१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कोसी करिडोरले क्षतिपूर्ति नदिएको गुनासो

कोसी करिडोरले क्षतिपूर्ति नदिएको भन्दै धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कटहरेका बाबुराम राईले गुनासो गरेका छन्। घरनजिकैबाट करिडोरले जबर्जस्ती विद्युत्को पोल गाडेर तार टाँगेपछि उठीबास हुन लागेको उनले बताए। घरनजिक पोल नगाड्न पटकपटक अनुरोध गर्दा पनि प्रशासनले सशस्त्र र नेपाल प्रहरी राखेर सो काम गरेको आरोप उनले लगाए। परियोजना प्रमुख, इन्जिनियर र जिल्ला प्रशासन धनकुटामा निवेदन दिँदा पनि सुनुवाइ नभएको उनले बताए। ५०÷६० वर्षदेखि उनको परिवार त्यहाँ बस्दै आएको छ। विद्युत्को पोल गाडेको ठाउँ र घरको दूरी ५ मिटर पनि छैन। बाबुरामसँग भएको जम्मा पाँच रोपनी जग्गा त्यही घर वरपर छ।  

सुरुमा उनले करिडोरलाई घरछेउमा पोल नराख्ने सर्तमा १४ आना जग्गा थिए। अहिले बलमिच्याइँ गरेर पाँच मिटरको दूरीमा पोल गाडेपछि समस्या उत्पन्न भएको बाबुरामको भनाइ छ। उनले जग्गाको २ लाख ६५ हजार रूपैयाँ मुआब्जा त लिएका छन् तर सर्तविपरीत पोल गाडेर उठीबास हुने स्थितिले चाहिँ पीडित बनेका छन्। बाबुरामका छोरा रमन राईले आफू वैदेशिक रोजगारीमा भएका बेला सोझा आमाबाबुलाई कोसी करिडोरले फसाएको आरोप लगाए। विदेशबाट फर्केपछि पटकपटक सिडिओ कार्यालय र परियोजनाका आधिकारिक मान्छेसँग कुरा राख्दा पनि सुनुवाइ नगरी प्रहरी लगाएर दबाब दिएर काम गरेको रमनको गुनासो छ। अघिल्ला सिडिओ केशवप्रसाद विमलीले घरमाथिबाट हाइटेन्सनको तार परेकाले बाबुरामको परिवारलाई व्यावस्थापन गरेर मात्र काम गर्न भन्दै परियोजनाको काम रोकेका थिए। तर उनीपछि धनकुटा आएका प्रजिअ वासुदेव दाहालले भने जबर्जस्ती प्रहरी लगाएर रातरात काम गरेको राई परिवारको गुनासो छ। त्यसबारे प्रजिअ दाहालले भने, ‘राष्ट्रिय गौरवको आयोजनामा स्थानीयले अवरोध गर्दा तोकिएको समयमा काम सक्न बाधा परेको जानकारी आएपछि प्रहरी पठाइएको हो। प्रहरीले उनीहरूलाई केही गरेको छैन।’ धनकुटाका आयोजना प्रभावितलाई सिफारिस भएअनुरूप क्षतिपूर्तिको निर्णय भइसकेको उनले बताए।

परियोजना प्रमुख सोम पौडेलले भने आफूहरूलाई करिडोर कार्यालयको सर्वेक्षकले दिएको रिपोर्टअनुसार बाबुरामको घरलाई क्षतिपूर्ति दिनुनपर्ने देखिएको दाबी गरे। बाबुरामको घर पोल गाडिएको मध्य भागदेखि १६ मिटर दूरीमा पर्ने दाबी उनले गरे। १५ मिटर दूरीमा परे क्षतिपूर्ति मात्र पाइने परियोजनाका इन्जिनियर शत्रुधन यादवले दाबी गरे। आधिकारिक सर्वेक्षकमार्फत नापेर १५ मिटर भित्र पर्नेगरी प्रमाण पु¥याए घरको क्षतिपूर्ति दिन सकिने उनीहरूको भनाइ छ।  

प्रकाशित: २ चैत्र २०७७ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App