्द्र तामाङ, भक्त विश्वकर्मा र सुरेन्द्र रानाको समूहले गुफा अध्ययन गरेको हो। सातकन्या गुफा १८ सय मिटर उचाइमा छ भने भोटेलामा गुफा १८ सय ५० मिटरमा।  

तामाङकाअनुसार सातकन्या गुफामा ३० मिटर लामो ठूलो कोठा पनि छ। करिब १५ मिटर अग्लो रहेको कोठा कतै ५ मिटर, कतै ३ मिटर र कतै ४ मिटर चौंडा रहेको उनले बताए। गुफामा ओर्लने बेला कि त डोरीको सहारा लिनुपर्छ कि भ¥याङ राख्नुपर्छ।  

त्यसैगरि भोटेलामा गुफा पनि आकर्षक छ। ३० मिटर लामो यस गुफाका दुईटा प्रवेशद्वार छन्। गुफामा २५ मिटर लामो एउटा कोठा पनि छ जसको चौंडाई जसको चौंडाई कतै २ मिटर, कतै ३ मिटर र कतै ४ मिटर रहेको तामाङले जानकारी गराए।  

गुफा संरक्षणका लागि पहल गरिनु पर्नेमा गुफाविद्ले जोड दिएका छन्। ‘मनसुनको पानीको भल पसेर सातकन्या गुफालाई असर पु¥याएको छ’, तामाङले भने, ‘त्यसैले यसमा पानी नपस्ने वातावरण मिलाउनुपर्छ।’

‘प्रकृति र संस्कृतिको खुल्ला संग्रहालय–धार्चे’ भन्ने मुल नारासहित धार्चे गाउँपालिका अघि बढिरहेको गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङ (सन्तोष) बताउँछन्। त्यसैले गुफा पर्यटनको पूर्वाधार विकासमा सक्दो काम गर्ने उनले प्रतिबद्धता जनाएका छन्।

प्रकाशित: ४ वैशाख २०७८ ११:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App